२० भदौ, काठमाडौं । नेपालमा स्थापना भएका सुरक्षा व्यवसायीहरुको छाता संगठन सुरक्षा व्यवसायी संगठन, नेपालमा उद्धवराज राज डल्लाकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
संगठनको हालै सम्पन्न १० औं बार्षिक साधारणसभाले डल्लाकोटीलाई अध्यक्षमा निर्वाचित गरेको हो । सो सभाले संगठनको बरिष्ठ उपाध्यक्षमा सवलचन्द्र शाह, उपाध्यक्षहरुमा तिर्थराज पराजुली र लोकबहादुर गुरुङ, महासचिवमा खेमराज भण्डारी, सचिवमा उद्धव शर्मा, सहसचिवमा भोजकुमार श्रेष्ठ, कोषाध्यक्षमा प्रमोद आचार्य र सह—कोषाध्यक्षमा विजयकुमार तामाङलाई निर्वाचित गरेको छ ।
त्यसैगरी सदस्यहरुमा लोक बहादुर खत्री, अर्जुन कुमार के.सी., अम्बिका प्रसाद ढकाल, विजय श्रेष्ठ, पदमबहादुर खत्री, गिरीराज कटुवाल, अनिता घिमिरे, विनोद दाहाल, हरिवंश चौलागाई, लक्ष्मी पन्थ, सूर्य बहादुर बस्नेत, दिनेश बहादुर प्रधान, जयराज पराजुली, नारायण प्रसाद श्रेष्ठ र ज्ञानु गुरुङलाई चयन गरेको छ ।

देशभरवाट १५० भन्दा बढी व्यवसायीहरुको सहभागितामा सम्पन्न सो सभाको प्रमुख अतिथिको रुपमा गृहमन्त्री जनार्दन शर्मालाई आमन्त्रण गरिएको थियो । तर, गृहमन्त्री उपत्यका वाहिर जानुपर्ने भएकाले उहाँ उपस्थित भने हुन सक्नुभएन । उहाँले सो सभालाई सफलताको शुभकामना सन्देशलाई लिखितरुपमा पठाउनु भएको थियो । सभामा उक्त सन्देश पढेर सुनाइएको थियो । त्यसपछि सभाको प्रमुख आतिथ्यता मध्यामाञ्चल क्षेत्रीय कार्यालयका प्रशासक रेश्मीराज पाण्डेले गर्नुभएको थियो ।
सभाको प्रमुख आतिथ्यताको आसनबाट बोल्दै मध्यामाञ्चल क्षेत्रीय प्रशासक पाण्डेले सफलताको शुभकामना दिनुभएको थियो । सभामा शुभकामना मन्तव्य दिंदै उहाँले समावेशी सहितको रोजगारी सिर्जना गर्ने व्यवसायीको महत्व आगामी दिनमा अझ बढ्ने वताउनुभयो । सो अवसरमा उहाँले महिला, दलित, आदीवासी जनजाति, मुस्लिम, पिछडावर्ग आदीलाई समेत समेटेर रोजगारी उपलब्ध गराउन व्यवसायीलाई आग्रह गर्नुभयो । यो व्यवसायको प्रबद्र्धन र संरक्षणमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि सो अवसरमा व्यक्त गर्नुभयो ।

त्यसैगरी अतिथि प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) जयबहादुर चन्दले नेपालको परिवेशमा सुरक्षा क्षेत्रवाट अवकास पाएपछि आफ्नो भविष्यमा काम गर्ने थलोको रुपमा यो व्यवसाय रहँदै आएको बताउनुभयो । साथै उहाँले सुरक्षा व्यवसायले देशमा संगठित संस्थामार्फत रोजगार सिर्जना गर्न सफल भएकोमा व्यवसायीहरुको प्रशंसा पनि गर्नु भएको थियो । सुरक्षा व्यवसायीहरु मार्फत प्रदान गरिने सुरक्षा गार्डहरुले ज्यान, धन र पूर्वाधारको संरक्षण गरिरहेको बताउँदै उहाँले नेपाल सरकारको सुरक्षा निकायलाई थप सहयोग र टेवा पुगिरहेकोमा खुलेर प्रशंसा गर्नुभयो । सो अवसरमा उहाँले आफ्नो जिम्मेवारीलाई सफल र प्रभावकारी ढंगको भूमिकामा रहन पनि उहाँले आग्रह गर्नुभयो । सभामा अन्य अतिथिहरुले पनि सभाको सफलताको शुभकामना दिनुका साथै नयाँ कार्यसमितिलाई बधाई दिएका थिए ।
देशभरका व्यवसायीहरुको यो छाता संगठनको सो कार्यक्रममा देशभरवाट उल्लेख्य सुरक्षा व्यवसायीहरुको उपस्थिति रहेको थियो । हाल देशमा हजारको हाराहारीमा सुरक्षा व्यवसायीहरु रहेता केही निष्क्रिय रहेका छन् । सक्रिय व्यवसायीहरुले देशमा एक लाखको भन्दा बढीलाई रोजगारी दिइरहेको अनुमान छ ।
नेपालमा केही धनाढ्यहरुले व्यक्तिगतरुपमा समेत सुरक्षा गार्ड राख्ने प्रचलन रहेको पाइन्छ । यसरी राखिएको तथ्यांकको आकार पनि निक्कै ठूलो रहेको छ । त्यसरी राख्दा राजश्व छलि हुनुका साथै सुरक्षा गार्डहरु आफैं पनि असुरक्षित रहँदा रहँदै पनि सेवा दिइरहेका छन् । नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गतको निकायवाट अनुमति लिएर मात्र चलाउनु पर्ने यो व्यवसाय गैरसंस्थागत रुपमा चलेको पाइन्छ ।

नियमन गर्ने निकायले ध्यान नदिंदा यसको सही तरिकाले सदुपयोग हुन सकेको छैन । अहिले गैरसंस्थागत रुपमा राखिने सुरक्षा गार्डले युनिफर्म, लाठी खुकुरी जस्ता घरेलु हातहतियार सहित खटिइरहेको पाइन्छ । यसलाई व्यवसायीहरुले गैरकानुनी भन्दै आएका छन् । यस्ता हतियार बोक्ने अधिकार सरकारको आधिकारिक निकाय गृहमन्त्रालय निकायका कार्यलयहरुले मात्र अनुमति दिने, नियमन तथा अनुगमन गर्ने गर्दछन् । तर, नेपालका केही धनाढ्यहरुले भने सिधै सुरक्षा गार्डहरु राखेर सरकारी नियमलाई उलंघन गरिरहेका छन् । त्यस्ता सुरक्षा गार्डहरुलाई पनि नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भई राजश्व तिर्दै आएका सुरक्षा व्यवसायीहरु मार्फत मात्र राख्न व्यवसायीहरुले जोड दिंदै आएका छन् । यसो गर्दा राज्यलाई थप आर्थिक लाभ हुने पनि व्यवसायीहरुको भनाई छ ।
मलेसिया, युएई लगायतका खाडी मुलुकहरुमा लागू भएको प्राइभेट सुरक्षा ऐनका कारण त्यहाँ व्यक्तिगत सुरक्षा गार्ड राख्न पाइदैन । तर नेपालमा भने प्राइभेट सुरक्षा ऐन भने संसदमा विचराधिन अवस्थामा रहेको छ । जसका कारणले समग्रमा यो व्यवसाय गर्ने र गराउने दुबै पक्ष पिडित भएका छन् ।
यो व्यवसायसँग सम्बन्धित नेपाल सरकारको सार्वजानिक खरिद ऐन, आर्थिक ऐन र श्रम ऐन एकआपसमा वाझिएको हुनाले व्यवसायीहरुले अस्वस्थ प्रतिस्पर्धा गर्दै आइरहेका छन् ।