चन्द्र प्रसाद रिजाल, ट्रेकिङ्ग एजेन्सिज एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष हुनुहुन्छ । धादिङमा जन्मनु भएकाे उहाँ विभिन्न पर्यटन व्यवसायमा सम्लग्न हुँदै पर्यटन व्यवसायहरुको छाता संस्था टानको जिम्मेवारी बहन गर्दै हुनुहुन्छ । धादिङमा एस्एलसी सकेर पढाईकै शिलशिलामा काठमाडौं आई उच्चशिक्षा हासिल गर्नुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गर्नुभएको छ । विद्यार्थी जीवनकाल मै सामाजिक, राजनीतिक क्षेत्रमा काम गर्दै व्यवसायमा पनि लागेको उहाँ बताउनुहुन्छ ।
सन् १९९८ मा होटेल डिप्लोम्याट प्राइभेट लिमिटेडको स्थापना गरी पर्यटन क्षेत्रमा प्रवेश गर्नु भई पर्यटन क्षेत्रका बिभिन्न संघ/संस्थामा रहेर विगत दुई दशकदेखि क्रियाशिल रहँदै आउनुभएको छ । सामाजिक, आर्थिक र राजिनिक क्षेत्रमा समेत आबद्द रिजाल पछिल्लो १८ महिना देखि टानको नेतृत्व गरिरहनु भएको छ । हाल नेपालमा २९ सय ट्रेकिङ्ग एजेन्सिज व्यवसायीहरु रहेका छन् । तिनै व्यवसायीकाे छाता संस्था टानकाे नेतृत्व गरिरहनु भएकाे छ । टानमा उहाँका कार्यकालमा भएका गतिविधि, व्यवसायीकाे समस्या र अवस्थाकाे बारेमा गरिएकाे कुराकानीमा उहाँले समस्याग्रस्त रहेकाे टानलाई व्यवस्थितका साथै ‘सेफल्याण्डिङ्ग’ गरेकाे बताउनुभयाे । यसै सन्दर्भमा तिर्सना गिरी र चन्द्रमणि भुजेलले ” www.eaarthik.com ” को तर्फबाट गरिएको कुराकानीमा आधारित:
टानको नेतृत्वकर्ताको रुपमा १८ महिना काम गरिसक्नु भयो । तपाइकाे कार्यकालमा के कस्ता कामहरू गर्नु भयाे ?
टानमा रहेर मैले धेरै कामहरू गरेकाे छु । टानमा के गरियो भन्दा पनि के–के गरिएन भन्ने कुरा आउंछ । यो ३५ वर्षको पुरानो संस्था हो । टानमा साना तिना विवादहरु सामान्य रुपमा रहेका छन् । म आउदा पनि टानमा अाउने विभिन्न अाराेह अवराेह अाएका छन् । टानमा ताला लागेकाे अबस्थामा थियाे । ताला लागेर मजदुरहरुले हडताल गरेको अवस्थामा चुनाव गर्ने वातावरण दिनुपर्छ भनेर मजदुरहरुसँग कुरा मिलाएर चुनाव गर्ने वातावरण मैले नै बनाएको हो । यसरी कठिन परिस्थितिलाई चिर्दै अगाडि बढेका हौ । टान आर्थिक रुपमा जर्जर थियो । कर्मचारीहरु अस्तब्यस्त ढंगले चलेका थिए । यो एउटा संस्थाको रुपमा भवन राम्रो थियो ।अन्तर्राष्ट्रिय तथा स्थानीय बजारमा टानको नाम पनि राम्रै थियो तर यसको छवी पछील्लो समयमा अली बढी बद्नाम हुने काम भयो । किनभने यहाँ भ्रष्टाचर गरिंदो रहेछ । टानमा जितेर जाने जो कोही पनि कमाउन जाने हो, राजनीतिक गर्न जाने हो । कुनै राजनीतिक पार्टीको झण्डा बोक्न जाने हो भन्ने जो कोहिको धारणा थियो । तर मेरो आजसम्मको यो १८ महिनाको कार्यकालमा कसैले पनि प्रमाणको आधारमा रकम हिनामिना गरे अथवा कुनै पार्टीको झण्डा बोकेर वहस गरे भनेर कसैले पनि भन्न सक्दैन । तर बोल्नलाई त मान्छेलाई कसले रोक्छ र ?
पछिल्लो केही समयमा टान कै कार्यसमिति बीच विवाद भइरहेकाे थियाे । अहिले विवादहरू कहाँ पुगे ?
बुझ्ने बुझाउने कुरा फरक भएकाले विवाद जस्ताे देखियाे । उहाँमा बुझाई फरक परेकाे थियाे । मलाई लाग्दैन कि हामीले गल्ती गरेर उहाँले त्यसो गर्नुभएको थियो । केही बुझ्ने कुरामा उहाँमा फरक भयाे । उहाँ फरक टिमबाट आउनुभएकले सङ्का उपसङ्का उब्जेको हो । त्यसैले अन्तर द्वन्द भएको हो र त्यो स्वाभाविक हो । तर पछी त्यो कुरा पनि सावधान भयो ।
यस्ताे विवादले टानकाे छविमा के कस्ताे असर पार्याे ?
उहाँ फरक टिमबाट आउनु भएकोले सङ्का उपसङ्का उब्जेको हो । अन्तर द्वन्द भएको हो। त्यो स्वाभाविक पनि हो । व्यवसायिकाे हितमा काम गर्दै मुलुककाे अाथिर्क विकासमा लाग्ने अठाेट बाेकेर अाएका हामीबीच नै विवाद भए पछि पक्कै पनि टानकाे छबिलार्इ असर पर्छ नै । त्याे कुरा हामीमा बाेध भएकाले नै अहिले विवाद समाधान भएकाे छ ।
अरु कुरा जस्तै सचिवालयलाई व्यवस्थित गर्ने कुरा, विगतमा गुमेको टानको छविलाई पुन त्यही ठाउँमा पुनर्स्थापित गर्न चानचुनको कुरा थिएन । हामीले २० औ करोडको काम गर्यौ । जस्तै डब्लुएफपिओसँग साँढे आठ करोडको काम गरेका थियौ, त्यो हामीले पार लगायौं । सम्झौता अनुसारको काम गरेका हुनाले उहाँहरुको विश्वास जित्ने काम गर्यौ । सामर्थले भ्याउने गरी टानको नकारात्मक छविलाई सकारात्मक बनाएका छौं ।
त्यसै गरी सन् २००६ देखि पद्यात्री सुचना व्यवस्थापन प्रणाली (टिम्स)को काम गरिरहेका छौ जसलाई व्यबस्थित गर्न हामीले ससक्त ढंगबाट काम गरिरहेका छौं । बिग्रेको कुरालाई बनाउन समय लाग्छ । जस्तै भुकम्प अायो पुरनो घर भत्कियो त्यो फाल्न त्यसलाई अब पहिले कै जस्तो बनाउन समय लाग्छ । तर नयाँ जमिनमा नयाँ घर बनाउन त्यती समय लाग्दैन । टान पुरानो संस्था हो यसलाई मास्न सकिन्न । त्यसैले यसको पुनसंरचना गर्न समय लागेको हो । हामी यसरी बिहानै अफिस आएर निरन्तर टिम वर्कमा काम गरिरहेका छौं । टानलाई उजागर गर्न तथा व्यवसायीहरुको समस्या समाधान गर्न बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा टानको उपस्थिति रहनु पर्ने कुनै पनि काममा हामी चुकेका छैनौं ।

तर, अझै पनि टानले व्यवसायीहरुकालागी केही गर्न सकेन भन्ने ब्यवसायीहरुको आरोप छ नि ?
सत्प्रतिशत व्यवसायी सन्तुष्टि हुन्छन् भन्न सकिन्न । सर्वप्रथम त कतिपय व्यवसायीले टानलाई बुझेका छैनन् । टानले के गर्छ र यसको उद्देश्य के हो र त्यसअनुसार कसरी काम गर्न केके गर्नुपर्छ भन्ने कुरा व्यवसायीहरुले थाहा पाउनुपर्यो । के गर्छ त टानले ?
टानले गर्ने भनेको पुल ‘मिडियटर’ को काम हो । व्यवसायीहरुको समस्या नियमन कार्य निकायमा लगेर त्यसलाई कन्भिन्स् गरेर कार्यन्वयनमा ल्याउने हो । नियम कानुन टानले आँफै बनाउन सक्दैन । त्यस कारण व्यवसायीको पक्षमा काम गर्दा स्रोत चाहिन्छ
तर हामी यहाँ आउँदा त घाटामा थियौं । अझै पनि डेढ-दुई करोड घाटामै छ । त्यो कुरा व्यवसायीले बुझ्नु पर्यो । दुई बर्ष अगाडि देखि समस्यामा रहेकाे पर्यटन मजदुरका परिवारहरुले पाउनुपर्ने क्षतिपुर्ति पाउनु भएको थिएन । हामी सबैले व्यहोर्ने गरी वा त्यो घरघरानाबाट पैसा बुझाउने जिम्मेवारी सहित एक करोड अठासी लाख रुपैया ल्याएर दिने काम ग-र्यौं ।
२५ लाख त दिगो पर्यटन सहकारीबाट ॠण लिएर आज संस्था चलाइराखेका छौं । आर्थिक रुपमा धरासायी भएको कारण कसैले पत्याउने स्थिति थिएन । हेलिकप्टरको बिलमा लाखौंको तल माथि भएको छ । त्यसकारण पनि व्यबसायीहरुलाई केही कति कुराहरु चित्त नबुझेका होलान् । हिजोको गतिविधि र नकारात्मक छविले सबैलाई एउटै नजरले हेरियाे । त्यसरी हामीलाइ नबुझ्न आम व्यवसायीहरुमा अनुरोध गर्दछौं । सबैलाई हेर्ने दृष्टि एउटै नबनाउनुस् ।
तर म दावाका साथ भन्छु यो हाम्रो जस्तो कार्य समिति र म जस्तो अध्यक्ष फेरी आउनुस् । अर्को चोटिकाे लागि म अहिले नै शुभकामना दिन्छु । किन भने यसरी सामाजिक संस्थामा यसरी ५० औ लाख ॠण लिएर कसैले पनि संस्था सञ्चालन गर्दैन, घर घडेरीबाट पैसा तिर्छु भनेर मजदुरलाई पैसा दिदैन । यो आँट र हिम्मत कसैले पनि गर्दैन । किनभने अरूहरू डराउँछन । उसको पनि त भोली गएर परिवार पाल्नु पर्ने हुन्छ । सामाजिक संस्थाकाे कारण अाफ्नाे घर परिवार भोलि वर्वाद हुने अवस्था पनि आउन सक्छ । यस्तो जोखिम कसैले पनि बहन गर्न चाहादैनन् ।
अनी अब यो ॠण कसरी तिर्नु हुन्छ ?
भर्खरै केही दिन अगाडि पर्यटन बोर्डबाट टानलाई टिम्सको पैसा निकासा भएको छ । काम गर्ने बातावरण बनिरहेको छ । विस्तारै तिर्दै जानेछाैं ।
टिम्सको पैसामा विवादित बनेको बेला यो कसरी कुरा मिल्यो तपाईंहरु त आन्दोलनमा उत्रिने भन्दै हुनुहुन्थ्यो नि ?
हामीले जे-जे भन्यौ त्यो प्रेसर दिनका लागी थियो होला । तर कति कुरामा पहिला देखि नै बोर्डलाई कन्भिन्स् पनि गरिरहेका थियौ । तर, सबैले गर्दा पनि कता कता काम अड्किरहँदा, आज हुन्छ भोलि हुन्छ भनेर पर्खिदा, १७/१८ महिना बितिसक्दा अलिकति सकारात्मक क्षितिजमा उज्यालो नदेखिदा, जहिले अध्यारो देखिंदा हामीले नकारात्मक शब्द प्रयोग गर्यौ । तर, पछिल्लो समयमा वातावरण राम्रो बन्दै गएको छ । काम गर्ने वातावरण बन्दै गएको छ । तर समय छोटो छ । फेरी राजनैतिक स्थिति पनि ठीक छैन । राजनैतिक तरलता छ स्थानीय निकायको चुनाव हुँदैछ । यसले पनि पर्यटन क्षेत्रको पदयात्रा क्षेत्रमा प्रभाव पार्छ । हामी पनि देशको नागरिक हौ । भोट हाल्न विदा मागेर जानु पर्छ । अब काम गर्न त फेरी अफ्ठ्याराहरु त छन् । यस्तो हुँदा हुँदै पनि अब सहज ढंगबाट पैसा आउने वातावरण बनेको र काम गर्ने स्थिति बन्दै गएको छ । क्षितिज उज्यालो हुँदै गएको हामीले देखेका छौ । कुनै पनि समस्या छ भने त्यसको समाधान खोजिन्छ तर त्यो समाधान खोज्दा समय खर्चियिन्छ ।
अहिले टानको समस्याहरु केके छन् ?
टान ठूलो संस्था हो । ठुलै संस्था भएकोले धेरै गतिविधि गर्नुपर्ने हुन्छ । पछिल्लो समयमा भ्याट बिलको पनि समस्या देखिएको छ । जस्तै ट्रेकिङ्गको क्रममा कुनै पनि ठाउँमा हाई अल्टिच्युडमा भएको ठाउँमा जानुपर्ने हुन्छ । त्याहा भ्याट बिल नै प्रयोग हुँदैन तर सरकारले त्यसको पनि हामीसँग भ्याट बिल माग्छ। अन्य देशहरुमा हेर्ने हो भने त्यस्ता ठाउँको बिल पेश गर्नु पर्दैन । त्यस्तै हामीले खच्चडको पनि बिल पेश गर्नु पर्छ। हो यस्तो कुराहरुलाई राज्यले बुझिदिनु पर्छ । नेपालमा लाखौंको कारोबार गर्नेले त प्यान तथा भ्याटमा दर्ता नगरि कारोवार गरेको अवस्था छ भने ति ठाउँका कामदारहरुले कसरी सक्छन ? त्यस कारण पनि हामी यो सामाजिक संस्थामा लागेर केही सुधार गर्न चाहन्छौं । यो दुई वर्षको कार्यकालमा जे जति गर्न सकिन्छ गरौ भन्ने भावनाका साथ हामी दिनरात खटिएका छौं । मलाई पनि व्यवसायी साथीहरुले विश्वास गरेर नेतृत्वकर्ताको रुपमा यहाँ सम्म पुर्याउनु भएको छ । त्यसैले पनि दुई वर्षपछि अन्य काम गरौला नि ! अहिले टानकै सम्पूर्ण कार्यभार समालौ भनेर हामी लागेका छौ । पहिलेको कार्य समितिले गरेको कार्य पारदर्शी ढंगले राखिदिएको भए पर्यटन बजारमा टानको छवि राम्रो हुने थियो । म यहाँ आउँदा संस्थाको नविकरण समेत गरिएको थिएन । संस्था नाम मात्रको थियो, व्यवस्थित थिएन । राज्यका कार्यन्वयन निकायहरुले फलो गर्दा देखाउनुपर्ने कागजातहरु यहाँ थिएन । यि सबै कुराहरुलाई हामीले मिलाउदै अहिले सही ट्य्राकमा ल्याउने काम गरिरहेका छौं ।

तपाइकाे कार्यकालमा गर्नु भएको कार्यहरु केके छन् ?
भूकम्प गएपश्चात नेपाल सुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन हामीले ‘टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन’ शुरु गर्यौ । यसलाई एउटा प्रोड्क्टको रुपमा हेरेका छौ । किन भने भोलीका दिनमा पनि विदेशीहरु नेपाल पद्यात्राकैलागि आउने हुन् जसमा हामीले यस्तो किसिमको म्याराथन गर्न सक्यौ भने यसलाई प्रोड्क्टका रुपमा विकास गर्न सक्छौ र भोलिका दिनमा हजारौको संख्यामा विदेशीहरु पनि यसमा भाग लिन आउने र त्यसबाट नेपाली व्यवसायीहरुले पाउने रिटर्न ठुलै हुने भन्ने हाम्रो विश्वास छ । यसलाई हामीले शुरु गरेको दुई वर्ष भयो । यो ठुलै काम हो भन्ने हाम्रो मान्यता छ ।
अर्को हामीले टिम्सलाई व्यवस्थित गर्न पोखरामा कार्यक्रम ग-र्यौं । टिम्सका सम्पूर्ण काउन्टर भिजिट ग-र्यौं र ति काउन्टरहरुलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा रिसर्च गर्यौ । पहिले १० वटा काउन्टर थियो, अहिले ६ वटा छन्। लामो समय देखि कर्मचारी नियमावली व्यवस्थित नभएको, कर्मचारीका बढुवालाई लिएर समय समयमा विवाद श्रृजना हुने गरेको अवस्था थियो । त्यसलाई हामीले व्यवस्थित गरेका छौं ।
त्यसैगरी हामीले “No Trekking without guide and porter through Company” भन्ने विषय पहिले देखि नै उठेको तर यसको कार्यन्वयन अझै हुन नसकेको अवस्था छ । सम्भवत यो विषय मेरै कार्यकालमा कार्यन्वयन हुन्छ । यसको लागि प्रयास जारी छ ।
भर्खरै पनि रुवि भ्यालीमा दुई जना ताईवानी नागरिक पर्यटक हराए । एकजना जिउदै ५५ दिनमा भेटियो अर्कोको लास भेटियो । यसरी गाइड बिना पर्यटक पद्यात्रामा जाने र असुरक्षित हुने र यो कारणले पनि अन्तर्राष्ट्रिय बजारमा नराम्रो छवी र सन्देश जाने गरेको छ । जसको लागि हामीले विदेशी पर्यटकलाई गाईड बिना ट्रेकिङ्ग जान नदिऔ भन्ने विषयलाई ससक्त ढंगले उठाएका छौं । त्यसैगरी ६/६ महिनाको प्रतिवेदन व्यवसायीले बुझाउनु पर्ने, नबुझाए पेनाल्टीमा पर्ने, पर्यटन उद्योग महाशाखा र अहिले पर्यटन विभागमा ५ वर्षमा नवीकरण गर्नुपर्ने, नगरे खारेज हुने तर कम्पनीमा खारेज नहुने, किनभने पर्यटन मन्त्रालयबाट मात्रै सबै काम हुँदैन उद्योगमा गएर कम्पनि रजिस्टारमा दर्ता गर्नु पर्छ । उता खारेज नहुने यता खारेज हुने यस अन्योलतालाई चिर्न नियमावली बनाएका छौं ।
त्यसै गरी वान डोर सिस्टम प्रणाली अन्तर्गत पर्यटन मन्त्रालयबाट मात्रै काम होस् भनेर गत सालको बजेट भाषणमा हामीले नेपाल सरकारले पर्यटनका हरेक गतिविधि पर्यटन मन्त्रालयबाट मात्रै होस् भन्ने नीति तथा कार्यक्रममा राख्न सफल भएका छौ । तर त्यो हामीले मात्र गर्ने होइन त्यो देशको राजनीतिक स्थिरता सँग जोडिएको हुन्छ । सरकार परिवर्तन भइरहने भएकोले यो काम रोकिरहेको अवस्था छ ।
आफ्नै सचिवालयलाई व्यवस्थित गरेका छौं । अर्को कुरा २४ औ घण्टा टिम्स सेवा छिटो छरितो ढंगबाट उपलब्ध गराउन हामीले मिडिया सेन्टर बनाएका छौं । व्यवसाय उद्दार कोषमा हामीले आठ लाख छुट्याइ सकेका छौं । पत्रकारिता उद्दार तथा सेवा कोष भनेर घोषणा पत्रमा उल्लेख गरेका छौ । तर आर्थिक संकटका कारण त्यो अनुसारको १५ लाख रुपैया कोषमा राख्न सकेका छैनौ । अब पर्यटन वोर्डबाट टानले पाउनु पर्ने रकम आउने क्रममा छ । आएपछि तुरुन्तै कोषमा रकम जम्मा हुन्छ । समग्र मज्दुरहरुको बिमाका लागि व्यवस्थित कार्य अघि बढाएका छौं ।
टान भनेको भ्रष्टाचारले जगडिएको, राजनीतिक दलदलमा फसेको संस्था भन्ने जुन छवि थियो, त्यसबाट स्वच्छ छवि तिर उतारेका छौ । अहिले टान राजनीतिबाट टाढा छ। दोष लगाउनेले त जे पनि लगाउछन् तर हामीले कुनै पनि राजनीतिक पार्टीको पक्ष वा विपक्षमा बोल्ने काम गरेका छैनौं । व्यक्तिगत स्वार्थभन्दा माथि बसेर काम गरिरहेका छौं । पोखरामा टानको विल्डिङ्ग बनाउन रोकिएको अवस्थामा त्यसको कन्स्ट्रक्सनको काम अघि बढाएको छौं। हाई अल्टिच्युडमा काम गर्ने मजदुरहरुका लागि एभरेष्टमा राखिएको सामग्रीहरुलाई व्यवस्थित राख्न ‘KEEP’ सँग सम्झौता गरेर राखेका छौ भने पर्यटनसँग सम्बन्धित विभिन्न संघ सस्था सँग मिलेर अघि बढिरहेका छौ ।
हाल टानको मासिक खर्च कति छ ?
१२/१३ लाख मासिक खर्च छ ।
अन्त्यमा के भन्न चाहनु हुन्छ ?
विदेशी पर्यटकलाई गाईड बिना ट्रेकिङ्ग जान नदिऔ । ‘No Trekking without guide and porter through Company’ ट्रेकिङ्ग गर्दा कम्पनी बाट मात्रै जानुपर्छ, जसले गर्दा अवैध व्यापार पनि हुदैन, यसमा सबैले जाेड दिनु पर्छ । राज्यलाई कर नतिर्ने, एनजिओ , आईएनजिओहरुले ट्रेकिङ्ग लाने, बीचमा कमिसन खाने, जसले गर्दा व्यवसायहरु विस्थापित हुने परिपाटीकाे अन्त्य हुनुपर्छ । अन्य माध्यम प्रयोग गरी पर्यटकहरु हराउने र अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक छवि जाने गरेको छ । त्यसकारण सरकारले यो विषयलाई ध्यानाकर्षण गरी छिट्टै कार्यन्वयन गर्नुपर्छ । किनभने यो कार्य भएन भने व्यवसायमा राम्रो वातावरण बन्दैन । राज्यलाई घाटा हुन्छ। यसका लागि हामी ससक्त ढंगबाट अगाडि बढ्छौ । यसमा सम्पूर्ण ट्रेकिङ्ग व्यवसायीहरु सहमत हुनुहुन्छ । राज्य संयन्त्रले छिटो यस सम्वन्धि नियमावली बनाएर काम गर्नुपर्छ भन्ने टानको माग हो । अर्थात् बुझाई हो ।