कुमार सिंह कार्की
“त्रियुगा वचाऊ अभियान” आफैमा एउटा चुनौतिपूर्ण तथा पेचिलो अभियानको रुपमा रहेको जटिल विषय बस्तु हो । हरेक बस्तुलाई जटिलताको आधारमा हेर्ने हो भने समस्या समस्यै रही रहने समाधानको खोजी तर्फ कसैको ध्यान नजाने जस्ता विषयले समस्या झन विकराल हुँदै जाने हुँदा समस्या समाधानको निमित्त केही हद सम्म भए पनि प्रयास आवश्यक छ भन्ने मनसायबाट २०७० मार्ग १७ गते जिल्ला वन कार्यालय उदयपुरको प्राङ्गणमा भएको सार्वजनिक वहसले एउटा गति लिएको छ । अभियानलाई बृहतर रुपमा अगाडि बढाउन शुरुआत गरिनु पर्छ भन्ने सकारात्मक दृष्टिकोणका साथ आवाज नेपाल उदयपुरका विमल कार्की शुसासनका हिमायति भरत खड्का र बुद्धिजिवीका तर्फबाट वलराम दवाडीले प्रस्तुत गर्नु भएको अवधारणा पत्र र जिल्ला वन अधिकृत किशोर चन्द्र गौतमद्वारा प्रस्तुत प्राविधिक अवधारणा पत्रे जि. भू–संरक्षण कार्यालयका तत्कालिन प्रमुख सूर्य नारायण चौधरीबाट प्रस्तुत दृष्टिकोणले वहसलाई सरोकार समूह समक्ष व्यापक वहस गराउन सफल भएको छ भन्ने यस पछि यसका अभियन्ताहरुको ४ पटक सम्म बैठक सम्पन्न गर्ने कार्य भएको छ ।
अव शिर्षकमा उल्लेखित विषयको सार वस्तु वारे चर्चा गर्नु नै पर्ने हुन्छ । त्रियुगा नदीको मुहान रौताहा पोखरी जस्लाइ उदयपुरको धार्मिक तथा साँस्कृतिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ जहाँ देखि चुरे तर्फवाट बहने चौधवटा खहरेहरु क्रमसः माटीखौवा, जलजले, मोहनपुर, देउरी, फर्सेट, ठाडी, लुवाले, बविया, कङ्ग, बाहुना, अधेरी, हडियाखोला, छिडीखोला, सिवाईखोला र घेरखोला यी खोलाहरुका घटिमा २ देखी बढिमा १५ वटा सम्म खोल्सी तथा साहयक खहरेहरु मिलेर माथिका खोलाहरु बनेका छन् । जस मध्ये देउरी ठाडी, लुवाले, कङ्ग, हडिया र सिवाई खोलाको जंगल तर्फ बाह्रैमास पानि बगिरहने श्रोतहरु छन् जसलाई जलासय तथा सिमसारको विकास गरी लघु विद्युत एंव सिंचाई लगाएत आय आर्जनका निमित्त विविध उपायहरु अवलम्वन गर्न सकिनेछ । यसै गरी महाभारत पहाड तर्फवाट बग्ने खोलाहरु अधेरी बरुवा, भडारजोर, घोरमोहना, खैराहा, देवधार, भिमा, द्धार खोला लाटिखोला लामोखोला र कालीखोला त्रियूगा नदिमा मिसिने खोेलाहरु हुन भने गिदेरी सिसुवा र सेतिखोला यी खोलाहरु सिधै सप्तकोशीको वहाव क्षेत्रमा मिल्न पुग्दछन् ।सप्तकोशीको संगम स्थल सम्मको भूभाग पछिल्ला कालहरुमा धेरै क्षय भएर गएको छ ।
हजारौं विगहा उर्वर जमिन बलौट मैदानमा परिणत भएको छ । चुरे श्रृंखलाहरु भूस्खलन भएर जमिन क्षय भएको छ । ४, ५ दशक अगाडि त्रियुगा नदीको किनारामा रहेका हजारौ विगहा जमिन बलौटे मैदानमा परिणत भएको छ । अभियानको अभियन्ता समाज सेवी वीरेन्द्र बस्नेत विगतलाई कोट्याउँदै बुढा पुरानाका जनजिव्रोका बोली उदिृत गर्दै भन्नु हुन्छ कुनै एकताका भोर्लाको लहरामा चढेर पिङ खेल्दा वारीबाट पारीको किनारामा तर्न सकिने त्रियुगा आज साँगुरो भनिने ठाउँमा पनि कम्तिमा आधा किलोमिटर भन्दा फराकिलो बलौटे मैदान भएको छ । त्रियुगा सँग जोडिन आउने महाभारत र चुरे श्रृंखलाबाट वगेर आउने खहरेलाई आजकै अवस्थामा छोडी दिने हो र कही कतैबाट थालनीको प्रयास नगरिने हो भने त्रियुगाको भविष्य मरुभूमिका कारण अन्धकारमय हुन्छ भन्दा अत्युक्ति हँुदैन । समग्र जलाधार क्षेत्र भावि दिनमा वलौटे मैदानमा परिणत नहोला भन्न सकिन्न यसर्थ पनि त्रियुगा बचाऊ अभियान अत्यन्त पेचिलो छ । तापनि समय सापेक्ष विषय बनेको छ ।

चुनैतिहरु भन्दा पनि सम्भावना ज्यादा रहेको यो उपत्यका जस्तै तावा, वैजनाथ उपत्यकाको हाल पनि यस्तै छ तर । क्षतिको हिसावले हेर्ने हो भने त्रियुगा नगरपालिका लगायत अन्य हरु त्रियुगा र यसमा मिसिन आउने सहायक खोला खहरेहरु वर्षाकालका दुःखद कथाहरु बोकेर आउँछन् । गाृउँ, वस्ति, संघ संस्था, विद्यालय जस्ता क्षेत्रहरुलाई समेत प्रभाव र प्रवाह भित्र पारेर वग्ने यी नद नदीहरु मानव जगतमा आँसु वनेर वग्ने गर्छन् भन्दा फरक परोइन । नदी खहरेहरु यो विकराल रुपले गाउँ बस्तीलाई आतन्कीत बनाउने गरेको छ । अव्यवस्थित वसोवास, बसाई सराई, वन पैदावारको अत्यधिक दोहन, अव्यवस्थित चरिचरण जस्ता कारणहरुले जमिन मरुभूमिकरण हुन पुगेको अवस्था छ । यति मात्र होइन । पानीका मुहानहरु सुक्न गएका छन् ।
सिम्सार क्षेत्रहरु लोप भएर गएका कारण जंगली पशु पक्षीहरु समेत लोप भएर गएका छन् । हुँदा हुँदै जलवायुमा परिवर्तन भएको कारण मौसम परिवर्तन भएको छ । सुख्खा खडेरी अनावृष्टि एवम यदा कदा हुने अति वृष्टिका कारण अति उर्वर भूमि लगायत गाउँ वस्तिलाई समेत आतंकित बनाउने गरेको छ । उत्तर तर्फ महाभारत श्रृंखलाको हरियो पाटो र दक्षिण तर्फ रहेको चुरे क्षेत्रको हरियो पाटो दिन दिनै खिइदै गई रहेको छ । नदी तथा खहरेका कारण विस्थापन हुन पुगेका मानिसहरुले आफ्नो घर गोठ तथा पशु पंक्षी वचाउन समेत वन क्षेत्र भित्र पस्नु पर्ने वाध्यताकाकारण वन सम्बन्धी कानूनले समेत मौनता साँध्नु बाहेक अन्य विकल्प देखिदैन । राज्यले पनि यस्ता दैविप्रकोप पिडितहरुलाई वासका निम्ति अन्य बैकल्पिक व्यवस्था गर्न सकेको अवस्था छैन । सामुदायिक वन उपभोक्ता समितिहरुको तर्फबाट पनि वन संरक्षण र संवर्धन भन्दा ज्यादा उपभोग र उपयोग मात्र गर्ने प्राकृतिक दोहन मात्र गर्ने एउटा रुख काट्दा अर्को एउटा रोप्नु पर्छ भन्ने धारणा जन्मन नसक्नुका कारण वनको क्षति भएको छ । भूक्षयबाट जमिन दिन पर दिन मरुभूमि वन्दै गईरहेको छ र वढ्दो क्रममा रहेको छ । यही क्रम जारी रहने हो संरक्षण र सम्बर्धनको उपाय अवलम्बन नगरिने हो भने भावि पुस्ताले हिजो र आजको हरियो वन सम्बन्धमा दन्त्यकथा तथा किंवदन्तिको रुपमा कथा मात्र सुन्न पाउने छन् ।
माथि विश्लेषित अवस्थाबाट वच्न सबै सरोकार समूह “स्थानीय जनसमूदाय, वन उपभोक्त समूह, वालवालिका, युवा तथा महिला समूहहरु, वन कार्यालय, भू तथा जलाधार संरक्षण उपभोक्ता समूह, विकास निर्माणका निमित्त गठित समितिहरु, गैर सरकारी संघ संस्थाहरु, नागरिक समाज, स्थानीय निकाय, जि. वि. स., नगरपालिका, गा. वि. स., जल उत्पन्न प्रकोप, सिचाई, भूसंरक्षण, वन कार्यालयका विभिन्न इकाइहरु, वातावरण विद्हरु, जग्गाधनीहरु, शिक्षक, विद्यार्थी, शैक्षिक संस्थाहरु, विद्यालय महा विद्यालयहरु, अन्य जनसरोकार र संरक्षण क्षेत्रका स्थानीय संघ संस्थाहरु” प्रभाव तथा प्रवाह क्षेत्र भित्र वसोवास तथा खेती गर्ने सम्पूर्ण जनसाधारणहरु सचेत भएमा मात्र वातावरण जोगाउन जमीनलाई मरुभूमिकरणबाट वचाउन हरित भूमि निर्माण गर्न सम्भव हुनेछ ।
के वचाउनका निम्ति प्रयासै नभएका हुन त त्यसो भने पक्कै होइन । स्थानीय निकाय गा. वि. स. नगरपालिका, जि. वि. स. तथा अन्य संस्थाहरु चुरे वन विकास परियोजना जल उत्पन्न प्रकोप सिचाई जस्ता दातृ संस्थाहरुको समेत यस क्षेत्रमा गरिएको प्रयास सराहनीय भएता पनि पूर्ण रुपेण फलदायी हुन सकेको अवस्था भने रहेको देखिदैन । यसको मूलकारण भने सिर तर्फ देखि नै कार्यक्रमको थालनी नभएर प्रकोप क्षेत्र गाउँ, वस्ति, खेती जोगाउन मात्र प्रयास गरियो । वालुवालाई सीर तर्फ नै रोक्ने खाले जैविक बाँध ठाउँ ठाउँमा गल्छी नियन्त्रण गर्ने काम भएको भए यति धेरै क्षति व्यहोर्नु पर्ने थिएन होला भन्न सकिन्छ । खोला नियन्त्रण, चरिचरण तथा चोरी तस्करी जस्ता कार्यबाट प्रभावकारी ढंगले रोकथाम गर्न सकिएन कि भन्ने लाग्छ ।
यस कार्यका लागि तत्कालिन रुपमा ४ खाले योजना सहितको कार्यक्रमको थालनी गर्नु पर्ने हुन्छ ।
(क) अल्पकालिन
(ख) आपतकालिन
(ग) दीर्घकालिन
(घ) समन्यय सहकार्य र सहभागिता
(क) आल्पकालिनः–
अल्पकालिन कार्यक्रम भित्र खहरे तथा नदी किनारामा उम्रेको काँस कुस जस्ता वस्तुहरुको संरक्षण जैविक बाँध (वाँस, अम्लिसो, सिमाली) जस्ता जैविक वस्तुहरु लगाउने र लगाएका वस्तुहरुको संरक्षणको निमित्त चेतना जागरणका निमित्त अभियान सञ्चालन गर्ने चरिचरणलाई पूर्ण रुपेण नियन्त्रण गर्ने, डढेलो लाग्नबाट बचाउने प्रकृतिक रुपमा प्राप्त जमिनमा उम्रिएका बोट विरुवाहरु (साल तथा अन्य काठका विरुवा) लाई वचाउन प्रयत्न गर्ने खाली पर्ति जमिनहरुमा जडिवुटी तथा अन्य जैविक खेतीलाई प्रोत्साहित गर्ने यस्तो क्षेत्रलाई स्थानीय