ई–आर्थिक, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गर्न लागेको आईपीओको मिति सरेको छ । माघ २८ गतेदेखि निष्कासन गर्ने भनिएको उक्त आईपीओ ३० गतेलाई सारिएको छ ।
कम्पनीले जारी पूँजी रू. १० करोडको ४० प्रतिशतले हुन आउने रकम रू. ४ करोड बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ ।
निष्कासन गर्ने कुल शेयरमध्ये जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।
सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिफलयुक्त आईपीओ भएकाले निष्काशनको ठूलो संख्यामा आवेदन पर्न सक्ने अनुमान गरिएको छ ।
आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयर सफ्टवेयर प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यअर रेटिङ डबल बी’ प्रदान गरेको छ । उक्त रेटिङले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड रहेको छ । साधारण सेयर निष्काशन पछि उक्त पूँजी रू. १० करोड पुग्ने भएको छ ।