२०८३ साउन १२ मंगलबार

हनी ट्रयापिङ प्रकरण : वास्तविकता बाहिर आउने डरले श्रेष्ठसँगै अपरणमा परेका घर्तीको पनि हत्या भएको खुलासा

ई आर्थिक    बुधबार, असार २८ २०७४
7.9K
Shares
हनी ट्रयापिङ प्रकरण : वास्तविकता बाहिर आउने डरले श्रेष्ठसँगै अपरणमा परेका घर्तीको पनि हत्या भएको खुलासा

२८ असार, दाङ । दाङ तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठसँगै अपरणमा परेका घोराहीका रणबहादुर घर्तीको पनि हत्या भएको प्रहरीले जनाएको छ ।

राप्ती अञ्चल प्रहरी कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहकाअनुसार श्रेष्ठको हत्या हुनुभन्दा आधा घण्टा अघि घर्तीको हत्या भएको अभियुक्तहरुले बयान दिएको बताए ।

उनीहरुले रणबहादुरसंग पैसा असुल्ने उद्देश्य नभई आफूहरुसंग विवाद भएपछि वास्तविकता बाहिर आउने डरले हत्या गरेको बयानमा उल्लेख गरेको उनले जानकारी दिए ।

श्रेष्ठको जेठ २६ गते अपहरण गरी सल्यान, छत्रेश्वरी गाउँपालिका–४ स्थित झिम्पे रेन्ज जङ्घगलमा लगेर हत्या गरिएको थियो भने घर्तीको शव पनि त्यहीँ आसपासमा रहेको पक्राउ परेकाहरुले बयान दिएका थिए । सो घटनामा हत्याका योजनाकारलाई पनि प्रहरीले पक्राउ गरी हिजो सार्वजनिक गरेको थियो ।

ठेकेदार घर्तीमाथि नै थियो प्रहरीको आशंका
प्रहरीले यसअघि अपहरण र हत्यामा ठेकेदार रणबहादुर घर्तीको संलग्नता रहेको आशंका गरेको थियो । अपहरणकारी समूह श्रेष्ठको हत्यापछि तितरबितर हुँदा पनि घर्ती सम्पर्कमा नआएपछि प्रहरीले उनीमाथि आशंका गरेको हो । तर, मुख्य योजनाकार पक्राउ परेपछि उनको पनि हत्या भएको खुलेको हो । आफूहरूलाई चिनेकै कारण ठेकेदार घर्तीको हत्या गरिएको मुख्य अभियुक्त भनिएका टीकाराम घर्तीले बयान दिएको प्रहरीले जनाएको छ ।

रकम असुल्न अपहरण
प्रहरीका अनुसार प्रारम्भिक बयानका क्रममा मुख्य योजनाकार भनिएका टीकारामले रकम असुलीका लागि अपहरण गरेको स्वीकार गरेका छन् । आफूलाई ऋणले च्यापेपछि रकम असुली गर्न व्यापारी श्रेष्ठको अपहरण गरेको उनको बयानमा उल्लेख छ । उनी व्यापारी श्रेष्ठको अपहरण गर्नुभन्दा एक दिनअघि काठमाडौं जाने भन्दै घरबाट निस्किएका थिए ।

टीकारामकी श्रीमती ताराले प्रहरीलाई दिएको बयानमा जापान जाने भनेर दलाललाई बुझाएको १० लाख रुपैयाँ उठाउन काठमाडौं जान्छु भन्दै हिँडेका थिए । घटनाबारे प्रहरीले पत्रकार सम्मेलन गरेपछि मात्रै आफूले थाहा पाएको उनले बयान दिएकी छिन् ।

यी हुन् अभियुक्त
प्रहरीले अपहरण र हत्यामा १२ जनाको संलग्नता भएको जनाएको छ । पत्रकार सम्मेलन गरी प्रहरीले मंगलबार मुख्य अभियुक्त भण्डारी घर्तीसहित पूजा घर्तीलाई सार्वजनिक गरेको छ । पूजा टीकाराम घर्तीकी छोरी हुन् । उनीहरूलाई दाङबाट खटिएको प्रहरीको विशेष टोलीले बाँके डुरुवा गाउँपालिका–६ स्थित नेपाल भारत सिमानामा पर्ने हिरामोनियामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ ।

यस्तै, तुलसीपुर उपमहानगरपालिका–८ का २८ वर्षीय भूपेन्द्र भण्डारीलाई तुलसीपुर बजारबाटै र वडा नम्बर ११ कटाहाका ३० वर्षीय खुमबहादुर केसीलाई काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा वडा नं. ९ बेलुवा शिवज्योति टोलका ४१ वर्षीय नारायण वलीलाई समेत पक्राउ गरेको जनाएको छ ।

यसअघि प्रहरीले तुलसीपुर–१२ का २५ वर्षीय कमल भनिने अविरल महतारा, घोराही उपमहानगरपालिका–१४ नयाँ बजारकी ३८ वर्षीया जमा पुन, तुलसीपुर उपमहानगरपालिका–६ का २३ वर्षीय रुगत थापा मगर र रोल्पा जङकोट–१ घर भई घोराही उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय ‘रमेश’ भनिने मनबहादुर पुनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij