२०८३ साउन १० आइतबार

खडेरीले घैँटा सुकेपछि खानेपानीको हाहाकार

ई आर्थिक    शुक्रबार, चैत्र २५ २०७३
2.6K
Shares
खडेरीले घैँटा सुकेपछि खानेपानीको हाहाकार

२५ चैत, फलेवास(पर्वत)। लामो समयको खडेरीका कारण वर्षात्मा घैँटामा सङ्कलन गरिएको पानी सुकेपछि यहाँको एक विकट गाउँमा खानेपानीको हाहाकार परेको छ ।

नजिकमा खानेपानीको कुनै स्रोत नहुँदा काकाकुलको नियति भोगिरहेका दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ उरामपोखरास्थित भतेरपाटावासी घैँटामा पानी सकिएपछि झनै समस्यामा परेका छन् । उनीहरुले विगत एक दशकदेखि घैँटाको पानीको भरमा गुजारा चलाउँदै आएका थिए ।

वर्षात्को समयमा सङ्कलन गरेर राखेको पानी पिउन बाध्य उनीहरु त्यही पानी पनि सुकेपछि बस्ती नै सार्नुपर्ने अवस्थामा छन् । एक दशकअघि फिनिडा र नेवा नामक संस्थाले गाउँका ७० घरमा खानेपानी सङ्कलन गर्ने घैँटा निर्माण गरिदिएपछि स्थानीय बासिन्दालाई राहत मिलेको थियो । वर्षात्को समयमा गाउँ नजिकै मूल उठ्ने भएकाले पानीको समस्या नहुने भए पनि हिउँदको समयमा दुई घन्टा टाढा रहेको कुवामा गएर पानी पिउन बाध्य छन् ।

पानी नपर्दा बर्खायाममा सङ्कलन गरेको पानी सकिएपछि खानेपानीको समस्या भएको स्थानीय रामचन्द्र भुसालले बताउनुभयो । “खानेपानी नहुँदा पानीकै लागि दुई घन्टा टाढा जानुपर्ने समस्या छ पानीको जोहो गर्दैमा दिन बित्छ अन्य काम गर्न भ्याइँदैन भुसालले गुनासो गर्नुभयो ।

संस्थाले जस्ताको छाना भएको घरमा छ हजार लिटर बराबर र खरको छाना भएको घरमा चार हजार लिटर बराबरका घैँटा निर्माण गरिदिएको थियो ।

गाउँमा खानेपानी योजना निर्माण गरिदिन पटक पटक विभिन्न संस्थामा अनुरोध गरे पनि कुनै सुनुवाइ भएन केही वर्षअघिसम्म भोक्सिङदेखि ल्याएको खानेपानी योजना मर्मतसम्भारको नहुँदा जीर्ण बनेपछि गाउँलेले पानीको समस्या भोग्नुपरेकोे अर्का स्थानीयवासी नरबहादुर थापाले बताउनुभयो ।

बस्तीभन्दा केही तल सानासाना मूल र खोला भएकाले लिफ्टिङ सिस्टमबाट पानी ल्याउन विभिन्न निकायसँग मागसमेत गरेपनि अझसम्म सुनुवाई भएको छैन ।

सदरमुकामदेखि टाढाको दूरीमा रहेको गाविस भएकाले जिल्लाले समेत उचित ध्यान नदिएको स्थानीयवासीको गुनासो छ । वर्षौंदेखि खानेपानीको अभाव खेप्दै आए पनि कुनै निकायले चासो नदेखाएको स्थानीयवासी लालश्री थापाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij