४ जेठ, काठमाडौँ । अर्थमन्त्रालयले १० वटा नयाँ जीवन बिमा कम्पनीहरुलाई सञ्चालन अनुमति दिन बीमा समितिलाई स्वीकृति दिएको छ । बुधवार उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बीमा सम्बन्धी काम गर्ने १२ मध्ये १० जीवन बीमा कम्पनीलाई लाईसेन्स दिन बीमा समितिलाई स्वीकृति दिएका हुन् ।
बीमा समितिले सिटिजन लाइफ इन्स्योरेन्स, स्टार लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड, रिलायवल लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई लाईसेन्स दिने भएको हो ।
बिमा समितिमा अनुमती मागेका स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स र यूनिलाईफ लाइफ इन्स्योरेन्स कम्पनीलाई भने समितिले सिफारिश गरेको थिएन ।
नयाँ खुल्ने जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था रहेको छ । १० ओटा कम्पनीले लाईसेन्स पाएपछि अब नेपालमा जीवन बीमा कम्पनी १९ वटा पुगेका छन् । हाल ९ ओटा जीवन बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् ।
त्यस्तैगरी, बीमा समितिका अनुसार निर्जीवन बीमा कम्पनीतर्फ पनि ५ ओटा कम्पनीलाई लाईसेन्स दिने तयारी भइरहेको छ । उक्त कम्पनी संचालनमा आएसँगै निर्जीवन बीमा कम्पनीको सङ्ख्या पनि २२ पुग्ने छ ।