२२ चैत, काठमाडौं । नेपाल बैंक लिमिटेडले हकप्रद सेयर वैशाख ७ गतेदेखि निष्काशन गर्ने भएको छ । बैंकले १००:२३.७४ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । चैत्र २८ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रदमा जेठ १० गतेसम्म आवेदन दिन पाउनेछन् ।
हकप्रद सेयर निष्काशनको लागि बैंकले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । बैंकले निष्काशन गर्न लागेको हकप्रद सेयरमा सभिल क्यापिटल मार्केट लिमिटेड सिटिसी महल सुन्धारा र बैंकको शाखा कार्यालयहरुबाट आवेदन दिन पाइनेछ ।
नेपाल बैंकले ५६ औं वार्षिक साधारण सभाबाट पारित भए बमोजिम एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँ बराबरको एक करोड ५४ लाख ३१ हजार आठ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
हाल बैंकको चुक्ता पूँजी छ अर्ब ५० करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर निष्काशन पश्चात बैंकको कूल चुक्ता पूँजी आठ अर्ब चार करोड रुपैयाँ पुग्नेछ ।
नेपाल बैंकमा हाल चुक्ता पूँजीको ६२.२१ प्रतिशत सेयर स्वामित्व नेपाल सरकारको रहेको छ भने बाँकी बैंक कर्मचारी तथा सर्वसाधारणको रहेको छ ।
नेपाल बैंक लिमिटेड नेपालको पहिलो तथा ऐतिहासिक बैंक हो । हाल यस बैंकले बैकिङ्ग प्रणालीलाई पूर्णरुपले आधुनिक प्रविधिमा रुपान्तरित गरी १३० वटा शाखा मार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।