२५ जेठ, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले सुरक्षा सङ्गठनमा देखिएका समस्याहरु निराकरण गर्न सिपाहीसम्मको सुझाव लिएर आवश्यक नीति निर्माण र सङ्गठनको पुनःसंरचना गरिने बताएका छन् ।
बुधवार गृहमन्त्रालयमा पद बहालीपछि कर्मचारी तथा सुरक्षा निकायलाई निर्देशन दिँदै गृहमन्त्री शर्माले भने – ‘तपाईंहरुको इमान्दारितालाई सम्पूर्णरुपमा जनताको सेवामा प्रयोग गर्नेछु । गृहमन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रय अनुसन्धान विभागलाई राजनीतिक उद्देश्यका लागि चलखेल गर्ने, सरकारको नीति र योजना कार्यान्वयनमा भेदभाव गर्ने र अनुशासन तोड्ने कार्यमा छुट दिने छैन ।’ उनले सुरक्षा निकायको चेन अफ कमाण्डमा कडाइ गरिने तथा प्रचारबाजी गर्ने, वक्तव्य दिने, अनावश्यक अन्तर्वार्ता दिने जस्ता प्रवत्तिको अन्त्य गरिने प्रष्ट पारे । गृहमन्त्री शर्माले भने, ‘जनताले चाहेजस्तो नेपाल प्रहरी हुनेछ । जनताले चाहे जस्तो सशस्त्र प्रहरी बल हुनेछ । देशले चाहेजस्तो अनुसन्धान विभाग हुनेछ । देशको संवेदनशील विषय हेर्ने अनुसन्धान विभागलाई आवश्यक पुनःसंरचना गरिनेछ ।’
मूल्याङ्कनको माध्यम परिवर्तन गरी जनता र सिपाहीबाट गरिएको मूल्याङ्कनलाई सही मूल्याङ्कन मानिने उनले जानकारी दिए । मन्त्रालय र यसअन्तरगतका निकायको परिवर्तन र सुधारको सम्बन्धमा केही दिनमै योजना सार्वजनिक गरिने दृढता पनि उनले व्यक्त गरे । मन्त्री शर्माले पहिलो निर्णयको रुपमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सफलतापूर्वक सम्पन्न गर्न गृह मन्त्रालय र सुरक्षानिकाय र समस्त कर्मचारीलाई निर्देशन दिए ।
यस्तो छ गृहमन्त्री शर्माको जीवनी
रुकुम जिल्लाको मुसिकोट नगरपालिका–५ (तत्कालीन खलङ्गा गावि सेरीगाउँ)मा स्कन्द शर्मा र नर्मदा शर्माको जेठो सन्तानको रुपमा गृहमन्त्री जनार्दन शर्माको विसं २०२० सालमा जन्म भएको हो । यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ऊर्जा मन्त्रालयको नेतृत्व सम्हालेर विद्युतभार कटौतीमा महत्वपूर्ण भूमिका खेलेर चर्चा बटुलेका शर्मा स्थानीय तहको दोस्रो चरणको निर्वाचन, सङ्घ र केन्द्रको निर्वाचनका लागि शान्ति सुरक्षाको महत्वपूर्ण भूमिका निभाउनुपर्ने गृह मन्त्रालयको जिम्मेवारीमा आइपुगेको छ ।
यसअघि पहिलोपटक विसं २०६५ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा शान्ति तथा पुनःनिर्माण मन्त्रालयको जिम्मेवारी सम्हालेका शर्मासँग माओवादी जनसेनाको डेपुटी कमान्डरको भूमिका निभाएको अनुभव छ ।
उनी त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययन गर्दागर्दै सशस्त्र सङ्घर्षका क्रममा २०५२ सालदेखि भूमिगत भए । शर्माले जेटिए भई पाँच वर्ष काम पनि गरे । उनी संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा रुकुम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् । रासस