एजेन्सी । अस्ट्रेलियाली संसद् सिनेटमा बिहीबार दक्षिणपन्थी नेतृ पालिन ह्यान्सन जब प्रवेश गरिन्, त्यहाँ उपस्थित सम्पूर्ण नेता अचम्ममा परे । ह्यान्सन सिनेटमा बुर्का लगाएर पुगेकी थिइन् । यथार्थमा ह्यान्सन अस्ट्रेलियामा बुर्कामाथि प्रतिबन्ध लगाउनुपर्ने आफ्नो पार्टीको मागमा ध्यानाकर्षण गराउन बुर्का लगाएर सिनेटमा पुगेकी थिइन् ।
सिनेटमा विपक्षी पार्टीका नेताले उभिएर ह्यान्सनलाई ससम्मान अभिवादन गरे भने मन्त्री जर्ज ब्रान्डिसले ह्यान्सनको यस स्टन्टको आलोचना गरे । उनले धार्मिक समूहविरुद्ध कुनै पनि प्रकारको ‘अपराध’ नगर्न चेतावनी पनि दिए ।
आफ्नो भावनात्मक भाषणमा ब्रान्डिसले भने— ह्यान्सनले यसरी बुर्का लगाएर सिनेटमा आउनुले इस्लाममा विश्वास राख्ने लगभग ५ लाख अस्ट्रेलियालीमा अलगाववादी सोच पैदा हुने खतरा छ ।
धार्मिक पोसाकको मजाक उडाउनु भयावह
मन्त्री ब्रान्डिसले ह्यान्सनलाई प्रश्न गर्दै भने— यसरी इस्लाम समुदायको उपहास गर्नु र उनीहरूको धार्मिक पोसाकलाई हाँसोमा उडाउनु एक भयावह विषय हो । र, म तपाईंसित प्रश्न गर्छु कि तपाईंले यो के गर्नुभएको हो ?
साथसाथै उनले यो पनि प्रस्ट गरिदिए कि उनी बुर्कामाथि प्रतिबन्ध लगाउनुपर्छ भन्ने भनाइलाई समर्थन गर्न सक्दैनन् । उनले सिनेटर ह्यान्सनलाई सम्बोधन गर्दै भने— सिनेटर ह्यान्सन, हामी कुनै हालतमा बुर्कामाथि प्रतिबन्ध लगाउँदैनौँ ।
सदनमा स्वाँस्वाँ गर्दै पुगिन् ह्यान्सन
अस्ट्रलियाली ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार सदनमा प्रवेश गर्ने क्रममा ह्यान्सन स्वाँस्वाँ गर्दै हतारिँदै पुगेकी थिइन् । सो अवसरमा एक सिनेटरले चकित हुँदै भने— ओहो ! यो के हुँदै छ ? सिनेट प्रमुख स्टेफल पेरीले स्पट गरेका छन् कि चेम्बरमा प्रवेश गर्नुअघि नै ह्यान्सनको पहिचान गरिएको थियो । ह्यान्सनले पछि बुर्का हटाएकी थिइन् । अस्ट्रेलियामा बुर्कामाथि प्रतिबन्ध लगाउने उनी र उनको पार्टीको मागमाथि सिनेटमा पछि बहस हुनेछ । ह्यान्सनले एक बयानमा भनेकी छिन्— जनताबीच आफ्नो अनुहार पूरै ढाक्नु आधुनिक अस्ट्रेलियाको एक महत्वपूर्ण मुद्दा हो ।
लेबर र ग्रिन पार्टीले गरे ब्रान्डिसलाई समर्थन
अर्कातर्फ ब्रान्डिसको भाषणलाई लेबर र ग्रिन पार्टीले समर्थन गरेका छन् । उनीहरूका सिनेटरले उनको भाषणपछि उभिएर उनलाई बधाई दिएका थिए । लेबर पार्टीका सिनेटर पेनी बोंगले भने— पोसाकलाई धार्मिक विश्वासका रूपमा लगाउनु एउटा विषय हो भने यस कोठामा एक स्टन्टका रूपमा पहिरिनु अर्कै विषय हो । ग्रिन पार्टीका नेता रिचर्ड डी नटाले भने कि ब्रान्डिसले अत्यन्त प्रभावशाली, भावनात्मक र व्यक्तिगत प्रतिक्रिया दिएका छन् ।
ह्यान्सन र विवादको नाता
१९९६ मा पहिलोपटक सिनेटका लागि चुनिएपछि ह्यान्सन कैयौँपटक विवादमा पर्दै आएकी छिन् । उनले ०१६ मा एउटा निकै विवादित भाषणमा भनेकी थिइन् कि अस्ट्रेलिया मुसलमानबाट भरिएको छ । दुई महिनाअघि पनि उनले माफी माग्नुपर्ने माग उठेको थियो, जब उनले अटिज्म भएका छात्रछात्रालाई कक्षाकोठाबाट हटाइदिनुपर्ने सुझाब दिएकी थिइन् । साभार: बिबिसी हिन्दीको समाचार टिप्पणी