५ भदौ, ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरामा थुप्रिएका १६ टन सिक्का साटिने भएको छ ।
झापा दमकस्थित कन्काई विकास बैंकले उक्त सिक्का साट्ने भएको हो । फुङलिङबाट आइतबार ट्रकमा राखेर त्यता पठाइएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिले जनाएको छ ।
पाथीभराबाट भालुगौंडेसम्म बोकेर र त्यहाँबाट साना सवारी साधनबाट फुङलिङको हेलिप्याडमा ल्याएर गोदाम गरिएको थियो । पाथीभरा ३ हजार ७ सय ९४ मिटर उचाइमा पर्ने भएकाले सामान ओसारपसारका लागि सहज छैन । ढुवानी तथा लोड गर्न नेपाली सेनाको नयाँ रणभीम गुल्मले जनशक्ति उपलब्ध गराएको समितिले जनाएको छ । सबै सिक्का भक्तजनले चढाएका हुन् ।
मन्दिरका कर्मचारीले प्रत्येक दिन उठाएर गोदाममा राख्ने गरेका थिए । समितिका सहसचिव लक्ष्मी काफ्लेका अनुसार दसैं र चैते दसैंका बेलामा दैनिक १४ पाथीसम्म सिक्का जम्मा हुन्छ । लामो समयसम्म सदरमुकाम नल्याउँदा र बैंकले एकैपटक साट्न नमान्दा सिक्का सटहीमा समस्या भएको थियो ।
एक पाथीमा २२ किलो हुन्छ । दर्शनार्थीको भीड हुने बेलामा दैनिक दुई क्विन्टलभन्दा बढी सिक्का जम्मा हुने कर्मचारी राजेन्द्र महत बताउँछन् । मौसम राम्रो हुँदा रामनवमी पर्वको समय फागुनदेखि वैशाख र दसैंको बेला असोजदेखि कात्तिकभर धेरै भीड लाग्छ । अधिकांश तीर्थयात्रीले सिक्का लिएर जाने र भालुगौंडेदेखि नै चढाउने गर्छन् ।
पछिल्ला वर्ष बोका पाठापाठी नलैजाने र पाथी पैसा लगेर चढाउनेको संख्या बढेको छ । पाथीभरामा पाथीले भरेर चढाए मनको इच्छा पूरा हुने विश्वासले तीर्थयात्रीहरूले सिक्का चढाउन थालेका हुन् । मन्दीरका पुजारी डिल्ली आचार्य हिजोआज माना र पाथीले भरेर चढाउने प्रचलन बढेको बताउँछन् ।
समिति र बैंकबीच छलफल भई धुने, टल्काउने र सफा सिक्का तौलको आधारमा हिसाब गर्ने सहमति भएको छ । एक रुपैयाँ सिक्काको तौल चार र दुई रुपैँयाको पाँच ग्राम हुन्छ । टल्कने ४ किलो सिक्काको एक हजार रुपैयाँ हुन्छ । गनिरहन झन्झट हुने भएकाले यसरी नै हिसाब निकाल्ने बैंकले जनाएको छ । जसअनुसार १६ टनको ४० लाख रुपैयाँ हुन्छ । आजको कान्तिपुर दैनिकबाट