२०८३ साउन ९ शनिबार

वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाएनन्

ई आर्थिक    बिहिबार, चैत्र १७ २०७३
3.3K
Shares
वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाएनन्

१७ चैत, तम्घास (गुल्मी) । सामाजिक सुरक्षा भत्ताबापतको रकम छ महिना बित्दासम्म पनि गुल्मीका वृद्धवृद्धाले अझै पाउन सकेका छैनन् । सरकारले दिँदै आएको भत्ता रकम समयमा नपाएका कारण यहाँका वृद्धवृद्धाले गाउँपालिका र नगरपालिकाका वडा सचिवसँग हाम्रो भत्ता किन आएन भनेर दिनहुँजसो गुनासो गर्न थालेका छन् ।

सरकारले स्थानीय तहको पुनःसंरचना गरेको तीन साता बितिसक्दा पनि जिल्ला समन्वय समितिले गाउँपालिका र नगरपालिका कार्यालयको खातामा रकम उपलब्ध नगराएका कारण बुढाबूढी सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित बनेका हुन् ।

सामाजिक सुरक्षा कार्यविधि–२०७३ अनुसार गत माघ १५ गतेभित्र बाँड्नुपर्ने रकम तत्कालीन जिल्ला विकास समितिले समयमै गाविसका खातामा रकम उपलब्ध नगराएका कारण उनीहरुले समयमा भत्ता पाउनबाट वञ्चित भएको साविकका गाविस सचिव हकहित संरक्षण केन्द्र गुल्मीका अध्यक्ष गोपाल सेनले बताउनुभयो ।

“जिविसले पहिल्यै गाविसको खातामा रकम पठाइसक्नुपर्ने थियो, पठाउन सकेन, सेनले भन्नुभयो–गाउँमा जाँदा बुढाबूढीले सचिवहरुले ल्याएर खातामा राखेका छन् कि भनेर शङ्का गर्छन्, हामीलाई त गाउँमा गएर ती बुढाबूढीको अगाडि मुख देखाउन पनि लाजमर्दो भइसक्यो ।”

स्थानीय विकास अधिकारी कल्पना श्रेष्ठले भने साविकको जिविसबाट चेक काटेर कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाइसकेको अवस्थामा सरकारले स्थानीय तहको पुनःसंरचना गरेपछि चेक रोकिँदा समस्या आएको बताउनुभयो ।
हाल दुई नगरपालिका र १० गाउँपालिका रहेको गुल्मी जिल्लामा एउटा वडामा न्यूनतम रु २० लाखदेखि अधिकतम रु ७० लाखसम्म सामाजिक सुरक्षा भत्ता रकम बाँडिदै आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij