२६ वैशाख, काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड र ज्योति विकास बैंक लिमिटेडले वैशाख २८ गते (विहीबार) देखि हकप्रद सेयर निष्काशन गर्ने भएका छन् ।
फस्र्ट माइक्रोफाइनान्सले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । बैंकको हकप्रदमा चैत्र २९ गतेसम्म कायम सेयरधनीले जेठ ३१ गतेसम्म आवेदन दिन पाउनेछन् । माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा १३ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
हकप्रद निष्काशनका लागि बैंकले ग्लोबल आईएमई क्यापिटल लिमिटेडले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । हाल फस्र्ट माइक्रोफाइनान्सको चुक्तापुँजी २६ करोड ४५ लाख एक सय रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि माइक्रोफाइनान्सको चुक्तापुँजी ३९ करोड ६७ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
त्यस्तै, ज्योति विकास बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । बैंकको हकप्रद वैशाख १३ गतेसम्म कायम सेयरधनीले जेठ ३१ गतेसम्म भर्न पाउनेछन् ।
ज्योतिले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब १० करोड ४३ लाख १७ हजार एक सय रुपैयाँ बराबरको एक करोड १० लाख ४३ हजार एक सय ७१ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल र ज्योति विकास बैंकको केन्द्रिय कार्यालय र शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने बताइएको छ । हाल ज्योति विकास बैंकको चुक्तापुँजी एक अर्ब १० करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी दुई अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।