२०८३ साउन ९ शनिबार

२७ वर्षपछि फेरी जनैपूर्णिमाको सट्टा जनैपञ्चमी ! पहिले नाग टाँस्ने कि जनै लगाउने ?

ई आर्थिक    सोमबार, साउन ९ २०७४
20.7K
Shares
२७ वर्षपछि फेरी जनैपूर्णिमाको सट्टा जनैपञ्चमी ! पहिले नाग टाँस्ने कि जनै लगाउने ?

९ साउन, काठमाडौं । २७ वर्षपछि आउँदो शुक्रबार नागपञ्चमी र रक्षाबन्धन एकैदिन परेको छ ।

साउन शुक्ल पूर्णिमाको दिन २३ गते चन्द्रग्रहण परेकाले यसवर्ष नागपञ्चमीकै दिन रक्षाबन्धन मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । रक्षाबन्धन गर्ने दिनलाई जनैपूर्णिमा पनि भनिन्छ ।

समितिका अनुसार विक्रम संवत् १९६३, १९८२, २०२८ र २०४७ सालमा पनि साउन शुक्ल पूर्णिमाका दिन ग्रहण परेको हुनाले साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का दिनमा नै उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन गरिएको थियो ।

‘तर पञ्चमीको दिन जनै लगाउनुपर्ने भएपछि यसपाली जनैपूर्णिमा भन्न मिलेन, जनैपञ्चमी भन्नुपर्ने भयो’ नेपाल पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले भन्नुभयो । उहाँका अनुसार पूर्णिमाको दिन हुने उत्सव, मेला लगायतका अरु काज २३ गते नै गर्दा हुन्छ ।

तर रक्षाबन्धन र जनै लगाउने कार्य भने नागपञ्चमकीको दिन गर्नुपर्छ । त्यसो भए नागपञ्चमीको दिन आउँदो १३ गते शुक्रबार पहिले जनै लगाउने कि नाग टाँस्ने त ? ‘पहिले पञ्चमीको कर्म गर्नुपर्छ, बिहान नाग टाँस्ने त्यसपछि रक्षाबन्धन गर्नु उपयुक्त हुन्छ’ ढुंगेलले भन्नुभयो ।

नागपञ्चमी : महत्व र विशेषता
हिन्दु धर्ममा लेखिएअनुसार नाग (सर्प) लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नाग देवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरजीको आभुषण होस् वा भगवान विष्णुजीको शय्या होस्, विभिन्न स्थानमा नागको स्वरुप र आकारप्रकार सचित्र देख्न पाइन्छ ।

पौराणिक कथनअनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो ? भन्ने सम्बन्धमा पनि विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरुलाई आधार मान्दा राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक ( जरत्कारु र मनसादेवी सुपुत्र )ले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिनदेखि नै नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ ।

त्यस्तै भविष्योत्तर पुराणमा पनि शिव पार्वती संवादमा के भनिएको छ भने कुनै समयमा एक जना किसानको घरमा उसको दुइवटा छोरा र एउटी छोरी थिई । एक दिन त्यस किसानले खेतमा खनजोत गर्दा नागको तीनवटा बच्चा मरेकाले नाग देवता रिसाई किसानको घरमा गई किसानसहित उसको परिवारलाई नै डस्यो तर उसको छोरी छिमेकीको घरमा भएकोले बाँची र भोलिपल्ट किसानको छोरीलाई पनि डस्न भनी जाँदा किसानको छोरीले नाग देवताको पूजा गरी दूध चढाई, त्यो देखेपछि नाग देवता प्रसन्न भएर किसानसहित उसको परिवारलाई बचाइदिएकालेयसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको पाइन्छ । यसरी नाग पञ्चमी पर्वको सुरुआत भएको पाइन्छ । यो पर्व हाम्रो हिन्दु संस्कृतिमा विशेष महत्वका साथ मनाउँदै आएको पाइन्छ ।

नागपञ्चमी पूजा र विधि
प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथि नागपञ्चमी हो । यो दिन बिहानै उठी, स्नान गरी नागको चित्रमा वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन । गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दही, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले नागको पूजा गरी, धूप दीप, नैवैद्य सहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँस्नाले कालसर्प आदि गरिएको योग पनि नष्ट हुन्छ ।

प्रार्थना मन्त्र:
“ आस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणि ।
एह्येहि मनसे देवी नागमातर्नमस्तुते ।।
अनन्तो वासुकी पद्मो महापद्मञ्च तक्षकः ।
कुलीरः कर्कट शंखश्चाष्टौ नागाः प्रकीर्तिता ।। “

भावार्थ स् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीक, कर्कोटक,
शंखचूड, यी आठ नागसहित आस्तिक मुनि, नागमाता मनसादेवीलाई नमस्कार गर्दछु ।

जनै र रक्षा बन्धनको महत्व

रक्षा बन्धन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र चाड हो । यो चाड श्रावण शुक्ल पूर्णिमाको दिनमा हिन्दु धर्मावलम्बीहरुले मनाउने गर्दछन् । बिशेषतः ब्रामह्ण क्षेत्री जातिका वर्तवन्ध गरेका अथवा जनै लगाउनेहरू यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । तागाधारी (जनैधारी) हरुले यस दिन बर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गर्दछन् ।

यस दिन नेपालमा ब्रामह्णहरू नुहाई–धुवाई गरेर पूजा पाठ गरि सके पछि पवित्र धागो, जसलाई रक्षा बन्धन भनिन्छ, त्यसलाई बोकेर गाँउ गाँउ गएर सबै जनालाई रक्षा बन्धन बाँधेर टिका लगाईदिने गर्छन । त्यसको बदलामा मान्छेहरूले पुरोहित, ज्वाई, भानिज र बामह्णहरुलाई रूपयाँ पैसा दिने गर्छन ।

रक्षाबन्धन के हो ?
येनबद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी धागो/डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा हिन्दु धमावलम्वीबीच आज पनि त्यत्तिकै प्रचलित छ । समयको परिवर्तनसंगै तागाधारी (जनैधारी) हरुको संख्या घट्दै गएपनि जनैपूर्णिमाको दिन भने मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो) उक्त मन्त्र पढ्दै ब्राम्हणले यजमानको नाडीमा बाँधिए रक्षा हुन्छ भन्ने प्रचलनलाई सबैले स्विकार गरेकै छन् ।

यसैगरी जनैपूणीमाकै दिन देह शुद्ध गरी देवता, सप्तषि तथा पितृको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ‘ऋषितर्पणी’का नामले पनि चिनिन्छ । यस दिन सप्तषिद्र्वारा कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिइन्छ । आजको दिन एघारथरीका गेडागुडी मिर्साई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वषार्का कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ ।

जनैपूर्णिमाको दिन रसुवाको गोसाईंकुण्ड, मणिजूड दह र ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँच पोखरी, गोरखाको नारद पोखरी, गोरखा र लमजुङ्को सिमानामा पर्ने पवित्र धार्मिक स्थल दुधपोखरी लगायत देशभरका मठ, मन्दिर र कुण्डहरुमा मेला लाग्ने गदर्छ ।

यस पर्वको पौराणिक कथा
पौराणिक कथा अनुसार देवराज इन्द्र र दैत्यराजबीच १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो । यस युद्धमा असुरहरुले देवताहरुमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बांच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिएका थिए । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी रक्षाको विधान श्रावण मासको पूर्णिमाको शुभ मूहूर्तमा इन्द्रलाई रक्षाको बन्धन बांध्दै निम्न मन्त्र जप्नुहुन्छ ।

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः ।
तेन मन्त्रेण बहनामि रक्षे मा चल मा चल ।।

तत्पश्चात् इन्द्राणीले इन्द्रको दाहिने हातमा रक्षासूत्र बाँधे र जुन रक्षासूत्र बांध्नाले देवराज इन्द्र विजयी बने । वास्तवमा त्यो पवित्रताको रक्षासूत्र थियो । त्यही रक्षासूत्रको सम्झना गर्दै रक्षाबन्धन बाँध्ने प्रचलन रही आएको छ । हिन्दु परम्पराअनुसार नेपालको पश्चिमी जिल्ला म्याग्दीका पूर्जा, तिलिजा, रञ्जिता तथा गर्वुजा थरका मगरहरु पनि जनै पूर्णिमाका दिन जनै धारण गर्दछन् ।

यहाँका मगरहरु जन्मदेखि मृत्यु पर्यन्तका कर्म हिन्दु परम्परा अनुसार गर्ने र ब्रतबन्ध पनि सामूहिक तथा एकल गर्ने चलन रहेको छ । प्रथम विश्वयुद्धमा ब्राह्मण, क्षेत्री र मगरहरुको मुसलमानले जनै फालिदिएपछि मगरजातिमा जनै धारण गर्ने क्रम रोकिएको मगरहरुको भनाइ छ ।

अर्को एक कथा अनुसार जब यमदूतले आफ्नो बहिनी यमुनासंग राखी बांध्ने समयमा भनेको हुन्छ कि जसले यस पवित्रताको राखी बांध्दछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । त्यसै अनुरुप यस दिन यमदुत र यमुनाको कथा अनुसार दिदी बहिनीले दाजुभाईलाई राखी बांध्ने प्रचलन पनि चल्दै आएको छ ।

तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ । आजका दिन दिदी–बहिनीले आफ्ना दाजु–भाइको दीर्घायू र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ ।

नयाँ जनै लगाउने मन्त्र
यज्ञोपवितं परमं पबित्रम, प्रज्ञापतेर्यत्सहजम पुरास्तात
आयुष्यार्मग्नम प्रतिमुन्च शुभ्रम, यज्ञोपवितं बलामस्तु तेज

हातमा डोरो/रक्षाबन्धन बाँध्ने मन्त्र
येन बद्धो बलि राजा दानबिन्द्रो महावल
तेन त्वं प्रति बध नामी रक्षे मा चल मा चल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij