२७ माघ, काठमाडौं । बैंकहरुले अब केही समयकालागि गाडी, घर जग्गा र सेयरमा ऋण नदिने भएका छन् । तरलता अभावको प्रभाव बिस्तारित बन्दै जाँदा बाणिज्य बैंकहरुले यी क्षेत्रमा दिदै आएको कर्जा रोक्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रको कर्जा नरोके बैंकहरुलाई कारबाही गर्ने चेतावनी दिएको भोलिपल्ट बैकर्स संघले गाडी, घरजग्गा र सेयर धितो कर्जा रोक्ने सामुहिक निर्णय गरेका हुन् ।
अनुत्पादक क्षेत्रहरुमा गईरहेको कर्जा तत्काल रोकेर उत्पादनशील क्षेत्रतर्फ कर्जा बढाउने सामुहिक निर्णय भएको बैंकरहरुले बताएका छन् ।
बैंकहरुले सवारी साधानको कर्जा दिदा ९० प्रतिशतसम्म कर्जा सुविधा दिएको देखिएको भन्दै राष्ट्र बैंकले यसलाई कडाई गर्ने संकेत गरेको थियो ।
राष्ट्र बैंकले घरजग्गा र सेयर धितोमा कर्जा दिदा मूल्यको तुलनामा कर्जा अनुपात (लोन टु भ्यालु रेसियो) अनुपात तोकेको भएपनि सवारी साधानमा नतोकिएकोले अब त्यस दिशातर्फ बढ्नुपर्ने हुनसक्ने बताएको हो ।
वाणिज्य बैंकहरुको ओभरड्राफ्ट, घरजग्गा र सेयर धितोमा कुल कर्जाको ७३ प्रतिशतसम्म कर्जा लगानी भएको देखिएको थियो । बैंकहरुले तरलता समस्यापछि सेयर धितोमा जाने कर्जामा कडाई गर्न थालिसकेका थिए ।