ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी भएको छ। प्रारम्भिक जानकारीअनुसार विद्युत् सर्ट भएर आगलागी सुरु भएको बताइएको छ।
आगलागीबारे नेकपा एमालेका सांसद क्षितिज थेबेले जानकारी दिँदै दोभान बजारमा आगलागी भएको र स्थानीयवासीलाई सुरक्षित रहन आग्रह गर्नुभएको छ।
आगो नियन्त्रणका लागि फुङलिङ बजारबाट दुईवटा दमकल घटनास्थलतर्फ पठाइएको जनाइएको छ। आगो थप फैलिन नदिन बीचका घरहरू भत्काएर आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ।
आगलागी नियन्त्रणका लागि घटनास्थलमा सुरक्षाकर्मी तथा स्थानीयवासी परिचालित भएका छन्। आगलागीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।
आगो नियन्त्रणमा लिने प्रयास जारी रहेकाले क्षतिको विवरण थप बढ्न सक्ने स्थानीय प्रशासनले जनाएको छ।