१९ वैशाख, बेइजिङ(चीन)। चीनको चाओयाङ जिल्लाको ‘सिदाओ होलिडे रिसोर्ट’ मा पार्किङस्थलमा रोकिराखेका करिब एक दर्जन पर्यटक बसमा रहस्यमयरुपमा आगलागी भएको यहाँका अधिकारीले जनाएका छन् ।
चीनको राजधानी बेइजिङबाट पूर्वमा रहेको उक्त होटल बाहिरको पार्किङस्थलमा रहेका पर्यटक बसमा सोमबार मध्याह्न आगलागी भएको बताइएको छ । बसमा लागेको आगो पूर्ण नियन्त्रणमा आइसकेको छ ।
बेइजिङ आगलागी नियन्त्रण विभागले आगलागीको सूचना पाएसँगै ५० दमकलसहित तालिम प्राप्त अग्नी नियन्त्रण अधिकारीका विभिन्न १२ समूहलाई घटनास्थल पठाएको थियो । घटनास्थल बेइजिङको अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलोमिटर टाढा पर्दछ ।
प्रत्यक्षदर्शीका अनुसार सुरुमा एउटा गाडीमा आगलागी भएको र सोही गाडीबाट फैलिएको आगोको मुस्लोले एकपछि अर्को गर्दै एक दर्जन गाडीमा पूर्णतया क्षति पुगेको थियो ।
रोकेको अवस्थामा आगलागी भएकोले घटनामा कसैको हताहती वा घाइते नभएको बताइएको छ ।
सिन्ह्वा न्युज एजेन्सीका अनुसार आगलागीपछि खिचिएका दृश्यचित्र, फोटोमा आगलागीपछि निस्किएको मुस्लो, विशाल ज्वालासहितका दृश्यहरु सामाजिक सञ्जालमार्फत् एकैछिनमा विश्वभर फैलिएका थिए ।
दृश्य अत्यन्तै डरलाग्दो थियो । यद्यपि घटनामा कुनै मानवीय क्षति भएको भने थाहा नभएको बेइजिङका एक व्यवसायी प्रत्यक्षदर्शी लिउ डोङले बताउनुभयो ।
घटना जानीजानी घटाइएको थियो वा अकस्मात कुनै प्राविधिक समस्याका कारण भएको थियो भन्ने विषयमा थप विवरण आइसकेको छैन ।