२०८३ असोज ८ बिहिबार

हुलाक बचत बैंकका खाता र दायित्व वाणिज्य बैंकमा हस्तान्तरण गरियो

ई आर्थिक    बुधबार, साउन १० २०८०
5.3K
Shares
हुलाक बचत बैंकका खाता र दायित्व वाणिज्य बैंकमा हस्तान्तरण गरियो

भरतपुर । चितवनस्थित हुलाक बचत बैंकको खाता राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गरिएको छ । आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले हुलाक बचत बैंक खारेज गर्ने व्यवस्था गरेसँगै त्यहाँको खाता हस्तान्तरण गरिएको हो ।
सोही व्यवस्थाअनुसार बैंकका खातावलाको कूल दायित्व र ऋणीको ऋण रकम हस्तान्तरण गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत रमेश ज्ञवालीले जानकारी दिए। उनका अनुसार कर्मचारी र केही संघ संस्थाले जिल्ला हुलाक कार्यालयअन्तर्गत बैंकिङ शाखामार्फत कारोबार गरिरहेका थिए ।

६ सय नौजनाको दायित्व र ऋण लगानीको विवरण मङ्गलबार राष्ट्रिय वाणिज्य बैंक नारायणगढ शाखाका सहायक शाखा प्रबन्धक कोपिलादेवी शर्मा आचार्यलाई हुलाक अधिकृत ज्ञवालीले हस्तान्तरण गरे। “खातावलाको विवरण, बचत रकम, ऋण लगानीको सम्पूर्ण विवरण असार ३१ गते नै बुझाएका हौँं”, उनले भने,“वाणिज्य बैंकले सबैको खाता खोलेर अपडेट गरेपछि रकम हस्तान्तरण गरेका छौँ ।” हुलाक बचत बैंकमा एक करोड ७९ लाख ६७ हजार तीन सय ४५ बचत भएकामा ५७ लाख तीन हजार तीन सय ३० रुपैँया ऋण लगानी भएको कार्यालयले जनाएको छ । बाँकी एक करोड २२ लाख ६४ हजार १५ रुपैँया कार्यालयले वाणिज्य बैंकलाई बुझाएको हो । अव ऋण लगानी भएको रकम वाणिज्य बैंकले नै उठाउने प्रमुख ज्ञवालीले बताए।

जिल्ला हुलाक कार्यालयको बैंकिङ शाखामा तीन कर्मचारी कार्यरत थिए । सबै कर्मचारी अब जिल्ला हुलाक कार्यालयमा नै कार्यरत हुनेछन् । हुलाक बैकमा प्रतिव्यक्ति अधिकतम चार लाख ५० हजारसम्म लगानी भएको छ भने १० लाखसम्म बचत गरिएको छ ।

नेपाल सरकारले हुलाक कार्यालयलाई आव २०३२/३३ सालदेखि सर्वसाधारणको बचत संकलन गर्ने र आव २०६०/६१ देखि ऋण लगानीसमेत गर्ने अनुमति दिएको थियो । हुलाक बचत बैंकको कार्यक्षेत्र निक्षेप सङ्कलनमा सर्वसाधारण र ऋण लगानीमा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका स्थायी कर्मचारी रहँदै आएका थिए । विगतमा बचतका लागि अरू बैंक, सहकारी, वित्तीय संस्था नभएको अवस्थामा हुलाक बचत बैंकको महत्व धेरै भए पनि अहिले कमहुँदै गएको ज्ञवालीले बताए।

“प्रशासनिक कार्यालयमा बैंकिङ कारोबार गर्न समस्या भएको थियो । आधुनिक सफ्टवेयर थिएन, पुरानै ढड्डाको युगमा थियौँ । एटिएम र मोबाइल बैंकिङ थिएन । पैसा लिन यही कार्यालयमै आउनुपर्ने बाध्यता थियो, उनले भने।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij