२०८३ साउन ११ सोमबार

साना जलविद्युत्, विकास र विस्तारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

ई आर्थिक    मंगलबार, चैत्र १५ २०७३
5.9K
Shares
साना जलविद्युत्, विकास र विस्तारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

१५ चैत, काठमाडौँ । साना जलविद्युत् आयोजनाको विकास र विस्तारका विषयमा दक्षिण एसियाली मुलुकको ज्ञान सीप र अनुभव आदानप्रदान गर्ने लक्ष्यका साथ तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरु भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान र यहाँस्थित चिनियाँ दूतावासको आयोजनामा सुरु भएको सम्मेलनमा साना जलविद्युत् आयोजनाको विकासका अनुभव आदानप्रदान गर्ने लक्ष्य राखिएको छ ।

प्रविधिका क्षेत्रमा भएको विकास तथा विस्तारले जलविद्युत् उत्पादनमा समेत सहज वातावरण बनाएको भन्दै कार्यक्रमका सहभागीले एक अर्काको अनुभव र ज्ञानले प्रविधि हस्तान्तरणमा समेत सकारात्मक सहयोग प्रदान गर्ने धारणा राखे ।

नेपालमा हजारौँ साना तथा ठूला खोलानाला भएकाले त्यसबाट सहज रुपमा जलविद्युत् उत्पादन गर्न सकिने अवस्थालाई मध्यनजर गर्दै दक्षिण एसियाली मुलुकबीच साझा अवधारणा बनाएर अगाडि बढ्नसमेत सहभागीले जोड दिए ।

सम्मेलन उद्घाटन गर्दै ऊर्जामन्त्री जनार्दन शर्माले स्थानीय जनताको सहभागितामा नै साना तथा मझौला जलविद्युत् आयोजना अगाडि बढेको भए पनि सामान्य समस्या आउँदासमेत मर्मत सम्भार हुन नसक्दा सेवाग्राही मारमा पर्ने गरेको बताउनुभयो ।

प्राविधिक जनशक्तिको उत्पादन, उनीहरुको दक्षता वृद्धि तथा नयाँ जनशक्तिको खोजीका लागि सम्मेलन फलदायी हुने र नेपालको ज्ञान तथा सीपलाई दक्षिण एसियाली क्षेत्रमा प्रचारप्रसार गर्न सकिने धारणा राख्नुभयो ।

आफूले २०६४ सालमा सुरु गरेको रुकुम उज्यालो कार्यक्रमको प्रेरणाबाटै आज उज्यालो नेपालको अभियान सुरु गरिएको र त्यसले सफलता हासिल गरेको मन्त्री शर्माको भनाइ थियो ।

उहाँले अँध्यारो युगको अन्त्य भएर उज्यालो युग सुरु भएको भन्दै वर्तमान सरकारले जलविद्युत् क्षेत्रको विकासका लागि हदैसम्मको प्रयास र प्रयत्न गरिएको बताउनुभयो ।

सरकारले आठ हजार मेगावाट जलाशययुक्त आयोजना सुरु गर्न लागेको भन्दै मन्त्री शर्माले ऊर्जा क्षेत्रमा रणनीतिक छलाङ मार्ने दिशामा पुगेको र आगामी तीन वर्षभित्र अद्भूत परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो ।

ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले सरकारले गत वर्ष सार्वजनिक गरेको ९९ बुँदे ऊर्जा सङ्कटकालसम्बन्धी कार्ययोजना र २७ बुँदे कार्यक्रममार्फत मुलुकको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण छलाङ मारेको बताउनुभयो ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का निर्देशक अजयकुमारले सार्कको कोलम्बोमा सम्पन्न १६औँ शिखर सम्मेलनले ऊर्जा क्षेत्रको विकासको ठोस रणनीति अगाडि सारेको र सोही रणनीतिका आधारमा काम भइरहेको बताउनुभयो ।

उहाँले समान धारणा बनाएर ऊर्जा एवम् जलविद्युत् क्षेत्रको विकासमा लाग्नुपर्ने र त्यसमा सबै मुलुकको प्रविधि र ज्ञानलाई आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

यहाँस्थित चिनियाँ दूतावासका कार्यभार राजदूत पेङ वेईले चीनले विकास गरेको प्रविधि विस्तार र विकासले अन्य मुलुकलाई समेत सहज रुपमा अनुशरण गर्न सक्ने तथा विकासोन्मुख मुलुकलाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।

सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत विभिन्न मुलुकका ३० प्रतिनिधिको सहभागिता छ । सम्मेलनले साना जलविद्युत् आयोजनाको विकास, प्रविधि हस्तान्तरण एवम् ज्ञानको आदानप्रदानको विषयमा समान धारणा बनाउने प्रतिष्ठानका सचिव बुद्धिरत्न खड्गीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij