२०८३ साउन १० आइतबार

५० प्रतिशत सुन आयात गर्न पाउनुपर्ने व्यवसायीको माग

ई आर्थिक    शुक्रबार, बैशाख १५ २०७४
4.8K
Shares
५० प्रतिशत सुन आयात गर्न पाउनुपर्ने व्यवसायीको माग

१५ वैशाख, काठमाडौँ । नेपाल रत्न तथा आभूषण सङ्घले वर्तमान प्रतिस्पर्धात्मक युगमा वाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाउने व्यवस्थाले आफूहरुलाई मर्का परेको भन्दै नेपाल राष्ट्र बैंकले तोकेको सीमामध्ये ५० प्रतिशत सुन आयातको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

सङ्घको तेह्रौँ साधारण सभाबाट निर्वाचित नयाँ कार्यसमितिले बिहीबार साँझ यहाँ पत्रकारसम्मेलन गरेर त्यस्तो माग गरेको हो ।

नेपालमा निर्मित मौलिक एवम् कलात्मक गरगहना, बेलायत, अमेरिका, अस्ट्रेलियालगायत मुलुकमा निर्यात हुने गरेको जनाउँदै सङ्घका अध्यक्ष ज्योत्स्यना श्रेष्ठले कालिगढको पर्याप्त उपलब्धता नहुँदा आफूहरुलाई व्यवसाय सञ्चालन गर्न कठिन भएको बताउनुभयो ।

झन्डै रु पाँच करोडको गहगहना निर्यात हुँदै आएको जानकारी दिँदै उहाँले सरकारीस्तरबाट सहयोग भएमा निर्यातको प्रशस्त सम्भावना रहेकाले सङ्घका जायज माग सम्बोधन गर्न आग्रह गर्नुभयो ।

वैदेशिक रोजगारीमा जाने बढ्दोक्रमले स्वदेशी कालिगढबाट सेवा लिन कठिन भएको वास्तविकता औँल्याउँदै उहाँले रोजगारीका प्रशस्त अवसर स्वदेशमै सिर्जना गर्न सकिने बताउनुभयो ।

सो सङ्घको १८ सदस्यीय नवनिर्वाचित पदाधिकारीमा सुमनमान ताम्राकार प्रथम उपाध्यक्ष, नरेन्द्रकुमार गुप्ता द्वितीय उपाध्यक्ष, शक्तिकुमार बेगानी महासचिव, जयकुमार पाण्डे सचिव र ऋषि ठाकुर कोषाध्यक्ष हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij