जगत मान महर्जन
कार्यकारी अध्यक्ष
स्वागतम् बचत तथा ऋण सहकारी संस्था लि.
उपाध्यक्ष
ललितपुर बचत तथा ऋण सहकारी संघ लिमिटेड
जगत मान महर्जन ललितपुर सहकारी अभियानका अगुवा हुनुहुन्छ । उहाँ ललितपुरको बचत तथा ऋण सहकारी (साकोस) अभियानमा विगत लामो समय देखि सक्रिय हुनुहुन्छ । उहाँ ललितपुरको सुनाकोठी-५ स्थित, सहकारी चोकमा रहेको स्वागतम बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुनुहुन्छ । साकोसका साथै समग्र सहकारी अभियानका हरेक गतिविधिमा सक्रिय उहाँ ललितपुर बचत तथा ऋण सहकारी संघ लि.को उपाध्यक्ष पनि हुनुहुन्छ । उहाँ अध्यक्ष रहेको स्वागतम साकोस र सहकारी अभियानको बारेमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
स्वागतम् बचत तथा ऋण सहकारी संस्था स्थापना भएको कति भयो ? संस्थाले हालसम्म गरेको प्रगतिको मूल्यांकन कसरी गर्नुहुन्छ ?
२०६६ असोज २ गते स्वागतम् साकोसको विधिवत रुपमा ललितपुर डिभिजन सहकारी कार्यालयमा दर्ता भएको भएको हो । संस्थाले हालसम्म राम्रो प्रगति गर्दै अगाडि बढिरहेको छ । समूदायप्रति पूर्ण समर्पित हुदै स्वागतम् द्वार निर्माण, पार्क निर्माण, विभिन्न स्वास्थ्य क्याम्पहरु, छात्राबृति कार्यक्रमहरु, बृक्षरोपण र सम्पूर्ण सदस्यहरुको जीवनयापनमा सहजता ल्याउन यस संस्था सफल भएको छ ।
संस्थामा सेयरधनीको संख्या र सेयर पूँजी कति रहेको छ ? यो संख्या बृद्धि गर्ने सम्बन्धमा संस्थाको के कस्तो सोचाई रहेको छ ?
संस्थामा सेयर सदस्य संख्या ११३१ पुगेको छ भने सेयर पूँजी रकम ९३ लाख ७५ हजार रहेको छ भने संख्यामा बृद्धि गर्न सम्पूर्ण आबद्ध हुन चाहने सदस्यहरुलाई सहकारी सचेतना शिक्षा र तालिम दिई मात्र सदस्य बनाउने गरेका छौं ।
संस्थामा निक्षेप संकलन र कर्जा लगानीको अवस्था कस्तो छ ?
संस्थामा निक्षेप संकलन ७ करोडको हाराहारीमा छ भने कर्जा लगानीको अवस्था सन्तोषजनकरुपमा रहेको छ । अनुत्पादन क्षेत्रमा मात्र लगानी नगरीकन संस्थाले विभिन्न उत्पादनमूलक क्षेत्रमा पनि लगानी गर्दै आइरहेको छ ।
संस्थाले कर्जा लगानीको लागि कस्तो क्षेत्रलाई प्राथमिकता दिएको छ ? असूलीको अवस्था कस्तो छ ?
संस्थाले उत्पादनमुलक क्षेत्रमा पनि लगानी भइरहेको छ । जस्तै खानेतेल उत्पादनमा च्याउ खेती बाख्रा पालन र कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ । असुली पनि सन्तोषजनक रहेको छ ।
संस्थाले कस्ता वर्गलाई सेवा लक्षित गरेको छ ? हाल भएका सदस्यहरु कस्ता बर्गका रहेका छन् ?
संस्थाले निम्न वर्गदेखि उच्च बर्गसम्मलाई पनि लक्षित गर्दै निरन्तर आफ्ना सदस्यहरुलाई सेवा पु¥याइरहेको छ । हाल भएका सदस्यहरु आफ्नै समुदायका भएकाले मध्यम वर्गका सदस्यहरु अत्याधिक छन ।

संस्था स्थापनाको उद्देश्य के थियो ? संस्था स्थापनाको उद्देश्य कत्तिको पुरा भइरहेको छ ?
आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा आफ्नो सदस्यहरुलाई बढिभन्दा बढी सेवा पु¥याउँदै समृद्ध देश निर्माणमा सहकारिताको क्षेत्रबाट अगाडि बढ्ने उद्देश्यका साथ स्वागतम् साकोस स्थापना भएको हो र सो उद्देश्य अनुरुप ललितपुर जिल्लामै नेतृत्वदायी भूमिका निर्वाह गर्दै सहकारिताको विकास र प्रवद्र्धनमा पनि यस संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । संस्थाको स्थापना उद्देश्य अनुरुप सञ्चालक समिति, उपसमितिहरुका साथिहरुको सहकार्य, सहयोग र साथले उद्देश्य प्राप्तिको निम्ति प्रयासरत छौं ।
सदस्यहरुलाई आकर्षित गर्ने संस्थाका सेवा तथा विशेषताहरु के कस्ता रहेका छन् ?
सदस्यहरुलाई आकर्षक व्याजदर, आबश्यकता अनुसार सर्बसुलभ रुपमा कर्जा प्रवाह, घरदैलो सेवा सुविधा, एसएमएसबाटै विभिन्न सेवाहरु सदस्यहरुका छोराछोरीलाई प्रोत्साहन गर्न पुरस्कार तथा छात्राबृति कार्यक्रम, बृद्धबृद्धाहरुलाई सम्मान कार्यक्रम, समाजमा महत्वपूर्ण काम गर्ने व्यक्तिहरुलाई सम्मान, तिर्थाटन, भ्रमण र सांस्कृतिक सहयोगहरु गर्दै आइरहेको छ ।
संस्थाको कार्यक्षेत्र आसपास सहकारी संस्थाको बाक्लो रुपमा स्थापना भएका छन् । प्रतिस्पर्धाको अनुभव कत्तिको गर्नुभएको छ ?
संस्थाको कार्यक्षेत्र आसपास अन्य सहकारी संस्थाहरु निरन्तर स्थापना भइरहेका छन । जसले रोजगारीको सिर्जना गरिरहेको छ । सहकारिताको विकास सँगसगै समुदायबाट सक्षम र समृद्ध देश निर्माणमा पनि सहयोग पुगेको छ भने अस्वस्थ प्रतिस्पर्धाले गर्दा संस्थाको मात्र नभई समग्र सहकारिताको बदनाम हुने भएकाले कुनै पनि सहकारी संस्थाले अस्वस्थ आर्थिक प्रतिस्पर्धा नगर्न पनि सबैमा अनुरोध गर्दछु । चुनौतिहरु पनि थुप्रै छन् तर अवसरका रुपमा सम्पूर्ण संस्थाहरुले उपयोग गर्नु पर्दछ ।
संस्थाको भावि योजना तथा कार्यक्रमहरु के कस्ता छन् ?
संस्थाले तीन बर्षे रणनीतिक योजना बनाउँदै सोही अनुरुप संस्थालाई अगाडि बढाइएको छ । भावि दिनहरुमा आफ्नै भवनबाट कारोबार गर्नका निम्ति घरजग्गा कोष स्थापना भइसकेको छ । माथि पनि भनिसके सेयर सदस्यहरुलाई बढि भन्दा बढी शिक्षा, स्वास्थ्य र रोजगारीमूलक तालिम दिई आत्मनिर्भर बनाउँदै अगाडि बढाउने योजना रहेको छ ।
तपाई सहकारी अभियानमा अगुवाको भूमिकामा पनि हुनुहुन्छ । सहकारी संस्थाको हालको अवस्थाको मूल्यांकन कसरी गर्नुहुन्छ ?
ललितपुर बचत तथा ऋण सहकारी संघको उपाध्यक्षको भूमिका निर्वाह गर्दै मैले ललितपुरको ५०० भन्दा बढी संस्थाहरुको भ्रमण गरेको छु भने २४ जिल्लाका सहकारीकर्मी र संस्थाहरुको भ्रमण गर्ने अवसर पाएको थिए । सो को अनुभवमा पनि सहकारीकर्मीहरु बीच सहकार्य, सहमति र संस्था–संस्थाबिचको सहयोग आदन प्रदानमा कमजोर रहेको महशुस गरेको छु । ५२ लाख सदस्यहरु रहेको नेपालको सहकारी अभियानले साँच्चिकै यो देशको मुहार फेर्न सफल हुनेछ भन्ने विश्वास लिएको छु ।
वित्तीय क्षेत्रले व्यहोरी रहेको तरलता अभावको अवस्था सहकारी क्षेत्रले कत्तिको व्यहोर्नु परिरहेको छ ?
तरलता अभावको मूख्य कारण नै अनुत्पादन क्षेत्रमा बढी लगानी गरेकोले अभाव भएको हो भने जुन–जुन सहकारी संस्थाहरुले समुदायप्रति चासो राख्दै सदस्यहरुको विश्वास कमाउन सफल भएको संस्थाहरु कहिल्यै तरलताको अभाव भएको छैन । हाल बजारमा बैंकहरुले लगानी बन्द गरेको हुनाले निक्षेप सदस्यहरुले निकाल्नु स्वभाविक हो । तर खासै सहकारी क्षेत्रमा तरलताको अभाव भएको छैन ।
सहकारीले दिने ब्याजदर र बैंकले दिने व्याजदर उस्तै भएपछि सहकारी क्षेत्रका निक्षेपहरु बैंक वित्तीय संस्थामा गयो भनिन्छ नि ? तपाईको बुझाई के छ ?
तरलता अभाव भन्दै बैंकहरुले धमाधम व्याजदरमा बृद्धि गरियो भने ऋणीहरुलाई पनि उच्च ब्याजदर लिन सफल भएको छ । केही सहकारी संस्थाहरुको निक्षेप लिन बैंक सफल भएका होलान् । तर समग्ररुपमा बैंकरहरुको सहकारीको निक्षेप लिने रणनीति मात्र हो भन्ने मेरो बुझाई हो । समग्ररुपमा सहकारी क्षेत्र नितान्त रुपमा सुरक्षित छ । ब्याजदर उस्तै भएपनि आम सदस्यहरु सहकारी क्षेत्रमै आकर्षित र विश्वस्त छन् ।
सहकारीको अनुगमनकारी निकाय डिभिजन सहकारी, सहकारी विभागजस्ता नियकाहरुले सहकारी अभियानलाई सहयोग पुग्ने के कस्ता गतिविधि गरिरहेको छ ?
साँच्चिकै भन्नु पर्दा सहकारीको अनुगमन मूल्यांक गर्नुपर्ने निकायहरु सुस्त भएको पाएको छु । डिभिजन सहकारी र सहकारी विभाग जस्ता निकायहरुको अदक्ष कर्मचारी र फितलो अनुगमनको कारणले गर्दा त्यस्ता निकायहरुलाई अनुगमन गर्ने आवश्यकता रहेको छ । समग्र सहकारी अभियान पूर्णरुपमा सन्तोष हुन सकेको छैन ।
ललितपुर जिल्लामा सहकारी संस्थाहरुको हालको समग्र अवस्था कस्तो पाउनुहुन्छ ? यो जिल्लामा सहकारीका समस्या तथा संभावना के कस्ता रहेका छन ?
ललितपुर जिल्लामा १२ वटा विषयगत संघहरु रहेका छन् । एक जिल्ला सहकारी संघ रहेको छ । सहकारी अभियानको हिसावले यो जिल्ला नमुना योग्य जिल्ला रहेको छ । एतिहासिक यस नगरीमा समूदायमा आधारित संस्थाहरुले गर्दा समग्र सहकारी क्षेत्र अत्यन्तै राम्रो रहेको छ । अन्तर्राष्ट्रिय ब्राण्ड पाउने संस्थाहरु लगायत विभिन्न नमुना योग्य उत्कृष्ट सहकारी संस्थाहरु पनि यसै जिल्लामा रहेको छन । समग्ररुपमा देशकै नमुनायोग्य सहकारीमय जिल्ला ललितपुर जिल्ला नै रहेको छ । यो जिल्लामा चिया, कफी, तरकारी र विभिन्न उत्पादनमूलक क्षेत्रमा विभिन्न विषयगत संघहरुले कार्य गर्दै आइरहेका छन् । अर्गानिक चिया र कफी विदेशमा पनि निर्यात हुदै आइरहेको छ । यो जिल्लाका संस्थाहरुबीच अस्वस्थ प्रतिस्पर्धा र अनुत्पादक क्षेत्रमा धेरै भन्दा धेरै लगानी नगर्ने हो भने ललितपुर जिल्ला सहकारीको नमुना जिल्ला हो ।
ललितपुर बचत तथा ऋण संघको उपाध्यक्षको हैसियतमा भन्नु पर्दा ललितपुर बचत तथा ऋण सहकारी संघले नेफ्स्कूनबाट उत्कृष्ट राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको र राष्ट्रिय सहकारी संघबाट पनि उत्कृष्ट बचत संघको रुपमा सम्मानित हुने कार्यक्रम घोषणा भइसकेको छ । संघमा आबद्ध सदस्य संस्थाहरु ४९२ पुगेको छ । संस्थाहरुको विकास र प्रबद्र्धन गर्न संघ सफल भएको छ ।