२०८३ साउन ९ शनिबार

धुर्मुस–सुन्तली फाउण्डेसनले पाँच अर्बमा नमुना नेपाल बनाउने

ई आर्थिक    मंगलबार, जेष्ठ २३ २०७४
4.2K
Shares
धुर्मुस–सुन्तली फाउण्डेसनले पाँच अर्बमा नमुना नेपाल बनाउने

२३ जेठ, काठमाडौँ । धुर्मुस–सुन्तली फाउन्डेसनले पाँच अर्ब रुपैयाँको लागतमा ‘नमुना नेपाल’ परियोजना निर्माणको घोषणा गरेको छ । फाउन्डेसनले सोमबार पत्रकार सम्मेलन गरी ‘नमुना नेपाल’ परियोजनाको अवधारणासहित भिडियो देखाएको छ । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले ‘नमुना नेपाल’मा नेपाल झल्कने सबै पक्ष समेटिने बताए ।

उनका अनुसार ‘नमुना नेपाल’मा नेपालको सांस्कृतिक पक्षदेखि समृद्धि झल्कने बुद्धको जन्मस्थान लुम्बिनी, हिमाल, मोनोरेल, गुम्बा, स्तूपा, खेलमैदान, विद्यालय, संग्रहालय सबै समेटिनेछन् । ‘नमुना नेपाल वास्तवमै नमुना हुनेछ । नेपालका सबै तस्बिर यहाँ समेटिनेछन् । नमुना नेपालले हिमाल, पहाड र तराईलाई प्रतिविम्बित गर्नेछ,’ कलाकार कट्टेलले भने ।

परियोजना कार्यान्वयनका लागि आवश्यक जमिन फेला नपरेको उनले बताए । ‘परियोजना तयार भयो । तर, कार्यान्वयनका लागि जग्गा अझै फेला परेको छैन । फेला परेकै भोलिपल्टबाट काम सुरु हुनेछ,’ उनले भने । परियोजना सफल पार्न सरकारको सहयोग महत्वपूर्ण रहने कलाकार कट्टेलले बताए । ‘हाम्रो काम सफल पार्न सरकारको सहयोग रहनेमा हामी ढुक्क छौँ । यदि भएन भने पनि केही छैन । नागरिककै सहयोगबाट हामी परियोजना पूरा गर्नेछौँ,’ उनले भने । सबै नेपालीले दुई सय रुपैयाँका दरले सहयोग गरे परियोजना सफल हुने उनको दाबी छ ।

यसअघि फाउन्डेसनले सिन्धुपाल्चोकको गिरानचौर र महोत्तरीको बर्दिबासमा एकीकृत नमुना बस्ती निर्माण गरिसकेको छ । तर, यसपटक नमुना बस्ती नभई ‘नमुना नेपाल’ नै बनाउन लागेको कलाकार कट्टेलको भनाइ छ ।

अल्का अस्पतालको २५ लाख सहयोग
अल्का अस्पतालले धुर्मुस–सुन्तली फाउन्डेसनको तेस्रो परियोजना ‘नमुना नेपाल’ निर्माणमा २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । ‘नमुना नेपाल’ निर्माणको अवधारणा सार्वजनिक कार्यक्रममा अस्पतालका अध्यक्ष कुमार थापाले फाउन्डेसनलाई २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

नेपाललाई विश्वसामु चिनाउन धुर्मुस–सुन्तली फाउन्डेसनले सुरु गरेको परियोजनालाई सफल बनाउने अभियानअन्तर्गत अस्पतालले सहयोगको घोषणा गरेको उनले बताए । ‘विगतमा सामाजिक उत्तरदायित्वको क्षेत्रमा हामीले थुप्रै सहयोगका कार्यक्रम गरिसकेका छौँ । तर, नेपाललाई विश्वसामु चिनाएर समग्र नेपालीको शिर उचो पार्ने यस महान् अभियानलाई एक नेपालीका तर्फबाट सफल पार्ने प्रयासस्वरूप सहयोग गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने । अस्पतालले घोषणा गरेको रकम फाउन्डेसनले माग गरेलगत्तै प्रदान गरिने थापाले बताए । आजको नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij