ई–आर्थिक, काठमाडौं । सिद्धार्थ उद्योग वाणिज्य संघले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गर्न संघीय सरकारसँग माग गरेको छ । २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसमा सहभागी हुन शुक्रबार लुम्बिनी आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर संघले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमध्ये २५ प्रतिशत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने व्यवस्था मिलाउन संघले माग गरेको छ ।
गौतमबुद्ध विमानस्थल सञ्चालनपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीलाई उडान अवतरणका लागि आकर्षित गराउन विभिन्न छुट सेवा दिइएकोमा त्यो छुट १ वर्षसम्मका लागि निरन्तरता दिनुपर्ने तथा विमानस्थलमा उडान भएर सञ्चालनमा आउन नसकेका विद्युतीय उपकरण शीघ्र सञ्चालनमा ल्याउनुपर्ने माग गरिएको संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । विमानस्थललाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सकिए यस क्षेत्र तथा देशकै आर्थिक अवस्था चलायमान हुने उनको भनाइ छ ।
‘२०७९ जेठ २ गते विमानस्थल उद्घाटन भइसकेको अवस्थामा यस क्षेत्रलगायत देश–विदेशमा रहेका नेपाली हर्षित भएका थिए’, उनले भने, ‘उद्योग, व्यापार, कृषि, पर्यटन फस्टाउँछ भन्ने आशा लागेको थियो तर, हाम्रो आशा निराशामा परिणत भयो ।’ प्रधानमन्त्री दाहालको निकट भविष्यमा हुने भारत भ्रमणमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे ठोस छलफल र सहमति हुनुपर्ने, स्वदेशी तथा विदेशी एयरलायन्स आकर्षित गर्न नेपाल वायुसेवा निगमका जहाजबाट सेवा सुरु गर्नुपर्ने, वायुसेवा निगमबाट तत्काल भैरहवा–दिल्ली, भैरहवा–मलेसिया, भैरहवा–कतार रुटमा उडान सुरु गर्नुपर्ने माग पनि संघले राखेको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार यहीं भएकाले विश्वका सबै बौद्धिष्ट मुलुकलाई पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित वा चार्टर्ड उडानका लागि पहल गरिदिन समेत सिद्धार्थ उद्योग वाणिज्य संघले प्रधानमन्त्रीसमक्ष माग गरेको संघका अध्यक्ष श्रेष्ठले बताए । विमानस्थल सञ्चालन अघि र पछि यहाँको पर्यटन सम्भावनादेखि होटल तथा पर्यटन व्यवसायमा ६० अर्ब रुपैयाँ बढी लगानी भइसकेकोले अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा पर्यटन क्षेत्रमा गरिएको लगानी असुरक्षित भएकोले लगानी सुरक्षित गराउने वातावरणका लागि पहल गर्नुपर्ने संघले ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।
विमानस्थल उद्घाटनपश्चात् जजिरा एअरवेजको उडानमात्र सञ्चालनमा रहेको र हाल सो उडानसमेत नियमित हुन नसकेको अध्यक्ष श्रेष्ठको भनाइ छ । प्रधानमन्त्री दाहालले संघको मागप्रति आफू सकारात्मक रहेको भन्दै छलफल गरी आवश्यक कदम चाल्ने आश्वासन दिएको संघका उपाध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिए ।