२०८३ साउन १० आइतबार

मसिनेचौर विमानस्थल सञ्चालन गर्न माग

ई आर्थिक    सोमबार, असार १२ २०७४
5.3K
Shares
मसिनेचौर विमानस्थल सञ्चालन गर्न माग

१२ असार, डोल्पा। डोल्पामा हवाई यातायातको जुफाल विमानस्थलपछिको अर्को विकल्पको रुपमा रहेको मसिनेचौर विमानस्थललाई डोल्पालीले सञ्चालन गर्न माग गरेका छन् ।

स्तरोन्नतिका लागि जुफाल विमानस्थल अवरुद्ध हुँदा समेत डोल्पामा हवाई यातायातको अर्को विकल्पको रुपमा मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन पटकपटक पहल गर्दासमेत सम्बन्धित निकायले चासो नदिएको भन्दै उनीहरूले गुनासो गरेका छन् ।

करोडौँ लगानी भएर निर्माण सम्पन्न भइसकेको मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन राज्यले बेवास्ता गरेपछि डोल्पालीले ठूलो क्षेत्रफलमा रहेको जमिन खाली राख्नुभन्दा बरु प्लटिङ गरेर अन्नबाली लगाउनुका साथै गौचरनको रुपमा परिणत गर्न पाउनुपर्ने माग गरेका हुन् ।

त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत पहाडमा पर्ने उक्त विमानस्थल निर्माणकार्य सम्पन्न भएर केही वर्ष अगाडि परीक्षण उडानसमेत सफल भएर एक वर्षसम्म डोल्पालीले नियमित हवाई सुविधा पाए पनि अहिले मसिनेचौर विमानस्थल ओझेलमा परेकोमा डोल्पालीले दुःख व्यक्त गरे ।

जुफाल विमानस्थल बन्द हुँदा पनि दुर्गमका जनतालाई आकस्मिक हवाई सेवा दिनको लागि सो विमानस्थल काम लाग्न नसकेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरे ।

“दुईवटै विमानस्थल सञ्चालनमा नभएपछि अहिले उपचारको लागि जिल्ला बाहिर लैजानुुपर्ने गम्भीर प्रकारका बिरामीसमेत समस्यामा परेका छन् भने अन्य काम विशेषले जिल्ला बाहिर जान ठूलो समस्या भएको छ” त्रिपुरा सुन्दरी नगरपालिका–१ का स्थानीय पूर्णबहादुर विष्टले भने ।

ठूलीभेरी नगरपालिकाका स्थानीय सम्पत्ती बुढाका अनुसार “अहिले उपचारको लागि अनिवार्य जिल्ला बाहिर लैजानुपर्ने बिरामीसमेत मृत्यु कुरेर बसिरहेका छन्, यातायातको केही पनि साधन नभएकाले काम विशेषले तत्काल जिल्ला बाहिर पुग्न नसकिने अवस्था छ ।”

“जुफाल विमानस्थल स्तरोन्नतिका लागि असार १ गते बन्द भएको छ, उक्त विमानस्थलमा काम सम्पन्न नहुञ्जेल अर्को मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउने आश्वासन पाएता पनि अहिलेसम्म सञ्चालनमा आएको छैन” त्रिपुरा सुन्दरी नगरपालिकाका स्थानीय लोकेश खत्रीले भने। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij