२३ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलपर लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख ९० हजार कित्ता आइपीओ बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो ।
यसअघि नै दोलखाका आयोजना प्रभावित स्थानीयका लागि २ लाख ६० हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँडसमेत गरिसकेको कम्पनीले यो दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर जारी गर्न लागेको हो ।
कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । नेपाल हाइड्रोले ३ हजार ५२० किलोवाटको चर्णवति हाइड्रोपावर सञ्चालन गर्दै आएको छ भने ६ हजार ८०० किलोवाटको लोवर चर्णवतिमा लगानी गर्ने योजना बनाएको छ ।
कम्पनीको संस्थापक सेयरधनीमा ज्ञानेन्द्रलाल प्रधान २५ दशमलव ५ प्रतिशत, पशुपति मुरारका १२ दशमलव ५ प्रतिशत, कुमोदकुमार दुगड १२ दशमलव ५ प्रतिशत, आनन्दप्रसाद पोखरेल १० प्रतिशत र देव किशोर मुन्दडा १२ दशमलव ५ प्रतिशत शेयर स्वामित्व रहेको छ । धितोपत्र बोर्डबाट अनुमति पाइसकेकाले अब छिट्टै निष्कासन प्रक्रिया अघि बढ्ने कम्पनीले जानकारी दिएको छ ।