काठमाडाैं । जेठ १२ गतेबाट देशभरका हलमा एकसाथ रिलिज हुन लागेको प्रतिक्षित चलचित्र ‘पर्व’को ट्रेलरले अहिले युटुबमा हंगामा मच्चाएको छ । युटुबमा अहिले १ कराेड जतिले काले दाइ गीतकाे भिडियाे हेरिसकेका छन् । पर्व ट्रेलर सार्वजनिक भएको २ दिनपछि चलचित्रको ट्रेलरले नेपाल ट्रेन्डिङमा नम्बर १ को स्थान कब्जा गर्न समेत सफल भएको छ । यसको चर्चासँगै पर्व चलचित्र नम्बर १ नेपाली चलचित्र बन्ने अनुमान लगाउन थालिएको छ ।
यो चलचित्रको निर्माणसँगै नेपाली चलचित्र पनि स्तरीय बन्न थालेको चर्चा समेत बजारमा चल्न थालेको छ । यतिवेला पर्वले नेपाली चलचित्रको स्तरियताको सीमालाई उचाईमा पु¥याउने विश्वास समेत गर्न थालिएको छ । यसको कथाबस्तु, संयोजन, निर्देशन जस्ता कुराहरुमा समेत विशेष मेहनत गरिएको छ ।
पर्व चलचित्र पछिल्लो समयमा बनेका नेपाली चलचित्र मध्ये सबै भन्दा बढी व्यापार गर्ने चलचित्र बन्ने चर्चा समेत चलचित्र क्षेत्रले चल्न थालेको छ । पर्वको निर्देशन दिनेश राउतले गर्नुभएको छ । उहाँले यो सँगै नमेम्बर रेन, क्लासिक, आईएम सरी लगायत आधा दर्जन बढी चलचित्रको सफल निर्देशन गरिसक्नु भएको छ ।

‘नेपाल ट्रेन्डिङमा नम्बर १ को स्थानमा पुग्दा खुशी त लागेको छ नै । मलाई त्यो भन्दा पनि दर्शकले दिनु भएको प्रतिक्रियाले अझ बढी उत्साह थपेको छ ।’ निर्देशक दिनेश राउतले भने– ‘म लगायत हाम्रो पुरै टिमले गरेको मेहनतलाई दर्शले मन पराइदिनु हुनेछ भन्ने आशा र विश्वास लिएको छु ।’
गोपकृष्ण टीभी फिल्मीको निर्माण र सुवास इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
सुवास गिरी र निकिता पौडेलले यो चलचित्रको निर्माण गरेका हुन् । चलचित्रको ट्रेलरमा प्रेम, रोमान्सको साथमा सस्पेन्सलाई महत्व दिइएको छ ।
चलचित्रमा समावेश ‘काले दाई काले दाई’ बोलको गीतले पनि युटुबमा लामो समयदेखि हंगामा मच्चाइरहेको छ । गीत र ट्रेलरबाट उत्कृष्ट प्रतिक्रिया आएपछि अहिले यसको निर्माण पक्ष उत्साहित देखिएको छ । यसैबिच मातातिर्थको अवसर पारेर चलचित्रको फस्टलुक पनि रिलिज गरिएको थियो ।