२०८३ साउन ९ शनिबार

डोलेश्वर महादेवमा महाशिवरात्रिको तयारी पूरा

ई आर्थिक    बिहिबार, फाल्गुन १२ २०७३
5.3K
Shares
डोलेश्वर महादेवमा महाशिवरात्रिको तयारी पूरा

भक्तपुर, ११ फागुन । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा शिवरात्रिको तयारी पूरा भएको छ ।

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा आउँदो १३ गते महाशिवरात्रि पर्वलाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति बनाएर जनशक्ति परिचालन गरिएको जानकारी दिइएको छ । महाशिवरात्रिका लागि करिब रु २० लाख खर्च हुने अनुमान गरिएको प्रचारप्रसार उपसमिति संयोजक एवम् समितिका सचिव मोहन बल्लले जानकारी दिनुभयो ।

महाशिवरात्रिको दिन पञ्चस्नानका लागि रु एक हजार १०१ र चार प्रहर पूजाका लागि रु ११ हजार १११ को रसिद काटेर पूजामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

पर्वका लागि आएका साधुसन्तलाई समितिले खाने बस्ने, धुनी बाल्न दाउराको व्यवस्था गरिएको छ । त्यसदिन मेला भर्न आउने सम्पूर्ण भक्तजनलाई मानवसेवा सङ्घ कुलेश्वरकोतर्फबाट प्रसादीको व्यवस्था गरिएको छ ।

शिवरात्रि पर्वका लागि डोलेश्वर आउने साधुसन्त र बाबामध्ये ‘क’ वर्गकालाई रु एक हजार १११, ‘ख’ वर्गकालाई रु ७७७ र ‘ग’ वर्गका लागि रु ५५५ दक्षिणा तथा एक÷एक थान कम्बल, दुई÷दुई थान धोती र एक÷एक थान कमण्डलु प्रदान गरिनेछ ।

शिवरात्रिका दिन सर्वसाधारण भक्तजनका लागि बिहान ४ बजेदेखि १२ बजेसम्म मन्दिरका चारै ढोका खुला गरी गर्भगृहमा प्रवेश गरी पूजा एवम् दर्शन गर्ने व्यवस्था गरेको जानकारी गराइएको छ ।

शिवरात्रिका लागि यस वर्ष दर्शनका लागि एक लाखभन्दा बढी दर्शनार्थी आउने अनुमान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij