२०८३ साउन १५ शुक्रबार

लाकुरी भञ्ज्याङको मकैबारीमा एक अर्बको रिसोर्ट, धुलिखेल र नगरकोटको विकल्प बन्दै

ई आर्थिक    आइतबार, चैत्र १२ २०७९
7.6K
Shares
लाकुरी भञ्ज्याङको मकैबारीमा एक अर्बको रिसोर्ट, धुलिखेल र नगरकोटको विकल्प बन्दै

काठमाडौँ । कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा फर्कंन सकेको छैन । नेपाल आउने पर्यटकको सङ्ख्या सन् २०१९ को तुलनामा २०२२ मा करिब ६० प्रतिशत मात्रै रिकभर भएको छ ।

विदेशी पर्यटक नआउँदा होटल तथा रिसोर्ट अझै पनि २५ प्रतिशत अकुपेन्सीबाट माथि जान नसकेको होटल सङ्घ नेपाल (हान)को भनाइ छ । हानले कोरोना महामारीअघिको अवस्थामा आइपुग्न अझै एकदेखि दुई वर्ष लाग्ने अनुमान गरेको छ ।

पर्यटन क्षेत्रको अन्योलपूर्ण अवस्थामा पनि वरिष्ठ पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको समूहले भने काठमाडौँ उपत्यका नजिकै लतिलपुरको लाकुरी भञ्ज्याङमा ‘द टेरेसेस रिसोर्ट एण्ड स्पा’ रिसोर्ट सञ्चालनमा ल्याएको छ । रिसोर्टमा शेर्पाको एस्ट्रेक समूह र अर्जुन शर्माको अग्नी समूहको एक अर्ब लगानी भएको छ ।

तत्कालीन समयमा मकैबारी खरिद गर्दा यहाँ कसैले पनि यति राम्रो रिसोर्ट बन्छ भन्ने नसोचेको उनले सुनाए । “नगरकोट र धुलिखेल छाडेर यहाँको उराठलाग्दो डाँडा खरिद गर्ने भन्दै त्यो समयमा धेरैले खिसिट्यूरी पनि गरे”, उनले विगत सम्झँदै भने, “करिब चार दशकपछि भने त्यो सपनाले मूर्तरुप पाएको छ ।” रिसोर्ट सञ्चालन आएसँगै पर्यटकीय गन्तव्य बढ्ने अपेक्षा उनको छ ।

रिसोर्ट गुणस्तरीय पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको शेर्पाको भनाइ छ । “हाम्रो लक्ष्य गुणस्तरीय पर्यटक ल्याउनु हो”, उनले भने, “सहर नजिकै शान्त वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्नु उद्देश्य हो ।”

अहिले पर्यटकको सङ्ख्या बढाउनेभन्दा पनि गुणस्तरीय पर्यटक आवश्यक भएको भन्दै उनले सोहीअनुसार सेवा र सुविधामा ध्यान दिइएको उनको भनाइ छ । ललितपुरको ग्वार्कोबाट करिब १८ किलोमिटरको दुरीमा रहेको रिसोर्टबाट विभिन्न हिमशृङ्खला हेर्न सकिन्छ । जहाँ बस्नका लागि १० वटा भिल्ला छन् । करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टले अतिथिलाई अर्गानिक खाना खुवाउने उद्देश्यले आफैले तरकारी र केही फलफूल खेती पनि गरेको छ ।

रिसोर्टमा दुई वटा स्वीट रुम छन् भने १६ वटा डिलक्स र २८ वटा स्यान्डर्ड गरी कूल ४६ रुम छन् । जसमा स्वीटरुमको प्रतिदिन ५९ हजार, डिलक्सको प्रतिदिन ३० हजार र स्टयान्डर्ड रुमको प्रतिदिनज २५ हजार पर्छ ।

अतिथिलाई प्रकृतिको अवलोकनका साथै मनोरम दृश्यावलोकन गराउने उद्देश्यले रिसोर्टलाई फरक ढङ्गले निर्माण गरिएको रिसोर्टका प्रबन्ध निर्देशक तेञ्जिङ शेर्पाले बताए ।
“हाम्रो मुख्य उद्देश्य पाहुनालाई कोठामा सीमित नराखी प्रकृतिको अवलोकन गराउनु पनि हो”, उनले भने । होटल सङ्घ नेपालसँग रिसोर्टलाई लक्जरी स्तरको मान्यता दिलाउन आफूहरु प्रयास गरिरहेको उनको भनाइ छ । रिसोर्टमा लुक्ला जान चाहने पर्यटकलाई लक्षित गरेर हेलिप्याड निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij