२०८३ साउन ११ सोमबार

गुण्डा नाइके दावा लामामाथि गौरीघाटमा यसरी हानियो गोली, को हुन् दावा लामा ?

ई आर्थिक    मंगलबार, चैत्र २९ २०७३
5.9K
Shares
गुण्डा नाइके दावा लामामाथि गौरीघाटमा यसरी हानियो गोली, को हुन् दावा लामा ?

२९ चैत, काठमाडौं । गुण्डा नाइके दावा लामामाथि गोली प्रहार भएको छ ।

अज्ञात समूहबाट उनीमाथि काठमाडौंको गौरीघाटमा गोली प्रहार भएको हो । उनलाई दुई गोली लागेको प्रहरीको भनाइ छ । घाइते लामाको अत्तरखेल अस्पतालमा उपचार भइरहेको छ ।

गोलीकाण्डबारे अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंका एसपी प्रद्य‍‌ुन्न कार्कीले बताए । लामा गुण्डागर्दी गैरकानुनी गतिविधि गर्दै अाएका छन् ।

को हुन् दावा?
कुनै बेला गणेश लामाको सहयोगी रहेका दावालामाले पछिल्लो समय आफ्नै ग्याङ खडा गरेका छन्। काभ्रेली समूहका नाममा उनले अपहरण, जबरजस्ती चन्दा असुली लागुऔषधदेखि ज्यान मार्ने उद्योगसमेत गर्ने गरेको प्रहरीले जनाएको छ।

प्रहरीको सूचीमा दावा लामा अपराधिक गतिबिधिका पटके गुण्डा हुन् । करीव एक वर्षअघिमात्र उनले जेलबाट छुटेर फेरि गुण्डाराज चलाउन थालेका थिए । यसबीचमा उनले अरु सबै व्यवसाय छाडेर क्यासिनोमा मिटर ब्याजमा पैसा लगाउने व्यवसाय चलाएका थिए । काभ्रेपलाञ्चोक जिल्लाको साबिक भुम्लुटार गाविसका दावा शुरुमा खुकुरी काजीको नामले चर्चित गुण्डा नाइके काजी शेर्पा र प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटेमार्फत गुण्डागर्दीको दुनियामा प्रवेश गरेको उनलाई चिन्नेहरु बताउँछन् ।

अपराधको दुनियाँमा प्रवेश गरेको केही समयमै चर्चा कमाउन थालेका दावाले घैंटेसँग कुरा नमिलेपछि उमेश लामासँग निकटता बनाए । उमेश लामा अर्का गुण्डा नाइके गणेश लामाको काभ्रेली समूहका हर्ताकर्ता हुन् । उमेशमार्फत काभ्रेली समूहमा लागेका दावाको सम्बन्ध त्यहाँ पनि धेरै लामो समय रहन सकेन । उमेशसँग सम्बन्ध बिग्रेपछि उनले आफ्नै समूह खडा गरेको प्रहरी स्रोतले जनाएको छ । उनको समूहमा अभिमानसिंह बस्नेत, प्रविण कुँवर, प्रेम ठकुरी लगायतका गुण्डा नाइकेहरु सामेल भए । उनीहरुले क्यासिनोमा मिटर ब्याज चलाउन थालेको धेरै भएको छैन ।

यसअघि देखाउनका लागि रेष्टुरेन्ट व्यवसाय पनि चलाएका दावाले मिटरब्याजबाट करोडौं कमाउन थालेपछि रेष्टुरेन्ट बन्द गरे । प्रहरीका केही उच्च अधिकारीहरुको पैसा पनि उनले मिटर ब्याजमा लगाइदिने गरेको स्रोतले जनाएको छ ।

पछिल्लो समय उनी दोस्रो संविधानसभा चुनावअघि तीर्थ लामा मार्फत कांग्रेसमा प्रवेश गरे । गत तिहारमा सर्बोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमसेर जबराका भाइको घरमा जुवा खेल्ने क्रममा पनि उनले काभ्रे पनौतिका एक जुवाडेमाथि सांघातिक हमला गरेका थिए ।

राजनीतिक पहुँचका कारण मेलमिलापमा सो प्रकरण टुंग्याइएको स्रोतले जनाएको छ । मदिरा सेवन गरेपछि झगडा गर्ने स्वभावका कारण उनी पटकपटक बिभिन्न काण्डमा मुछिने गरेको निकटस्थहरु बताउछन् ।

मास्कधारीले दावामाथि यसरी हाने गोली

नियमित एक्सरसाइजका लागि कालो हाफपेन्ट लगाएका दावा दायाँ काँधमा झोला भिरेर पार्टी प्यालेसतिर आइरहेका थिए ।

बाग्मती किनारको सडकसँगै जोडिएको पार्टी प्यालेसको गेटबाट भित्र छिरुन्जेलसम्म उनी आफ्नै सुरमा आइरहन्छन्। तर उनको पछाडि पिछा गरिरहेका मास्कधारी युवकमाथि उनलाई कुनै वास्ता हुँदैन।

जब दावा गेटबाट भित्र छिर्छन्, उनलाई पछ्याउँदै आएका युवकले आफ्नो झोलाबाट पेस्तोल निकाल्छन्। र, ताकेरै तीनचोटि प्रहार गर्छन् ।गोली हान्दै अघि बढेका युवक गेटभित्रै पुग्छन् र लगत्तै फर्किएर कुलेलाम ठोक्छन्।

सेतो मास्क, कालो चस्मा र क्याप लगाएका व्यक्तिको गोली प्रहारबाट दवा अगाडि हुत्तिएर ढल्न पुग्छन् । पछि जिमखानामै रहेका एक ब्यक्तिले दवालाई उठाएर हस्पिटल लगे । गोली हान्ने युवक भने कुद्दै बौद्धतिर भागे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij