२०८३ साउन १० आइतबार

गैँडा मारेका अभियुक्त सात वर्षपछि पक्राउ

ई आर्थिक    शनिबार, चैत्र १९ २०७३
5.9K
Shares
गैँडा मारेका अभियुक्त सात वर्षपछि पक्राउ

१९ चैत, चितवन । दुर्लभ एकसिङ्गे गैँडा मारेर खाग बिक्री गरी सात वर्षदेखि फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरी जेल चलान गरेको छ ।

निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार नवलपरासीको साविक कोल्हुवा गाविस–३ सेतेपानीका ४२ वर्षीय दुर्गा रानामगरलाई पक्राउ गरी शुक्रबार जेल चलान गरिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार रानामगरलाई दुई दिनअघि नवलपरासीको चोरमाराबाट पक्राउ गरिएको होे ।

विसं २०६६ असोज २७ गते उनीमाथि गैँडा मारी खाग बिक्री गरेको आरोपमा मुद्दा दायर भएको थियो । विसं २०६९ जेठ १७ गते चितवन राष्ट्रिय निकुञ्जले रानामगरलाई १५ वर्ष कैद र रु एक लाख जरिवानाको फैसला गरेको कँडेलले बताउनुभयो । त्यसपछि स्वदेश र विदेशमा लुक्दैआएका उनलाई सुराक सञ्जालका आधारमा पक्राउ गरिएको हो । सोही मुद्दाका अर्काे अभियुक्त कोल्हुवा–३ का खड्गनारायण महतो हाल पनि भरतपुर कारागारमै रहेका छन् ।

यो वर्ष गैँडासम्बन्धी अभियोगमा पक्राउ परेको यो पहिलो हो । निकुञ्जले दोषी ठह¥याई गैँडा मारी खाग बिक्री वितरण गरेको अभियोगमा अझै एक सय हाराहारी अभियुक्त फरार रहेको कँडेलले बताउनुभयो । उनीहरुको खोजी कार्य जारी छ । झन्डै तीन वर्षयता दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको चोरीसिकार भएको छैन । गैँडा मारिने क्रम घटेपछि पुराना फरार अभियुक्तको खोजीमा निकुञ्ज सक्रिय भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij