२०८३ भाद्र २५ बिहिबार

‘कुशल व्यवस्थापकले सञ्चालन गरेको सहकारी कहिल्यै समस्यामा पर्दैनन्’

ई आर्थिक    बुधबार, भाद्र २९ २०७९
16.2K
Shares
‘कुशल व्यवस्थापकले सञ्चालन गरेको सहकारी कहिल्यै समस्यामा पर्दैनन्’

शंकर आचार्य, कार्यकारी प्रमुख, नवोदय बहुउदेश्यीय सहकारी संस्था लिमिटेड

कुशल व्यवस्थापकले सहकारी सञ्चालन गरे समस्या नआउने सहकारीकर्मी शंकर आचार्य बताउनुहुन्छ । सहकारी आफैंमा राम्रो क्षेत्र हो । राम्रो क्षेत्र हुँदा हुँदै पनि पछिल्लो अवस्थामा सहकारी ब्यबस्थापनमा केहि जटिलता र चुनौतीहरु बढेको आचार्य स्वीकार्नुहुन्छ । यसलाई उहाँले कुशल र सक्षम व्यवस्थापन अभाव, सहकारी बीच अस्वस्थ प्रतिस्पर्धा, केहि सहकारी संस्थाको नकारात्मक समाचार सार्वजानिक हुनु, राज्यका सम्बन्धित निकायले उचित नियमन नगर्नु आदि कारण मान्नुहुन्छ । उचित ब्यबस्थापन भएका सहकारी संस्थाहरुको अवस्था अत्यन्त राम्रो रहनुका साथै सहकारीको नबिन सम्भाबनाहरु वृद्धि हुदै पनि गएकाले सहकारीको भविष्य राम्रो भएको उहाँ बताउनुहुन्छ । नवोदय बहुउद्देश्यीय सहकारी संस्थाका वित्तीय अवस्था मजबुत रहेको कार्यकारी प्रमुख आचार्यले अन्तर्वार्ताको क्रममा बताउनुभयो ।

नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वर्तमान वित्तीय अवस्था कस्तो छ ?

हाम्रो संस्था नवोदय बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको वित्तिय अवस्था सन्तुलित अवस्थामा छ । करिब २ करोड शेयर पुजी, ११ करोड निक्षेप, ११ करोड कर्जा लगानी, बिभिन्न्न संचित कोषमा ४५ लाख सहितको वितिय संरचनामा यो संस्था अगाडी बढिरहेको छ ।

संस्थाले बचत तथा ऋणका अतिरिक्त के कस्ता गतिविधि गर्ने गरेको छ ?

संस्थाले बचत तथा ऋणको अतिरिक्त रेमिटेन्स सेवालगायत अन्य बिभिन्न्न प्रकारका बिल भुक्तानी सेवाहरु प्रवाह गर्दै आएको छ ।

बचत तथा ऋण सहकारी संस्था र बहुउद्देश्यीय सहकारी संस्था मध्ये कुन सहकारी सञ्चालनमा सजिलो होला ?

बचत तथा ऋण र बहुउदेश्यीय सहकारी संस्थामा सहकारीका मूल्य, मान्यतालाई आत्मसात गर्दै पद्दती अनुसार काम गर्दा कुनै समस्या हुदैन । यद्यपि बचत तथा ऋण सहकारीको एकल उद्देश्य बचत तथा ऋण को कारोवार हो भने बहुउदेश्यीय सहकारीको बचत तथा ऋण बाहेक अन्य क्षेत्रमा पनि लगानी गर्नु पर्ने हुँदा केहि ब्यबस्थापकीय चुनौती भने बढी नै हुने गर्दछ ।

संस्था स्थापनाको उद्देश्य के कस्ता थिए ? ती उद्देश्य पूर्तिमा संस्थालाई कत्तिको सफलता मिलिरहेको छ ?

संस्था स्थापनाको प्रमुख उद्देश्य छरिएर रहेको सानो सानो बचतलार्इ संकलन गरी सर्वसुलब ब्याज मा सदस्यहरुमा कर्जा प्रवाह गर्नु रहेको थियो । साथै सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि ब्यबसायीक बनाउनु अर्को महत्वपुर्ण उद्देश्य थियो । सहकारीको समाजप्रतिको उतरदायित्व पुरा गर्नु अर्को उद्देश्य हो । यी उद्देश्यहरुमा संस्थाले क्रमिक सफलता हासिल गरिरहेको छ ।

संस्थाको सेयरधनी संख्या र सेयर पूँजी कति पुग्यो ? कतिसम्म पु¥याउने लक्ष्य राखेको छ ?

संस्थाको शेयरधनी संख्या हामीले सहकारीको मूल मर्म अनुसार क्रमशः वृद्धि गर्दै लगिरहेका छौं । अहिले संस्थामा करिव पाँच सयको संख्या मा शेयरधनीहरु रहेको र शेयर पुँजी २ करोड भन्दा माथि रहेको अवस्था छ । हामीले शेयर पुजी तत्काल नै करिव ३ करोड पुर्याउने लक्ष्य राखेका छौं ।

संस्थाको सेवा कस्ता र कुन वर्गलाई लक्षित रहेको छ ?

संस्थाले मुख्यत निम्न मध्यम वर्गलाई ब्यबसायिक बनाई उनीहरुको जीवनस्तर उकास्न जोड गरेको छ । सहकारीको ऐन, नियमावली तथा आन्तरिक संचालन कार्यबिधि भित्र रहेर सहकारीका हरेक सदस्यलाई विभेदरहित तरिकाबाट सेवा प्रबाह गरिएको छ ।

संस्थामा बचत निक्षेप र कर्जा लगानी कति रहेको छ ?

संस्थामा बचत र कर्जा लगानी को अवस्था करिव ११ करोड को रहेको छ । आ.व.२०७८/२०७९ को अन्तिममा संस्थाको वासलात अनुसार तरलता, लगानी, निक्षेपको अनुपातलाई संस्थाले सन्तुलित ब्यबस्थापन गरेको छ ।

निक्षेप संकलन तथा कर्जा लगानीमा के कस्ता समस्या रहेका छन् ?

निक्षेप संकलनमा कतिपय सहकारी संस्थाहरुले अस्वस्थ प्रतिस्पर्धा गरेको पनि पाइन्छ । कतिपय सदस्यहरु एक भन्दा बढी सहकारीमा सदस्य भएको हुँदा निक्षेप संकलन मा केहि समस्याहरु छ। कतिपय सहकारीको ब्यबस्थापनको कमजोरीले सदस्यलाई बचत फिर्ता गर्न नसकेको समाचार आइरहदा समग्र सहकारी प्रति हेर्ने दृष्टिकोण नकारात्मक बन्न गइ निक्षेप संकलनमा समस्या आउन सक्छ। कर्जा लगानीमा सानो रकम लगानी गर्दा धितो अनिवार्य गर्न कठिनाई हुने र सदस्यको ब्यबसायलाई नै धितो मानि लगानी गर्दा सदस्यको ब्यबसायमा समस्या आउदा संस्थाको कर्जा असुलीमा केहि कठिनाई हुनेगरेको छ। अर्को पाटो भनेको सदस्यले संस्थाबाट लिएको कर्जा फरक प्रयोजनमा लगाउदा कर्जा असुलीमा केहि समस्या आउने गरेको छ ।

संस्थाले के कस्तो क्षेत्रमा कर्जा लगानी गरेको छ ? कर्जा असूलीको अवस्था कस्तो रहेको छ ?

संस्था ले बिषेशत उत्पादनशील क्षेत्रमा सुरक्षित धितो लिएर लगानी गर्दै आएको छ । केहि सदस्य बाहेक कर्जा असुलीमा संस्थाले सन्तोषजनक सफलता हासिल गरेको छ ।

सदस्यहरुलाई आकर्षित गर्ने संस्थाका सेवा तथा विशेषताहरु के कस्ता रहेका छन ? आफ्नो कार्यक्षेत्रमा संस्थाको पहिचान कस्तो रहेको छ ?

सदस्यहरुलाई छिटो छरितो सेवा प्रवाह गर्नु नै सदस्य लाई आकर्षित गर्ने मुख्य औजार बनेको अवस्था छ। अधिकांश सदस्यहरु हाम्रो सेवा बाट सन्तुष्ट हुनुहुन्छ। संस्थाको कार्य क्षेत्रमा संस्था को पहिचान नया ढंगले स्थापित भएको छ। संस्था प्रति दिनप्रतिदिन सदस्यको बिश्वाश वृद्धि हुदै गएको छ ।

संस्थाले सहकारी अभियान र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत के कस्ता गतिविधि गर्ने गरेको छ ?

संस्थाले सहकारी अभियान मा सदैब आफुलाई जोडेको छ। मुख्यत यो संस्था समुदायमा आधारित भएको हुदा सहकारीका हरेक अभियान मा संगै अगाडी जाने संकल्प समेत गरेको छ। समाज प्रति पुरा गर्नुपर्ने न्युनतम दायित्व यस संस्था ले पुरा गरेको छ । बेला बेला विभिन्न सामाजिक कार्यहरुमा समेत संस्थाले सहभागिता जनाएको छ । रक्तदान कार्यक्रमको आयोजना, सरसफाई आयोजना जस्ता कार्यहरु संस्थाले सफलता पुर्वक सम्पन्न्न गर्दै आएको छ।

थप कुनै संस्थासँग मर्ज गर्ने अथवा सदस्य सेवा केन्द्र विस्तार गर्ने सम्बन्धमा संस्थाले कुनै सोचाई राखेको छ ?

संस्थाले उद्देश्य र प्रकृति मिल्ने अन्य सहकारी संस्था संग मर्जरमा जान सक्ने भनि नीतिगत रुपमा तयारी गरेको छ । तर तत्काल मर्जरको लागि कुनै संस्थासंग औपचारिक छलफल अगाडी बढाएको भने छैन । निकट भविष्यमा सुबिधा काउन्टर बिस्तार गर्ने लक्ष्य भने लिइएको छ ।

तपाई कति भयो सहकारीमा प्रवेश गर्नुभएको ? सहकारी क्षेत्रमा के कस्तो संभावना देख्नुहुन्छ ?

मेरो सहकारी क्षेत्रमा सहभागिता रहेको १५ बर्ष भन्दा बढी भयो । सहकारी अभियान मा रहदा धेरै बिषयहरु सिकिएको छ । सहकारीका धेरै सम्भाबनाहरु, चुनौतिहरुलगायतका सम्बन्धित बिषय बस्तुहरु बारे लामो अनुभब हासिल गरेको छु ।

पछिल्लो समय सहकारी सञ्चालनमा कस्ता समस्या देख्नुहुन्छ ?

पछिल्लो अवस्थामा सहकारी ब्यबस्थापनमा केहि जटिलता र चुनौतीहरु निश्चित रुपले बढेका छन् । सहकारी बीच अस्वस्थ प्रतिस्पर्धा हुनु, केहि सहकारी संस्थाको नकारात्मक समाचार सार्वजानिक हुनु, राज्यका सम्बन्धित निकायले उचित नियमन नगर्नु आदि समस्याहरु बढ्दै गएको देखिन्छ तर उचित ब्यबस्थापन भएका सहकारी संस्था हरु को अवस्था अत्यन्त राम्रो रहेको छसाथै सहकारीको नबिन सम्भाबनाहरु वृद्धि हुदै पनि गएको देखिन्छ ।

संस्थाको कार्यक्षेत्र रहेको स्थानमा अन्य सहकारी संस्था कतिको रहेका छन् ? सहकारी–सहकारीबीच सेवामा प्रतिस्पर्धा पनि हुने गरेको छ ?

संस्थाको कार्य क्षेत्र भित्र अन्य सहकारी पनि सक्रिय रहेका छन् । अन्य सहकारीहरुसंगको सम्बन्ध सुमधुर र सकारात्मक रहेको छ ।

सहकारीका विभिन्न अवसर पारेर संस्थाले के कस्ता समाजिक गतिविधि गर्दै आएको छ ?

संस्थाको स्थापना दिवस, राष्ट्रिय सहकारी दिवस आदीमा हाम्रो संस्थाले विभिन्न सामाजिक कार्यहरु जस्तै रक्तदान, सहकारी प्रशिक्षण, सरसफाई कार्यक्रम गर्दै आएको छ ।

संस्थाका भावी योजना तथा कार्यक्रमहरु के कस्ता रहेका छन् ?

संस्थाका भाबि योजनाहरुमा संस्थाको आफ्नै भवन खरिद गर्ने, सदस्य सहुलियत स्टोर संचालन गर्ने, प्रकृति मिल्ने सहकारीसंग मर्जरमा जाने, विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहने, सहकारी अभियानमा सक्रिय रहने आदि रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij