२०८३ साउन ९ शनिबार

रङको रङ्गिन पर्व होली आज, भव्यताका साथ मनाइँदै

ई आर्थिक    आइतबार, फाल्गुन २९ २०७३
7.2K
Shares
रङको रङ्गिन पर्व होली आज, भव्यताका साथ मनाइँदै

२९ फागुन, काठमाडौं । प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङको पर्व होली अर्थात फागुपूर्णिमा आज बिहानैदेखि काठमाडौँ उपत्यका लगायतका पहाडी क्षेत्रमा भव्यताका साथ मनाइँदैछ । तराईमा भने बुधबार मनाइने छ । वसन्त ऋतुको आगमनको उल्लाससँगै एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भई रङ हालेर एकअर्कालाई रङ्गिन बनाएर मनाइन्छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ । असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ ।

होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलिका दहन गरिन्छ । राति होलिका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एकअर्कामाथि फाल्ने प्रचलन प्राचीन कालदेखि चलिआएको हो । स–साना बच्चादेखि वृद्धवृद्धासम्म सबैले होलीको मजा लिने गर्दछन् ।

होलीको दिन पुरानो कटुता समाप्त गरेर र दुस्मनी बिर्सेर एकआपसमा खुसी साट्ने दिनका रुपमा मनाइन्छ । फागुपूर्णिमाका अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढका हुल तथा जत्था हातमा रङ र रङ्गिन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै उत्साह र उमङ्गका साथ रङ्गीन पर्वका रूपमा मनाउने गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चिर (विशेष रूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने यो पर्व पूर्णिमाको रातमा यो चिर ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

फागुन शुक्ल अष्टमीको दिन भीमसेन मन्दिरमा राखिएको लिङ्ग(लग)लाई टोलटोलमा पसलैपिच्छे घुमाएर पूजा गरी फेरि मन्दिरको पाटीमा राखिने परम्परा छ । सत्ययुगमा भगवान् विष्णुका भक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपुले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा भक्त प्रह्लादलाई केही नभएको तर होलिका जलेर नष्ट भई असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा यो पर्व मनाइने गरिएको हो ।

होलीमा प्रयोग गरिने रङको आ–आफ्नै महत्व रहेको पाइन्छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ भने पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान् गणेशलाई सबै रङ मनपर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।

होली पर्वका अवसरमा विभिन्न संघसंगठनहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् । तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई-तीन दिनसम्म होली मनाउने चलन छ । यसपटक विगत वर्षको तुलनामा अनुशासित देखिएको होली आफ्ना परिचितबीचमा मात्रै खेल्ने दृश्य बढी देखिएको छ।

उपत्यकाका महत्वपूर्ण चोकमा ट्राफिक प्रहरीले सवारी जाँच कडा पारेको छ भने हुनसक्ने अवाञ्छित गतिविधिलाई निगरानी गरेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij