१४ जेठ, काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले चुक्ता पूँजीको २० प्रतिशत अर्थात पाँच लाख ४० हजार कित्ता आइपीओ आइतबार (आज) देखि बिक्री खुला गरेको छ । छ्याङ्दीले बिक्री खुला गरेको सेयरमध्ये १० हजार ८ सय कित्ता सेयर कर्मचारीलाई छुट्याएको छ भने २७ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषलाई दिएको छ ।
आईपीओको बिक्री छिटोमा जेठ १८ गते र ढिलोमा जेठ २८ गते बन्द हुनेछ । कम्पनीको सेयरमा कम्तिमा ५० कित्तादेखि अधिकतम २७ सय कित्ता सम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
आईपीओका लागि आवेदन दिन चाहनेले छ्याङ्दी हाइड्रोपावर गौरीधारा, ग्लोबल आइएमई जमल, ग्लोबल आइएमई बैंकको शाखा कार्यालय क्रमशः वीरगंजको आदर्शनगर, कास्कीको न्युरोड, नेपालगंजको पुष्पलालचोक, मोरङको विराटनगर, बुटवलको मिलन चोक, धनगढीको कैलाली र कञ्चनपुरको महेन्द्रनगरबाट आवेदन दिन सकिने छ ।
काठमाडौं क्यापिटल मार्केट, प्रभु क्यापिटल कमलादी, जनरल फाइनान्सको काठमाडौंको न्यूरोड र चाबहिल शाखा कार्यालयमा पनि आवेदन भर्न र बुझाउन सकिने छ । सिभिल क्यापिटल कमलादी, भिबोर क्यापिटल पुल्चोक र आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन भर्न र बुझाउन सकिन्छ ।
रिलायबल क्यापिटल सुन्धारा, एनआइसी एसिया क्यापिटल बबरमहल, एनसीएम मर्चेन्ट कमलपोखरी, सानिमा क्यापिटल नक्सालमा पनि आवेदन भर्न र बुझाउन सकिन्छ ।
हाल कम्पनीको चुक्ता पूँजी रू. २१ करोड ६० लाख रहेको छ । आईपीओ जारी गरी बाँडफाँट गरे पश्चात चुक्ता पूँजी रू. २७ करोड पुग्नेछ ।