२०८३ साउन ९ शनिबार

सिरहाका मदर्सा आर्थिक संकटमा

ई आर्थिक    शुक्रबार, असार ३० २०७४
10K
Shares
सिरहाका मदर्सा आर्थिक संकटमा

३० असार, लहान । मदर्सा व्यवस्थापन सञ्चालन अनुदान रकम नआउँदा सिरहाका अधिकांश मदर्सा आर्थिक संकटमा फसेका छन् । मदर्सा व्यवस्थापन तथा सञ्चालनका लागि सरकारले वर्षेनी दिँदै आएको अनुदान रकम यो वर्ष उपलब्ध नहुँदा सिरहाका अधिकांश मदर्सा आर्थिक संकटमा परेका हुन् ।

मदर्सालाई व्यवस्थापन सञ्चालन अनुदान भन्दै शिक्षा विभागले सिरहाका प्रत्येक मदर्सालाई वार्षिक डेढ देखि दुई लाख रुपैयाँसम्म एकमुष्ट अनुदान दिँदै आएको थियो । जिल्लामा ६१ वटा मदर्सा दर्ता भएका छन् ।

चालु आव सकिन एक दिनमात्र बाँकी रहँदा निमाविस्तरको एक मदर्साबाहेक अन्य कुनै मदर्साले पनि चालु आवको उक्त अनुदान रकम पाउन सकेको छैन । सरकारी अनुदानकै भरमा सञ्चालन हुँदै आएका अधिकांश मदर्साले चालु आव २०७३/७४ को अनुदान रकम समयमै नआउँदा शिक्षकलाई तलब खुवाउने समेत समस्या भएको गुनासो गरेका छन् ।

‘आव सकिनै लाग्दासमेत शिक्षा कार्यालयबाट अनुदान रकम नआउँदा मदर्सा कसरी सञ्चालन गर्ने भन्ने चिन्तामा डुबेका छौँ’, लहान नगरपालिका–९ स्थित मदर्सा अल्लेसुलतका प्रअ मुस्ताक अहमदले भन्नुभयो – ‘‘अब शिक्षकलाई तलब कहाँबाट दिने र शिक्षण सामाग्री लगायतका सामान कसरी खरिद गर्ने भन्ने समस्या भएको छ ।”

समयमा अनुदानबापतको रकम नआउँदा झण्डै छ महिनादेखि शिक्षकलाई तलब खुवाउन सकेका छैनौँ, उहाँले भन्नुभयो – अब त तलब खुवाउन ऋण नै खोज्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।

सयजना मुस्लिम समुदायका विद्यार्थी अध्ययनरत रहेको आफ्नो मदर्सामा शिक्षा कार्यालयको दरबन्दीमा एकजना र निजी स्रोतबाट तीनजना गरी चारजना शिक्षक कार्यरत रहेको प्रअ अहमदले बताउनुभयो ।

अनुदान रकम नआएका कारण निजी स्रोतमा कार्यरत शिक्षकलाई तलव खुवाउन समस्या भएको उहाँको भनाइ छ । मदर्साका प्रअ, शिक्षक तथा अभिभावकले सिरहा जिल्ला शिक्षा अधिकारी अरबिन्दलाल कर्णलाई तत्काल अनुदान रकम उपलब्ध गराउन आग्रहसमेत गरेका छन् ।
शिक्षा विभागबाट निकासा नआएकाले मदर्सालाई दिदैं आएको अनुदान रकम उपलब्ध गराउन नसकेको बताउँदै जिशिअ कर्णले “मदर्साको एकमुष्ट अनुदान रकमबारे पटक–पटक शिक्षा विभागमा पत्राचार गरे पनि हालसम्म कुनै जवाफ नआएकाले दिन नसकेको हो भन्नुभयो ।”
चालु आव सकिन अझ एक दिन बाँकी रहेकाले विभागबाट अनुदान रकम उपलब्ध गराउने बित्तिकै मर्दसालाई निकासा दिने जिशिअ कर्णले प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij