१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि आय व्ययसहितको बजेट सोमबार ४ बजे व्यवस्थापिका संसद्मा प्रस्तुत गर्ने भएको छ । जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार सरकारले सोमबार बजेट पेस गर्न लागेको हो ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका संसद्मा सोमबार ४ बजे सरकारको आगामी आर्थिक वर्षको आय व्यय प्रस्तुत गर्नुहुनेछ ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको लागि १२ खर्ब तीन अर्ब रुपियाँको सीमा तोकेको छ । यही सीमाभित्र रहेर सरकारले बजेट ल्याउने तयारी गरेको हो ।
नेपालको संविधान जारी भएपछिको यो दोस्रो बजेट हो । यस् पटकको बजेटमा नयाँ कार्यक्रमहरू नराखिने भनिए पनि सरकारले ७ सय ४४ स्थानीय तहलाई रकम विनियोजन गर्नुपर्ने र प्रदेश तथा सङ्घको निर्वाचनसमेत गर्नुपर्ने भएकाले चालू आवको भन्दा झण्डै २ खर्ब बढीे बजेट विनियोजन हुने बुझिएको छ । बजेटले संविधान कार्यान्वयन, निर्वाचन, ऊर्जा, पूर्वाधार, कृषि विकास, शिक्षा, स्वास्थ्य, गरिबी निवारणलगायत विषयलाई उच्च प्राथमिकतमा राखेर बजेट पेस गर्नेछ । गत वर्षको तुलनामा यो वर्ष स्थानीय तहमा अधिक रकम विनियोजन गरेर बजेट बनाइएको बताइएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले आइतबार नै चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरूको वार्षिक स्थितिको समीक्षा व्यवस्थापिका संसद्मा पेस गर्नुभएको थियो ।