चैत १, काठमाडौं । यातायात व्यवस्था विभाग भक्तपुर जगाती कार्यालयले सोमवारदेखि नयाँ ‘स्मार्ट लाइसेन्स’ अर्थात् सवारी चालक प्रमाणपत्र वितरण शुरू गरेको छ ।
कार्यालयले गत माघ २ गतेदेखि कार्यालय सञ्चालन गरेर सेवा शुरू गरी सवारी चालक अनुमतिपत्रको नवीकरण गर्दै आएको थियोे । सोमवारदेखि नयाँ लाइसेन्सका लागि दरखास्त लिन शुरू गरिएको बताउँदै कार्यालय प्रमुख अनोज घिमिरेले आगामी शुक्रवार बिहान ७ बजे आफ्नै कार्यालयमा लिखित परीक्षा सञ्चालन गरी शनिवार ट्रायल(प्रयोगात्मक) परीक्षा लिइने जानकारी दिए ।
सर्वोच्च अदालतले निजी ट्रायल सेण्टरमा कार्यालयले ट्रायल लिन नपाउने आदेश दिएपछि विभागले आफ्नै सेण्टरमा सञ्चालन गर्ने भएको छ । घिमिरेले भने–‘तत्कालका लागि यातायात अनुमतिपत्रको ट्रायल परीक्षा दुई पाङ्ग्रेको हकमा यातायात व्यवस्था विभागको आफ्नै ट्रायल सेण्टरमा र चार पाङ्ग्रेका लागि नेशनल टे«डिङ पुतलीसडकको ट्रायल सेण्टरमा व्यवस्था गरेका छौँ ।’ रासस