२०८३ साउन ९ शनिबार

सेवा प्रवाहका भौतिक संरचना पुनःनिर्माण नहुँदा सर्वसाधारण मर्कामा

ई आर्थिक    आइतबार, फाल्गुन २९ २०७३
2.8K
Shares
सेवा प्रवाहका भौतिक संरचना पुनःनिर्माण नहुँदा सर्वसाधारण मर्कामा

२९ फागुन, रुकुम । माओवादीको सशस्त्र द्वन्द्वको समयमा जिल्लामा ध्वस्त भएका १५४ वटा भौतिक संरचना पुनःनिर्माण नहुँदा रुकुमवासी मर्कामा परेका छन् ।

बीस वर्षको अवधिमा जिल्लाका १८९ सार्वजनिक सेवा प्रवाह गर्ने त्यस्ता संरचनामध्ये ३५ वटा मात्र पुनःनिर्माण भएका छन् ।

चौरजाहारीस्थित कृषि सेवा केन्द्रको भवन भत्केको २० वर्ष बितिसक्दा पनि पुनःनिर्माण नहुँदा यहाँका सर्वसाधारण सेवा पाउनबाट समस्यामा परेका छन् । २०५३ सालमा ध्वस्त भएको कृषि सेवा केन्द्रको भवन अहिलेसम्म पनि पुनःनिर्माण नहुँदा स्थानीयको घरमा एउटा कोठा भाँडामा लिएर सेवा प्रवाह गर्नुपर्ने बाध्यता छ ।

गाउँमा सर्वसाधारणलाई सार्वजनिक सेवा प्रभाव गर्नका लागि स्थापना भएको सेवा केन्द्रको आफ्नै भवन लामो समयसम्म पनि पुनःनिर्माण नहुँदा यहाँ कार्यरत कर्मचारीहरु नियमित रुपमा सम्बन्धित क्षेत्रमा नबस्ने गरेको स्थानीयको गुनासो छ ।

सशस्त्र द्वन्द्वको समयमा ध्वस्त सेवा केन्द्र भवनको पुनःनिर्माण गर्नमा सरकारले चासो नदिएको स्थानीयवासी शिवलाल आचार्यले बताउनुभयो । शान्ति स्थापना भएको लामो समय बितिसक्दा पनि पुनःनिर्माणको लागि प्राप्त बजेटको व्यवस्था नहुँदा समस्या भएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर पहल पुनले बताउनुभयो ।

पुनःनिर्माणको लागि सरकारले प्राप्त बटेजको व्यवस्था नगर्दा स्थानीयलाई सेवा प्रवाह गर्नको लागि सेवा केन्द्रहरु बन्द जस्तै अवस्थामा पुगेको उहाँको भनाई छ ।

पुनःनिर्माणका लागि अहिलेसम्म जिल्लामा करिब रु नौ करोड रकम खर्च भएको इन्जिनियर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा सबै भौतिक संरचनाको पुनःनिर्माण गर्न रु एक अर्बभन्दा बढी बजेटको आवश्यकता हुनेछ ।

सशस्त्र द्वन्द्वको समयमा यहाँका धेरै जसो गाविस भवन, विद्यालय भवन, सेवा केन्द्रका भवन, प्रहरी चौकी, स्वास्थ्य चौकीलगायतमा क्षति भएको थियो । सेवा केन्द्रहरु पुनःनिर्माण नहुँदा त्यहाँबाट पाउने सेवाको लागि पनि सर्वसाधारणहरु अहिले सदरमुकाम मुसिकोट, खलङ्गा धाउनुपर्ने बाध्यता छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij