ई–आर्थिक, काठमाडौं । पर्यटन क्षेत्रमा काम गर्दै आइरहेको संस्था द क्लिफ नेपाल र ह्याम्स अस्पतालबीच छूट तथा बजारीकरण सम्बन्धी सम्झौता भएको छ । अस्पतालका कर्मचारी तथा सदस्यलाई द क्लिफमा र द क्लिफका कर्मचारी तथा सदस्यलाई अस्पतालका सेवा सुविधामा छूट दिने सम्बन्धमा सहकार्य गर्ने सम्झौता भएको हो ।
अस्पतालका अध्यक्ष आरएस भण्डारी र द क्लिफका अध्यक्ष राजु कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अस्पतालले द क्लिफका कर्मचारी तथा सदस्यलाई ओपीडी तथा आईपीडी सेवामा १०, फार्मेसीमा ५ र हेल्थ चेकअप प्याकेजमा ४० प्रतिशत छूट दिनेछ । साथै अस्पतालले द क्लिफका कर्मचारी र सदस्यका लागि स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम गर्ने बताइएको छ ।
सम्झौता अनुसार द क्लिफले अस्पतालका सदस्य तथा कर्मचारीलाई कम्पनीका सेवा तथा सुविधामा १५ प्रतिशत छूट दिनेछ । त्यस्तै यस कम्पनीले अस्पताललाई मेडिकल पार्टनरको रूपमा बजारीकरण गर्नेछ । द क्लिफमा हुने हरेक कार्यक्रममा अस्पताललाई हेल्थ पार्टनरको रूपमा प्रवर्द्धन गरिने बताइएको छ ।