५ असार, मुम्बइ । साउदी अरबको दमामबाट भारतको कोची आउँदै गरेको जेट एयरवेजको बोइङ ७३७ विमानमा एक महिलाले बच्चा जन्माएकी छिन् । अन्तर्राष्ट्रिय उडान भरिरहेको सो विमान करिब ३५ हजार फिटको उचाइमा रहेका बेला विमानमा नै उनले छोरा जन्माएकी हुन । १६२ जना यात्रु बोकेर उडेको जेट एयरवेज ९ डव्ल्यु ५६९ नम्बरको बिमान आकाशमै छँदा महिलालाई सुत्केरी व्यथा लागेको थियो ।
एयरवेजका अनुसार विमान ३५ हजार फिट उचाइमा उडिरहँदा बच्चाको जन्म भएको थियो । त्यसपछि विमानलाई मुम्बइ एयरपोर्टमा आकस्मिक अवतरण गरिएको बीबीसीले जनाएको छ । मुम्बइमा अवतरणपछि आमा र बच्चा दुवैलाई होली स्पिरिट अस्पतालमा भर्ना गरिएको छ ।
जेट एयरवेजले ति बच्चालाई जेट एयरवेजमा आजीवन यात्रा गर्न शुल्क नलिने घोषणा गरेको छ । जेट एयरवेजले एउटा फ्रि पास जारी गरेको छ जसको प्रयोगबाट उनले आजीवन जेट एयरवेजमा निशुल्क उड्न पाउनेछन् ।
यसअघि टर्की एयरलाइन्सको एक विमानमा पनि गएको अप्रिल महिनामा एक महिलाले बच्चा जन्माएकी थिइन् । जेट एयरवेजमा भने यो पहिलो घटना हो ।