२०८३ साउन ९ शनिबार

छ वर्षको प्रयासपछि ट्र्याक निर्माण

ई आर्थिक    बिहिबार, असार २९ २०७४
2.9K
Shares
छ वर्षको प्रयासपछि ट्र्याक निर्माण

२९ असार, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेको बगैँचादेखि वडा नम्बर २ भगवतीको रिसीनचौतारी हुँदै बेगखोला जोड्ने सडकखण्डअन्तर्गत बनाखीको भिरमा ट्र्याक निर्माण भएको छ ।

विगत छ वर्षदेखि सडक निर्माण सुरु गरिएको सो सडकअन्तर्गत कडा चट्टानको कारण निर्माण कार्य रोकिरहेको बनाखी भिरमा यो वर्ष डोजर लगाएर ट्र्याक निर्माण गरिएको हो ।

गलेश्वरदेखि बेगखोलासम्मको सडकको वैकल्पिक मार्गका रुपमा निर्माण गर्न लागिएको पिप्ले बगैँचा–रानीपौवा–रिसीनचौतारी– माछखर्क–बेगखोला सडकअन्तर्गत यो वर्ष रु १० लाख बजेटबाट सो ट्र्याक निर्माण गरिएको हो ।

जिल्ला समन्वय समितिमार्फत रु नौ लाख १० हजार र स्थानीयको रु एक लाख एक हजार ६९६ बराबरको श्रमदानबाट रानीपौवा र रिसीनचौतारीको बीचमा पर्ने सो भिरमा ट्र्याक निर्माण गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जगत शाहीले बताउनुभयो ।

विगत छ वर्षदेखि निरन्तर प्रयास गर्दासमेत उल्लेख्यरुपमा बजेट विनियोजन नभएको र विनियोजन भएको बजेटले समेत सो भिरमा ट्र्याक खन्न सकिएको थिएन ।

बेनी–जोमसोम सडकखण्डअन्तर्गत गलेश्वरदेखि बेगसम्मको खण्डको वैकल्पिक मार्गका रुपमा निर्माण गर्न लागिएको सो सडकखण्डमा खहरेखोलादेखि माछखर्कको बीचमा रहेको करिब ३०० मिटर भिरमा ट्र्याक निर्माण गर्न बाँकी छ ।

बगैँचादेखि रिसीनचौतारी हुँदै खहरेखोलासम्म र बेगखोलादेखि माछखर्कसम्म ट्र्याक निर्माण कार्य सम्पन्न भएकाले आगामी वर्षमा सजिलैसँग ट्र्याक निर्माणले पूर्णता पाउने स्थानीयवासीको भनाई छ । यस वर्ष नै यो खण्डको ट्र्याक निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि बजेट अभावले सम्भव नभएको हो ।

पिप्लेको बगैँचादेखि रानीपौवा हुँदै भगवतीको रिसीनचौतारी माछखर्क हुँदै बेगखोला जोडिने यो सडकले स्थानीय दुई हजार ५०० घरधुरी लाभान्वित हुने छन् भने गलेश्वरदेखि बेगखोला खण्डको वैकल्पिक मार्गका रुपमा समेत प्रयोगमा ल्याउन सकिनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij