२०८३ साउन ११ सोमबार

साढे ३३ किलो सुन तस्करीका आरोपीलाई ‘क्लिन चिट’

ई आर्थिक    बुधबार, असार २१ २०७४
2K
Shares
साढे ३३ किलो सुन तस्करीका आरोपीलाई ‘क्लिन चिट’
निराजन पौडेल, काठमाडाैँ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत २० पुसमा भएको साढे ३३ केजी सुन तस्करीमा संलग्न भएका आरोपीलाई काठमाडाैँ जिल्ला अदालतले धमाधम तारेखमा छाड्ने प्रक्रिया थालेको छ । अदालतले सुन तस्करीमा संलग्नमध्ये विमानस्थल सुरक्षामा खटिएका एसएसपी श्याम खत्रीसहित पाँचजनालाई ‘क्लिन चिट’ दिएको छ ।

अदालतले ‘क्लिन चिट’ दिन थालेपछि सरकारी वकिलको कार्यालयले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न १६ चैतमा निवेदन दिएको थियो । सरकारी वकिलको कार्यालयले निवेदन दिइसकेपछि पनि सुन तस्करीमा संलग्न भई फरार भनिएकाहरू हाजिर भएको आधारमा काठमाडौं जिल्ला अदालतले धरौटीमा छाडिसकेको छ । फरार रहेर अदालतमा हाजिर भएर धरौटी तिरेर छुट्नेमा रवि भन्ने राजेश बोगटीलाई २२ जेठमा काठमाडौं जिल्ला अदालतले एक लाख ५० हजार धरौटीमा छाडेको छ । त्यस्तै, मल्लिका बज्राचार्य शाक्यलाई २९ जेठमा साधारण तारेख, राजेन्द्रकुमार शाक्यलाई २३ जेठमा १ लाख ५० हजार र गीता श्रेष्ठलाई ३० जेठमा एक लाख रुपैयाँ धरौटीमा छाडेको छ । धरौटी तिरेर मुक्त हुने सबै सुन पसले हुन् ।

को–कति धरौटीमा छुटे ?
विमानस्थलमा खटिएका एसएसपी श्याम खत्रीलाई काठमाडाैँ जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले ४ चैतमा दुई लाख धरौटीमा छाडेको थियो । राजेश शाक्य, वैभव लक्ष्मी सुन पसल न्युरोडका व्यापारी राजेश श्रेष्ठ, सुनिल श्रेष्ठ, मनोज श्रेष्ठ, सपन श्रेष्ठलाई जनही एक लाख रूपयाँ धरौटीमा छाडिएको थियो ।

अदालतले धमाधम छाडेपछि सुन तस्करीमा संलग्न व्यवसायीहरूलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न गत २२ फागुनमा निवेदन दायर भएको थियो । अभियोगपत्रसाथ पेस भएका १२ जना प्रतिवादीको बयान र वादी–प्रतिवादीका तर्फबाट बहस भएपछि अदालतले गत ४ चैतमा थुनछेक आदेश दिएको थियो । अभियोगीहरूको मुद्दाको पेसी २२ असारका लागि तोकिएको छ ।

मुद्दा तीनपटक एउटै बेन्चमा
उच्च अदालतका न्यायाधीश प्रेमराज कार्की र मेघनाथ भट्टराईको इजलासमा सुन तस्करीको मुद्दाको पेसी चढेको छ । १५ असारमा भएको सुनुवाइमा सरकारका तर्फबाट महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले बहस गरेका थिए । बहसका क्रममा उनले सुन तस्करीमा संलग्न कसैलाई पनि छाड्न नहुने मागदाबी गरेका छन् । काठमाडांै जिल्ला अदालतले सुन तस्करीमा संलग्नलाई धरौटीमा छाड्ने आदेश दिएपछि उच्च सरकारी वकिल कार्यालय पाटनका सहन्यायाधिवक्ता नारायणप्रसाद पौडेलले धरौटीमा छाडिएकालाई थुनामा राखी पुर्पक्षमा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

कति बरामद भएको थियो सुन ?
गत २० पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको बिस्कुट थान २८२ (३२८९२.४८ ग्राम) र सुनको गहना ६८४.९२ ग्राम गरी जम्मा साढे ३३ किलो सुन बरामद भएको थियो । सो सुनको मूल्य १६ करोड ८२ लाख ८८ हजार रहेको प्रहरीले जनाएको छ ।

को–को भए जेल चलान ?
सुन तस्करीमा संलग्न कारोबारी रामहरि कार्की, तस्करीको सुन व्यवस्था मिलाउने दिलबन्धु थापा, कारोवारी सन्तोष काफ्ले र सुनको भरिया गोपाल शाही, एक्सरेमा बस्ने भन्सार कर्मचारी राजकुमार ढकाल र कर्मचारी श्यामकृष्ण श्रेष्ठलाई अदालतले जेल चलानको आदेश दिएको छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij