ई–आर्थिक, काठमाडौं । व्यवसायी इच्छाराज तामाङलाई छुटाउन १० करोडको घुस डिल भएको खुलेको छ । १० करोड घुसको डिल भएको अडियो बाहिरिएपछि सबै क्षेत्र तरंगित भएको छ ।
काठमाडौँ जिल्ला न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेलबीच व्यवसायी इच्छाराज तामाङबीच १० करोडको डिल भएको अडियो सार्वजनिक भएको थियो ।
न्यूज २४ टेलिभिजनले कोइराला र पोखरेलबीचको करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक गरेको थियो ।
संवादमा क्रममा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेका छन् ।
पोखरेलले तामाङलाई छुटाउँदा आफूहरूको भागमा दुई करोड पर्ने उल्लेख गरेका छन् । त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पनि साथ हुने भन्दै उनले प्रलोभन दिएका थिए।
पोखरेल एमालेको कानुन विभागका सदस्यसमेत हुन् ।
यसैबीच यसै विषयलाई लिएर कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को बैठक समेत बोलाएका छन् ।