समुदाय तथा समूहलाई संरक्षण संवर्धनका जिम्मा दिने सो गरे वापत केही सुविधाहरु प्रदान गर्ने नीति अवलम्बन गर्नु पर्ने। इन्धन जन्य वस्तुहरु काठ दाउराको सकेसम्म कम उपयोग गर्न वायो ग्यास प्लान्ट, विकेट निर्माण, सुधारिएको धुवाँ रहित चुलो जस्ता वैकल्पिक इन्धनको व्यवस्था गर्न प्रेरित गर्ने । डाँले घाँस आफ्नै वारी खेतका कान्लामा लगाउन प्रेरित गर्ने जसबाट घाँस र दाउरा दुवैको काम लिन सकियोस, जस्ता नीति निर्माण गर्नु पर्ने नदी तथा खहरे किनारामा रहेका वगरहरुको संरक्षण सँगै आय आर्जनका निमित्त वगर खेतीको अभियान चलाई किनारा बचाउ अभियानमा उत्प्रेरित गर्ने जस्ता कार्यले बचाउ अभियानलाई मद्दत पुग्दछ ।
(ख) आपतकालिन :–
यथास्थितिमा रहेका नदी खहरेका किनारा कटान तथा वालुवा पुर्ने जस्ता क्षतिबाट तत्काल राहत पाउन किनारा बाँध तथा वर्षाकाल भरिमात्र भए पनि जोगाउन स्थानीय सहभागिता सहितको जोडकोषको व्यवस्था गरी आपतकालिन कोषको स्थापना गरी राहत प्रदान गर्न सकेमा तत्कालिन पिडा शान्त गर्ने अवस्था सिर्जना गर्न सकिने सम्भावना छ । (बाँसको ठोकुवा टाट, बाँसको स्पर र दातृ निकाय सँग समन्वय गरी जोखिम न्यूनिकरण गर्न समन्वय र सहकार्य गर्ने)
(ग) दीर्घकालिन योजनाः–
“रोग लाग्नु अगावै रोगको बाटो छेक्नु जाति” भन्ने उखानलाई आत्मसात गर्दै चुहान तर्फ होइन खोलाको मुहान तथा शिर तर्फ बाट नै रोकथामको प्रयास गर्नु आवश्यक छ यदि विगत देखि नै यसो भै दिएको भए हाल सम्म धेरै क्षति कम हुने थियो होला कल्पना गर्न सकिने विषय हो जस्तो लाग्छ । मध्य र अन्त्य तथा खेती बस्ति बचाउन मात्र गरिने प्रयास दीगो छैन । यो अनुभवजन्य विषय हो । कतिपय बाँधहरु या त वालुवा भित्र पुरिएर रहेका छन् भने कति पय बाँधहरु खोलाले वगाएर लगेको अवस्था पनि ‘आँखो देखा हाल’ भने झै भएको छ । यसको विकल्पमा मुहान देखिबाट शुरु भएको भए निर्माण गर्न, वालुवा रोक्न, गल्छी तथा पहिरो नियन्त्रण गर्न सजिलो हुनेछ । सीर तर्फ खहरे तथा नदीका थुप्रै साना साना सहायक खहरे र सहायक नदीहरुको नियन्त्रण हुँदै आउने हुँदा दीर्घ कालिन विकास हुन सक्ने सम्भावना छ । यसको अतिरिक्त जनताको बाँध जस्ता किनारा बाँध बाँध्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकाय सँग सहयोग जुटाई किनारा बाँध्ने कुरा त छदैछ बाँधबाट उक्सेको जग्गामा जैविक बाँधको रुपमा बृक्षारोपन गर्ने जस्ता कार्यहरु गरी दीगो नियन्त्रण तथा दीर्घकालिन योजनाका साथ अघि वढ्नु पर्छ भन्ने मान्यताका साथ अघि वढेमा त्रियुगालाई विगत कै अवस्थामा पर्याउन सकिएला कि सबै सरोकारवालाहरुको यता तर्फ चासो हुन जरुरी छ ।
(घ) समन्वय सहकार्य र सहभागिता एवं एकिकृत प्रयास..
पूर्वधार विकासका साझेदारहरु जि वि स, गा वि स, जिल्ला भू संरक्षण, जल उत्पन्न प्रकोप, रेडक्रस तथा यस्तै अन्य संघ सँस्थाहरुबाट.नदी नियन्त्रण तथा तटबन्ध निर्माणमा सालवसाली कार्यक्रम सन्चालन भै रहन्छन तर यसलाई एकल ढंगले भन्दा एकिकृत रुपममा जनसाधारण सहितको सहभागीता र दातृ निकाय वीच सहकार्य तथा सहभागिता बाट एकिकृत प्रयास भए अरु फलदायी हुने थियो भन्ने आशा गर्न सकिन्छ
हाल सम्म भए गरेका प्रयासहरु
२०७० मार्ग १७ गते जिल्ला वन कार्यालयको प्राङगनमा सार्वजनिक वहस पश्चात हाल सम्म ३ वटा वैठक सम्पन्न
- मोरङको राजघाट र इटहरा क्षेत्रमा स्थानीय श्रोत साधन प्रयोगका साथ स्थानीय श्रमबाट निर्मित जनताको हरीयो वाँध अवलोकन ।
- जागीदह गा वि स पुरै र हँडिया गा वि स को केही क्षेत्र चरिचरण निषेधित क्षेत्रको घोषणा
- खोला तथा खहरेका किनारहरुमा वृक्षारोपण त्रि.ज.व. क्याम्पस मोतिगडाको सडक किनारामा हडिया ५ मा रहेको आर्यघाटमा बनेको विश्राम गृहको खाता भित्र र त्रि.न.पा. शान्तिधाममा बृक्षारोपण गरिएकोछ ।
- विधान निर्माण र दर्ता
कार्यक्रमलाइ सहयोग
जिल्ला विकास समिति जिल्ला वन कार्यालय त्री न पा हँडिया जोगिदह गा वि स लगायत पेसोक नेपाल जस्ता क्षेत्रले आर्थिक तथा प्राविधिक एवं विरुवा उपलव्ध गराएको छ ।
भावि कार्यक्रम
- स्थानीय जन सहभागिता जुटाउन जनचेतना अभिवृद्यि
- खोला खहरे एवं त्रियुगाको किनारामा नदी उककास भएको जमिनको सर्भेक्षण पश्चात नम्वरी तथा पर्ति जगाहरु स्थानीय उपभोक्ताहरुले उपयोग गर्न पाउने गरी र्वक्षारोपनका लागि हस्तान्तरण को लागि सहयोग
- खुल्ला चरिचरन निषेधित क्षेत्र घोषणा तथा डढेलो नियन्त्रणकालागि स्थानीय सहभागितात्मक कार्यक्रम परिचालन
- खोला तथा खहरे किनारामा उम्रेका काँस कुश तथा अन्य विरुवाको संरक्षण
- वृक्षारोपण (डाले घाँस अन्य वन विरुवा )
- दातृ निकाय तथा संस्थाहरु संग समन्वय तथा सहकार्यकालागि हातेमालो
- सामुदायिक वन तथा राष्ट्रीय वन क्षेत्रमा रहेका जैविक जडिवुटीहरुको पहिचान एवं संरक्षण
- इन्धन (दाउरा )को खपत कम गर्न वायो ग्याँस प्लान्ट निर्माण तथा विकेट निर्माणमा जोड
- सिमसार ताल पोखरीका सम्भावनाका क्षेत्रको खोजी संरक्षण र विकास
- जिल्ला विकास लगायत स्थानिय निकायहरु विच समन्वय र सहकार्य एकिकृत प्रयास
- उच्च मा.वि. अध्यानरत विद्यार्थिहरु विच एक विद्यार्थी, एक अमला को बृक्ष बृक्षारोपण २०७४ मा गरीने कार्यक्रम गरीने ।
तत्कालकोे यो अवधारणा प्रस्ताव परिकल्पनाको रुपमा उदयपुरका त्रीयुगा जलाधार क्षेत्रसँग मात्र सिमित देखिएता पनि यस्को कार्यान्ययन हुन सकेमा कालान्तरमा पुर्वमा काोशी देखि पीश्चमको अत्तरिया सम्मका चुरे पर्वत श्रृंखलाबाट वहने नदी र त्यस्ता जलाधार क्षेत्रका सहायक खहरे नियन्त्रणका लागि कोशे ढुंगा साबित हुनेमा शंका रहन्न ।
( कार्की त्रियुगा वचाऊ अभियान समितिको तर्फबाट अध्यक्ष हुनुहुन्छ ।)