२०८३ साउन ९ शनिबार

सुनसरीका अधिकांश आयुर्वेद क्लिनिक अवैध

ई आर्थिक    मंगलबार, बैशाख २६ २०७४
42K
Shares
सुनसरीका अधिकांश आयुर्वेद क्लिनिक अवैध

२६ वैशाख, इनरुवा । सुनसरीका अधिकांश आयुर्वेद औषधि क्लिनिक कानुनी दायरामा नरहेको पाइएको छ ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेसहित जिल्ला आयुर्वेद केन्द्र इनरुवाका प्रमुख डा सूर्यनारायण मेहता र धरान आयुर्वेद केन्द्रका रामबाबु यादवलगायतको टोलीले सोमबार गरेको अनुगमनका क्रममा जिल्लाका अधिकांश आयुर्वेद औषधि क्लिनिक अवैधरुपमा सञ्चालन गरिरहेको पाइएको छ ।

आयुर्वेद औषधिको प्रयोग बढाउने सोचअनुरुप सरकारले पहल चालेपनि सञ्चालनमा रहेका जिल्लाका अधिकांश त्यस्ता क्लिनिक कानुनी दायरामा नरहेको पाइएको हो ।

सरकारी निकायको उदासीनताका साथै नियमित अनुगमन अभावमा मनोमानी ढङ्गले व्यवसायका रुपमा आयुर्वेद क्लिनिक जिल्लामा सञ्चालनमा रहेको स्थानीय तथा सरोकारवालाले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार गरेको अनुगमनका क्रममा धरान, इटहरीका क्षेत्रमा सञ्चालनमा रहेका आयुर्वेद क्लिनिकका साथै होमियोपेथिक औषधालय तथा क्लिनिक आवश्यक प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको फेला परेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।

दर्तासहितका आवश्यक प्रक्रिया पूरा नगरेको पाइएपछि धरानको फेन्दे हिमालयन सोरिग औषधालयलाई अनुगमन टोलीले स्वास्थ्य क्षेत्रमा खेलबाड नगर्न भन्दै तीन दिनभित्र पूर्णरुपमा कानुनी प्रक्रियामा आउन अल्टिमेटम दिएको छ ।

फेन्दे हिमालयनले औषधिमा मिति उल्लेख नगरी बिक्री गर्ने गरेको भेटाइएको थियो । टोलीले लाइफलाइन होमियो फार्मेसी क्लिनिक, स्पार्क फाइभ हस्पिटल प्रालि तथा विराट आयुर्वेदमा अनुगमन गरेको थियो । लाइफलाइनमा समेत कागजात फेला परेन भने स्पार्क फाइभ अन्यका तुलनामा केही व्यवस्थित पाइएको थियो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्याङ्कमा सुनसरीमा क्लिनिक तथा औषधालयका नाममा पाँचवटा मात्र स्वीकृति प्राप्त छन् जबकी जिल्लामा ४० भन्दा बढी आयुर्वेद औषधालय तथा क्लिनिक सञ्चालनमा रहेको जिल्ला आयुर्वेद केन्द्र, इनरुवाले जनाएको छ ।

होमियोपेथिक औषधालय तथा क्लिनिक समेत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत दर्ता रही सञ्चालन गरिनुपर्नेमा त्यसो नभएको पाइएपछि सुनसरी प्रशासनले सबैलाई कानुनी दायरामा आउन आग्रह गरेको छ ।

आयुर्वेद केन्द्रका डा सूर्यनारायण मेहताले प्रक्रियामा ल्याउने पहलस्वरुप अनुगमन थालिएको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले अनुगमन गरिएका मात्रै नभएर सञ्चारको माध्यमबाट जानकारी पाएका सम्बन्धित व्यवसायीले आवश्यक प्रक्रिया पूरा गरी मात्र व्यवसाय सञ्चालन गर्न पाउने बताउनुभयो ।

निरन्तर अघि बढाइने अनुगमनका क्रममा अटेर गरेको पाइए प्रचलित ऐनअनुरुप कारबाही प्रक्रिया अघि बढाइने न्यौपानेको भनाइ छ ।

सर्वसाधारणमा आयुर्वेदतर्फको आकर्षण बढाउन र भरपर्दो सेवा प्रवाहका लागि समेत सचेतना तथा निरन्तर अनुगमनको खाँचो रहेको सहायक प्रजिअ न्यौपानेको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij