१५ साउन, काठमाडौं । आज साउन पन्ध्र अर्थात खिर खाने पर्व, घरघरमा दुग्ध पदार्थबाट तयार गरिएको खिर खाएर यो पर्व मनाईँदै छ।
वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा छ । नेपाली समाज र संस्कृतीमा खिरको ठूलो महत्व रहेको छ ।
पूजाआजा, अर्चना, श्राद्ध, विहे, वर्तबन्ध अनि कुनैपनि हिन्दू रीतितिथी मिल्दो संस्कार सम्पन्न गर्दा खिर एउटा अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय पकवान हो । असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने चलन रहेको छ ।
असार १५ का दिन दही चिउरा खाएर शरीरलाई ऊर्जामय बनाए जसरी साउन १५ मा तात्तातो मसलेदार खीर भोजन गरेर शरीरलाई सन्तुलनमा राख्ने यो पुरानो चलन र नेपाली संस्कार हो । साथै श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँसहरु हुने भएकाले लैनो गाई र भैंसीहरुले प्रशस्त दूध दिने हुँदा दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गती परिन्छ भन्ने धारणा रहेको छ ।
असार १५ मा रोपारलाई बेफुर्सद हुने गरेकामा साउन १५ मा भने खेतमा उम्रिएका झारपात उखेलिसकेर फुर्सदको समय हुन्छ भनिन्छ । यही समयमा खीर खाँदा राम्रो हुन्छ भन्ने पुरानो मान्यता छ ।
असार १५ र साउन १५ लाई दही चिउरा भोजन वा खीर भोजनको वस्तुनिष्ठ आधारमा मात्र नहेरेर स्वास्थका दृष्टिले यामअनुसारको भोजन उपयुक्त छ भनेर बुझ्नु जरुरी रहेको विज्ञहरु बताउछन् ।