२४ असार, रामेछाप । तामाकोसीबाट २ घण्टाको उकालो बाटो पानी बोकेर खाने बडिमुहानका बासिन्दा घरदैलोमै पानी झरेपछि खुसीले गद्गद् भएका छन् । गाउँमा पानी आएकै कारण उनीहरुले खसी काटेर भोज र नाचगान गरे । अहिले केही घरमा धारा जोड्ने चटारो छ । यहीबीच स्थानीयले योजनाको उद्घाटन पनि गराएका छन् ।
जेठ लागेपछि तामाकोसी उर्लिन्छ । लेकदेखि माटो सोहोरेर आएको धमिलो पानी बोक्नुपर्थ्यो । त्यसकै लागि पनि महिलाहरू एकाबिहान पूरै खर्चन बाध्य थिए ।
बडिमुहान, ओडारे र अम्बोटेमा पानी पुर्याउनका लागि ५ वर्षअघि देखि काम थालिएको थियो । तामाकोसीको किनारमा इनार बनाएर झन्डै दुई किलोमिटर माथि पानी लैजान पटक–पटक प्रयास विफल भयो । यस वर्ष बल्ल निर्माणकर्ता र स्थानीयको सपना पूरा भयो ।
लिफ्ट प्रणालीको उक्त योजना निर्माणका लागि स्थानीयको श्रम, गरिबी निवारण कोष र जिल्ला विकास समितिअन्तर्गतको विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रमको झन्डै ७० लाख रुपैयाँ खर्चेका थिए । जिल्ला सदरमुकाम मन्थलीभन्दा सीधा पश्चिमी पाखा बढीमुहान खुरीखण्ड छ । वर्षायाममा पनि पर्याप्त पानी नपर्ने सुख्खाग्रस्त क्षेत्रमा पर्ने बडिमुहानका बासिन्दा लिफ्ट पानी नपुगेको भए सबै बसाइँ सर्ने तर्खरमा थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।