२०८३ साउन १० आइतबार

सोह्रवर्षदेखि चिकित्सकविहीन स्वास्थ्य केन्द्र

ई आर्थिक    बुधबार, फाल्गुन २५ २०७३
5.7K
Shares
सोह्रवर्षदेखि चिकित्सकविहीन स्वास्थ्य केन्द्र

२५ फागुन, बैतडी । बैतडीको मेलौलीमा विसं २०५७ मा दुर्गम तल्लोस्वराड क्षेत्रका १० भन्दा बढी गाविसका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको भएपनि अहिलेसम्म चिकित्सकको दरबन्दी पूर्ति नहुँदा सो क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्यकेन्द्रबाट प्राप्त गर्ने सेवा पाउन सकेका छैनन् ।

स्थानीयबासी केशवसिंह भाटका अनुसार २०६८ सालमा एकजना करारका चिकित्सकले सात महिना प्राथमिक स्वास्थ्य केन्द्र, केशरपुरमा सेवा दिएका थिए । त्योबाहेक प्राथमिक स्वास्थ्यकेन्द्र स्थापना भएको १६ वर्ष बितिसक्दासमेत तल्लो स्वराडवासीले चिकित्सकको सेवा पाउन सकेका छैनन् । प्राथमिक स्वासथ्य केन्द्र स्थापना हुँदा धेरै खुसी भएपनि चिकित्सकको पदपूर्ति अहिलेसम्म नहुँदा ज्यादै दुःख लागेको भाटले बताउनुभयो ।

दक्षिण एसियाकै पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानीको जन्मभूमि मेलौलीमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएपनि चिकित्सक नहुँदा त्यो क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्राप्त गर्न सकिरहेका छैनन् । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सामान्य बिरामीले पनि भारतीय अस्पताल अथवा जिल्ला अस्पताल बैतडी, उपक्षेत्रीय अस्पताल, डडेल्धुरा जानुपर्ने बाध्यता रहेको मणिलेक मावि काँडा, मेलौलीका प्राचार्य देवदत्त कलौनीले बताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा दरबन्दीअनुसार चिकित्सक नहुँदा दैनिकरुपमा १० भन्दा बढी बिरामीलाई अन्यत्र रिफर गर्नु परेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्य सहायक मुकेश दयालले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले आफूले बैतडीमा आएदेखि नै मेलौलीमा चिकित्सकको दरबन्दी परिपूर्तिका लागि स्वास्थ्य सेवा विभागमा धाएको भएपनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारसँग धेरै पटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ भएन ।”

सरकारले चालु आर्थिक वर्षको पुसदेखि बैतडीमा स्वास्थ्य बीमा कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । स्वास्थ्य बीमा गरेका नागरिकका लागि उपचार गर्न केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि सूचीमा राखिएको छ । स्वास्थ्य बीमाको सेवा यही फागुनदेखि जिल्लामा सुरु पनि भइसकेको छ । तर मेलौलीमा चिकित्सक नभएका कारण सेवा सञ्चालन गर्न समस्या भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij