२०८३ साउन ११ सोमबार

महामारी रोग विशेषज्ञ प्रा.डा. क्रिस्टिन क्रिउडेर जोनसन भन्नुहुन्छ- ‘नेपालमा जुनकुनै वेला महामारी फैलिन सक्छ’

ई आर्थिक    आइतबार, साउन ८ २०७४
3.9K
Shares
महामारी रोग विशेषज्ञ प्रा.डा. क्रिस्टिन क्रिउडेर जोनसन भन्नुहुन्छ- ‘नेपालमा जुनकुनै वेला महामारी फैलिन सक्छ’
प्रा.डा. क्रिस्टिन क्रिउडेर जोनसनसंयोजक, महामारी रोग विशेषज्ञ

पछिल्ला वर्षहरूमा विश्व समुदायमाझ नयाँ रोगले महामारीको रूप लिइरहेको छ । लाखौँ मानिसको मृत्यु भइरहेको छ । नयाँ रोगले महामारीको रूप किन लिइरहेको छ ? यो प्रश्नको खोजीमा सक्रिय छिन्, प्रा.डा. क्रिस्टिन क्रिउडेर जोनसन । युनिभर्सिटी अफ क्यालिफोर्नियाकी प्राध्यापकसमेत रहेकी जोनसन नयाँ रोगबारे अनुसन्धानमा जुटेकी छिन् । जैविक तथा पारिस्थितिक निगरानी संयोजक रहेर उनी एसिया र अफ्रिकाका देशहरूको महामारी नियन्त्रणमा जुटेकी छिन् । ‘वान हेल्थ’ नीतिलाई विश्वभर अवलम्बन गर्ने उद्देश्यले एसिया र अफ्रिकाका ३० देशमा अध्ययन सुरु भएको छ । जनावर, मानिस र वातावरणको अध्ययन गरी कस्ता खालका नयाँ रोगहरूले महामारीको जोखिम ल्याउँछन् भन्नेमा अनुसन्धान भइरहेको छ । पाँच वर्षदेखि जोनसन नेपालमै बसेर अध्ययन अनुसन्धानमा सक्रिय छिन् । नेपालमा रोगको अवस्था, सम्भावना र चुनौतीबारे नयाँ पत्रिकाका अर्जुन अधिकारीले उनीसँग कुरा गरेका छन् :

जनावरबाट मानिसमा सर्छ रोग
महामारी रोग अनुसन्धानका क्षेत्रमा मैले २० वर्षको अनुभव बटुलिसकेकी छु । सरुवा रोगबारे अध्ययन तथा अनुगमन जारी छ । मुख्यतः जनावरबाट कस्ता–कस्ता रोग मानिसमा लाग्छन्, जोखिम के हो र नियन्त्रण कसरी गर्ने भन्ने नै मेरो पहिलो उद्देश्य छ । विगत पाँच वर्षदेखि नेपालमा महामारी रोगसम्बन्धी अध्ययन सुरु गरेकी हुँ ।

यहाँ जनावर र मानिसबीच निकै नजिकको सम्बन्ध छ । नेपालमा आएर अनुसन्धान गर्नुअघि मैले समुद्रमा पाइने विभिन्न जनावरका बारेमा अध्ययन गरेकी थिएँ । यस्ता रोग मानिसमा कति सर्न सक्छन् भनेर समुद्रका जनावरमा अनुसन्धान गरेँ । गिद्ध, माउन्टेन लायन, स्तनधारी जनावर, मृगहरूमा अनुसन्धान गरिएको थियो । त्यो अनुसन्धानले मानिसमा लाग्ने ७० प्रतिशत रोग जनावरबाट आएको देखाएको छ । समुद्री क्षेत्रमा गरेको अध्ययन अनुसन्धानमा ७५ प्रतिशत नौला प्रकारका रोग पनि देखाएका छन्, जुन मानिसमा पनि मिल्न सक्छ ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाले ‘क्रिडिट’ नामको कार्यक्रम नेपालसहित ३० देशमा सञ्चालन गरेको छ । जनावर र मानिसबीचमा कस्ता रोग छन् भन्ने पत्ता लगाउन अध्ययन तर्न थालिएको आठ वर्ष भएको छ । छोटो अवधिमै एक हजारभन्दा बढी नयाँ प्रकारका रोग पत्ता लागिसकेका छन् । जुन आज अफ्रिकी मुलुकमा महामारीको रूपमा देखा परिरहेका छन् । इबोला, सार्ज, एचआइभीलगायतका नौला प्रकारका भाइरस पत्ता लागेको धेरै वर्ष भएको छैन । पत्ता लागेका सात सय नयाँ भाइरसहरू मानिसमा सर्न सक्ने रोगअन्तर्गत पर्छन् ।

मुसाको अध्ययनबाट रोग पत्ता लाग्यो
अहिले हामीले नेपालको एक उच्चस्तरीय कम्पनी सिएमडिएनसँग मिलेर अध्ययन, अनुसन्धानको काम गरिरहेका छौँ । यस क्रममा हामीले नेपालमा पाँच किसिमका जनावरमा अध्ययन गरिरहेका छौँ । यो बीचमा मुसा र छुचुन्द्रोमा नौलो प्रकारका भाइरस पत्ता लगाइसकेका छौँ । यसले के समस्या गराउन सक्छ भनेर थप नयाँ जोखिमको न्यूनीकरण गर्न अध्ययन गरिरहेका छौँ । बस्तीमै गएर मुसामाथि अध्ययन गरेका हौँ । रोग लाग्नुभन्दा अगावै पत्ता लगाउन सके अनुसन्धान उपलब्धिमूलक हुन्छ भनेर बस्तीनजिकै गएर अनुसन्धान गरिएको हो । स्क्रबटाइफस पनि मुसामा भएको किर्नाका कारणले लाग्ने गर्छ ।

अहिलेसम्म अध्ययन गरिएकामध्ये चमेरोका बारेमा संसारभर नै कम अध्ययन हुने गरेको छ । नेपालमा त यसको कुनै अध्ययन भएकै पाइँदैन । कोरोना, सार्स, इबोलाजस्ता रोग चमेराको कारणले आएको पाएपछि हामीले नेपालमा पनि यसलाई विशेष महत्वका साथ अध्ययन गरेका हौँ । चमेरोबाट महामारीजन्य रोग लाग्छ भन्ने विषयमा हामी जानकार हुँदाहुँदै पनि मानिसहरू नजिकै बस्ने गरेको पाइएको छ । हामीले अध्ययन अनुसन्धान गरेको पनि मानिससँगै बस्ने जनावर भएको ठाउँको हो । मुसा, चमेराले फलफूल खाएर जमिनमा झारेपछि वस्तुले खाने र त्यसबाट मानिसमा रोग सर्ने गरेको विश्वमा भएका अनुसन्धानले प्रस्ट्याएका छन् । कतिपय स्थानमा चराहरूले मानिसको खानेकुरामा झारिदिएका हुन्छन् ।

नेपालमा चमेरो खाने मानिस भेट्यौँ
हामीले अनुसन्धान गर्दा चमेरो खाने मानिस पनि नेपालमा रहेको पाएका छौँ । मुख्यगरी मकवानपुरमा चेपाङ बस्तीमा चमेरो खाने गरेको पाइएको छ । चमेरो खाँदा मानिसमा कुन रोग लाग्न सक्छ ? कस्ता–कस्ता रोगको स्रोत चमेरो हो ? यसको माध्यमबाट मानिसमा सरे-नसरेको बारे अनुसन्धान गरिरहेका छौँ । अहिले हामीले गरेको अध्ययन अनुसन्धान भनेको बाँदर, मुसा, चमेरो र मानिसको हो । पशुपति, थापाथली र स्वयम्भूका बाँदरमा हामीले अनुसन्धान गरिसकेका छौँ । तिनीहरूमा मानिसमा लाग्न सक्ने रोगको भाइरस व्यापक मात्रामा देखिएको छ, तर मानिसमा सरिसकेको वा नसरेको बारेमा अझै अध्ययन जारी छ । मानिसको अध्ययन अनुसन्धान भने सुकुम्बासी बस्ती र अस्पातलमा गरिरहेका छौँ ।

हाम्रो मुख्य उद्देश्य जनावरमा भएको रोग पत्ता लगाउने मात्रै होइन, पत्ता लगाइसकेपछि त्यो रोग मानिसमा सर्न नदिन कस्तो उपाय अपनाउने भन्ने हो । रोग लाग्नुअगावै रोगको सही पहिचान गरेर रोकथाम गर्नु हाम्रो मुख्य काम हो । समुदायसँग गरिएको अनुसन्धानले धेरैलाई प्रश्न गर्न सक्छ । यो अनुसन्धान मानिसहरूको सम्बन्ध जनावरसँग कस्तो रहेको छ भनेर गरिएको हो । जुन अध्ययनलाई विश्वका ३० देशरुमा सञ्चालन गरिरहेका छौँ । मानिसहरूको मात्रै संरक्षण गर्ने होइन, जनावरको पनि संरक्षण गर्नुपर्छ भनेरै हामीले दुवैको अनुसन्धान गरेका हौँ । रोगी जनावर सबै मारेर रोग ठीक हुन्छ भन्ने पक्षमा हामी छैनौँ । मानिस पनि मर्नुभएन, जनावर पनि मार्नुहुँदैन भन्ने पक्षमा हामी लागेको छौँ ।

बाँदरबाट मानिसमा रोग सर्न सक्छ
नेपालका सहरी क्षेत्रमा हेर्ने हो भने बाँदर र मानिससँगै भएको जस्तो देखिन्छ । बाँदरमा रोगहरू हुन्छन् । रोगी बाँदरले टोके वा त्यसको र्‍याल परे मानिसमा रोग सर्न सक्ने सम्भावना धेरै हुन्छ । यो विषयमा नेपालीहरू पूरै जानकार भएका छैनन् । हामीले थप स्पष्ट पार्न बाँदरमा केके रोग छ भनेर पत्ता लगाउँदै छौँ । केही भाइरसहरू भने पत्ता लगाइसकेका छौँ । बाँदरको खास जनसंख्या कति हो भन्ने हामीलाई यकिन छैन । पशुपति, स्वयम्भू, थापाथलीमा भएका बाँदरको आधिकारिक तथ्यांक लिइएको छैन । हाम्रो अनुमानमा यी क्षेत्रमा एक हजारको संख्यामा बाँदर हुन सक्छन् । केही समयअघि नयाँ पत्रिकाबाट नै पशुपति र स्वयम्भूका बाँदरमा ९७ प्रतिशत एचआइभी र क्यान्सर गराउने भाइरस देखिएको विषयमा समाचार आइसकेको छ । यो सत्य हो र हाम्रो अनुसन्धानले पनि देखाइसकेको छ । यहाँका बाँदरले पेटभरि खान नपाउँदा मानिसलाई टोक्ने र मानिसले बोकेको खानेकुरा खोसेर खाने गरेको पाइयो । जसरी मानिस र बाँदरबीच सम्बन्ध नजिक छ, त्यस्तो अवस्थामा जोखिम बढेको पाइन्छ । यसरी बाँदरले मानिसलाई टोकेको, खाना खोसेर खाएको विषयमा गहन रूपमा अनुसन्धान गरिरहेका छौँ । यो अनुसन्धान सकिएपछि बाँदरमा कस्ताकस्ता भाइरस छन्, बाँदर र मान्छेमा आउने रोग र सर्ने सम्भावना के छन् पत्ता लगाउनेछौँ । पत्ता लगाइसकेपछि हामी सरकारलाई प्रतिवेदन नै बुझाउनेछौँ ।

विश्वमै नभएका अनुसन्धान नेपालमा
हामीले नेपालमा विभिन्न प्रकारका अनुसन्धान सुरु गरेका छौँ । यस्ता अनुसन्धान विश्वमा पनि कमै मात्रामा भएका छन् । पशुपति क्षेत्र विकास कोषले बाँदरमा कुनै रोग छैन भनेको छ, त्यो डाटामा आधारित छैन । यो कुनै अध्ययन र अनुसन्धानविना नै भनिएको हो । हामीले रोगका बारेमा मात्रै हेरिरहेका छैनौँ । बाँदरको व्यवहार, समाजको प्रतिक्रिया सबै विषयलाई राम्रोसँग बुझेर सरोकारवाला निकायसँग समन्वय गर्नेछौँ । एचआइभी भनेको बाँदरबाट आएको हो । बाँदरबाट मानिसमा पेटसम्बन्धी रोग, झाडापखाला, रोग प्रतिरोधात्मक शक्ति कम गराउने (जुन एचआइभीबाहेकका नयाँ रोग हुन्) रोगहरू विश्वव्यापी रूपमा देखापरिसकेका छन् । बाँदरबाट मासिमा लाग्ने रोगबारे सबै जानकार भएको अवस्था छ । तर, हामी बाँदरलाई रोग छ भन्दैमा विस्थापित नै गर्ने पक्षमा छैनौँ । मानिसलाई मात्रै हेरेर निर्णय लिने कुरा भएको छैन । मैले सिएमडिएनसँग मिलेर काम गरिरहेको छु । जनावरबाट मानिसमा लाग्ने रोगहरू भए पनि यसलाई ‘वान हेल्थ पोलिसी’का रूपमा अगाडि बढाउनुपर्नेछ ।

मानिसमा भएको रोग पनि जनावरमा सर्छ
मानिसमा लाग्ने ७० प्रतिशत रोग जनावरबाट आएका छन् । यस्तो अवस्थामा हामीले मानिसको मात्रै रोग वा जनावरको मात्रै भनेर निक्र्योल गर्न सक्दैनौँ । सबैलाई एकै ठाउँमा ल्याएर अनुसन्धान गर्नुपर्ने देखेर नै हामीले ‘वान हेल्थ’ नीति अवलम्बन गरेका हौँ । वातावरण परिवर्तनसँगै जनावरमा भएका रोग मानिसमा सर्ने र मानिसमा भएको रोग जनावरमा सर्ने हुन्छ । वातावरण, मानिस, जनावर सबैको अनुसन्धान गरेर रोगको पहिचान दिनेछौँ । जसले रोग नियन्त्रण गर्न सकियोस् । रोगबारे पत्ता लाग्नासाथ सरकारी निकायलाई जानकारी गराउँदै आएका छौँ । तर, सबैभन्दा पहिला हामीलाई हाम्रै वरिपरि भएका जनावरका बारेमा जानकारी छैन ।

पछिल्लो समय संसारमा धेरै नयाँ रोग पत्ता लागिरहेका छन् । नेपालमा कस्ता रोग छन् भनेर औपचारिक अध्ययन नभएका कारण हामीले अनुसन्धानलाई तीव्रता दिएका हौँ । नयाँ रोग पत्ता लगाएको अवस्थामा सरकारलाई सजिलो हुन्छ ।

नयाँ रोग पत्ता लगाउने उपकरण नेपालमै छन्
नेपालको भौगोलिक अवस्थिति एकै किसिमको छैन । यसकारण अनुसन्धानमा केही कठिनाइ भएको छ । नेपालमा पाँच वर्ष काम गर्दा केही दुविधा देखिएका छन् । स्वास्थ्यमा काम गर्नेलाई जनावरको अवस्थाका बारेमा पनि राम्रोसँग बुझाउन जरुरी देखेकी छु । हरेक क्षेत्रका व्यक्ति र सम्बन्धित निकायलाई गएर वान हेल्थ नीतिका बारेमा कुरा गर्दा सकारात्मक रूपमा लिएको पायौँ । तर, जति कुरामा सकारात्मक पायौँ । महामारी रोगको अनुसन्धानमा त्यति गम्भीरता पाएनौँ । नयाँ रोग पत्ता लगाउन नेपालमै उपकरण छन् । उच्चस्तरीय ल्याब नेपालमै भएकाले नमुनाहरू विदेश लैजानुपर्ने अवस्था छैन । हामीले नेपालमा देखिएका नयाँ रोगलाई विश्वव्यापी गर्नेछौँ । ३० देशमा अनुसन्धान भइरहेकाले कुन देशमा के देखियो त्यसका बारेमा विश्वव्यापी छलफल हुनेछ । नेपाल, चीन, भारत, बंगलादेश, म्यानमार, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, इन्डोनेसिया, लाओस, जोर्डन, इजिप्ट, सुडान, केन्या, युगान्डा, तान्जानिया, रुवान्डा, प्रजातान्त्रिक गणतन्त्र कंगो, क्यामरुन, घाना, लाइबेरिया, सिरियालियोन, गिनी, आइभरीकोस्टलगायत एसिया र अफ्रिकाका देश छन् ।

नेपालबाट थालिएको काम विश्वका ३० देशमा
कुनै पनि जनावरलाई नसमाती कसरी नमुना परीक्षण गर्ने भन्ने कुराको विकास गर्न पनि नेपालमै काम गरियो । नेपालमा नमुना संकलनको क्षेत्रमा बनाएको नियम विश्वभरि प्रयोगमा ल्याइएको छ । बाँदरलाई नसमाती, नछोई कुनै वस्तु खान दिएर फालेको चिजको ¥याल परीक्षण गर्ने काम नेपालबाट सुरु भएको हो । आज यसलाई हामीले विश्वका ३० देशमा पुर्याएका छौँ । यसमा सरकारी समन्वयको कमी देखिएको छ । कतिपय विषयमा अरूले भनेको विश्वास नगर्ने र त्यसलाई स्वीकार गर्न नसक्ने सरकारी निकाय छ । केही समयअघि बंगलादेशमा निपा भाइरस पत्ता लागेको थियो । यो रोगले महामारीको रूप लिएको थियो । चमेरो, सुँगुर र मानिसबाट फैलिएको थियो । यस्तो समस्याको वेला पनि बंगलादेश सरकारले तत्काल ‘वान हेल्थ’को नीतिमार्फत महामारी रोक्न सफल भएको थियो ।

नेपालमा पनि दिनानुदिन जनसंख्या वृद्धि भइरहेको छ । यहाँको भौगोलिक बनावट फरक छ । कुनै पनि समय नेपालमा महामारीको समस्या आउन सक्छ । त्यसैले सरकारले त्यस्तो समस्यालाई रोक्न सक्षमता अपनाउनुपर्छ । नेपालले आफूसँग भएको स्रोत–साधनको उच्चतम प्रयोग गर्न सक्नुपर्छ । इबोला फैलिएका देशमा बाँदर मर्ने, लुतोले सताएकाजस्ता समस्या थियो । ती देशमा अनुसन्धान गर्न निकै कठिन भएको छ । मानिसहरू सहभागी हुन मान्दैनन् र पनि दुःखले काम गरिरहेका छौँ । नेपालमा भने अहिलेसम्म सहजताका साथ महामारी रोगसम्बन्धी अध्ययन अनुसन्धान भइरहेको छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij