२२ वैशाख, काठमाडौँ । विश्व चर्चित फुटबलर लियोनल मेस्सीले आफ्नो लोक कल्याणकारी संस्था ‘मेस्सी फाउन्डेसन’ मार्फत भूकम्पले ढलेका स्वास्थ्य संस्था ठड्याउँदैछन् । मेस्सी फाउण्डेसनको सहयोगमा युनिसेफ नेपालले भूकम्प प्रभावित १४ जिल्लाका ७४ वटा स्वास्थ्य संस्था बनाइरहेको छ ।
युनिसेफलाई स्वास्थ्य संस्था पुनर्निर्माणका लागि विभिन्न दातृ निकायले सहयोग गर्दै आएको छ । जसमध्य मेस्सी फाउण्डेसन पनि एक हो । मेस्सी फाउण्डेसनलाई अर्जेन्टिनाका चर्चित फुटबलर लियोनल मेस्सीले सन् २००७ मा स्थापना गरेका हुन् । उनी हाल बार्सिलोनाका तर्फबाट फुटबल खेल्छन् । उनी सन् २०१० मा युनिसेफका ब्राण्ड एम्बास्डर नियुक्त गरिएका थिए ।
स्वास्थ्य मन्त्रालयले मेस्सी फाउण्डेनको संलग्नताबारे केही बताएको छैन । यद्यपी, मेस्सी फाउण्डेसनका सञ्चालक लियोनल मेस्सीले भने नेपालका भूकम्प प्रभावित क्षेत्रमा युनिसेफसित मिलेर स्वास्थ्य संस्था निर्माण गरेको देख्दा खुशी लागेको बताएका छन् । उनले गत मार्च २२ मा फेसबुक स्टाटसमार्फत उक्त प्रोजेक्ट अगाडि बढेकोमा खुशी प्रकट गरेका छन् ।

आउँदो असार मसान्तभित्रमा स्वास्थ्य संस्था पुनर्निर्माणको काम सम्पन्न गर्ने लक्ष्यसहित युनिसेफले कुल २२ करोड रुपैयाँ लागतमा भूकम्पद्वारा पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य संस्था निर्माणको कामलाई अगाडि बढाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य संस्था पुनर्निर्माण गरिने जिल्लाहरुमध्य काभ्रेमा १०, नुवाकोटमा ७, धादिङमा ४, दोलखामा ११, रामेछापमा १३, ओखलढुंगामा ६, गोरखामा, १२, सोलुखुम्बुमा ९ तथा ललितपुरमा २ रहेका छन् । त्यसमध्य ४० स्वास्थ्य संस्थाहरुमा पुनर्निर्माणको काम सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्री-फ्याब प्रणालीमा आधारित भूकम्प प्रतिरोधात्मक तथा बालमैत्री उक्त भवनमा चीनबाट आयातित उच्च गुणस्तरीय सामाग्रीहरु प्रयोग गरिएका छन् । विभिन्न सुविधायुक्त ती भवनहरुमा स्वास्थ्य संस्था सञ्चालनका लागि आवश्यक पर्ने सबै भौतिक पूर्वाधार सामाग्री तथा आवश्यक सबै उपकरण युनिसेफले नै उपलब्ध गराउने जनाएको छ ।