१ साउन, काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको प्रेमकथामा आधारित फिल्म ‘म यस्तो गीत गाउँछु’ले शनिबार देशभरका हलमा उत्कृष्ट ओपनिङ गरेको छ ।
फिल्मका मुख्य कलाकार पल शाह र पूजा शर्माको जोडीको चर्चा पनि अहिले चौतर्फी छ । आज फिल्म प्रदर्शनको तेस्रो दिन पनि हल हाउसफुल भएको बताइएको छ ।
सुदर्शन थापाको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मले शुक्रबार पनि हाउसफुलको व्यापार गरेको थियो । शनिबार भने प्रदर्शित सबै हलमा दर्शकको अत्यधिक चाप रहेको निर्देशक थापाले बताएका छन् ।

दर्शकको चापका कारण म यस्तो गीत गाउछु शनिबार गोपीकृष्ण मुभिजका सातमध्ये पाँच हलमा प्रदर्शन गरियो । पाँचवटै हलमा बिहानदेखि साँझसम्मका चारवटै सो हाउसफुल थिए । त्यसैगरी, शनिबार दिउँसोको सोमा बालाजुस्थित अष्टनारायण हलका चारवटै पर्दामा म यस्तो गीत गाउँछु लगाउनुपर्यो ।
दर्शकको ओभर फ्लोका कारण अष्टनारायणमा प्रदर्शनरत अरू फिल्मको सो क्यान्सिल भएको थियो । त्यसैगरी, बालाजुस्थित गंगा हलमा दुवै पर्दामा आफ्नो फिल्म प्रदर्शन गरिएको सुदर्शनले बताए ।
दर्शकहरुले चलचित्रका नायक पल शाह र नायिका पुजा शर्माको केमिस्ट्रीलाई साह्रै रुचाएका छन् । दर्शकको प्रतिक्रिया लिन निर्देशक सुदर्शन, अभिनेता पल शाह र पूजा शर्मा हलहलमा पुगेका थिए ।