ई आर्थिक, काठमाडौं। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक र साहसी महिलालाई सम्मानित गरेको छ।
विभिन्न परिस्थितिका बाबजुद उनीहरूको योगदान र उपलब्धिलाई सम्मान गर्र्न आफ्नो वार्षिक कार्यक्रम ‘येलो रोज डे’ मनाएको हो।
येलो रोज डे २०२० मा आठ जना महिलालाई सम्मानित गरिएको थियो। प्रिन्शेस हेलेन शाह इनस्पीरेशनल उमन अफ द इयरमा प्रहरीकी एआईजी डा। आशा सिंह, अमर राना गेम चेन्जर अवार्डमा खाली सीसीकी प्रमुख कार्यकारी अधिकृत आयुषी केसी, ज्योति स्कलरशिप अवार्ड २०२० फर जेन एम क्लाउस्म्यान उमन इन बिजनेश स्कलरशिपमा प्राश्ना भट्टराई, ज्योति स्कलरशिप अवार्ड २०२० फर उमन इन टेक्नोलोजीमा छिरिङ डिके लामा सम्मानित भएका छन्।
त्यस्तै नबिल बैंकको सहयोगमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक महिलाहरुको शिर्षक अन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न सहयोग पुर्याउने ४ जना महिलाहरुको असाधारण कार्यको प्रशंसा गर्दै प्रति व्यक्ति २५ हजार रुपौंया प्रदान गरेको छ । क्लबले नाई (बारबर) लक्ष्मी नापित, मेकानिक सरस्वती सुवाल, साझा बस चालक हर्मिता श्रेष्ठ र इलेक्ट्रिशियन मन्धिरा भण्डारीलाई सम्मान गरेको हो। उनीहरुले अपवाद काम गरेर हामीहरुलाई प्रेरणा दिइ परम्परागत रुपमा पुरुष प्रधान क्षेत्रहरुमा काम गरिरहेका छन् ।
सन् १९१९ मा स्थापना भएको जोन्टा इन्टरनेशनल व्यावसायिकहरुको एक अग्रणी ग्लोबल संस्था हो जुन सेवा र वकालतको माध्यमबाट विश्वव्यापी महिला सशक्तिकरणमा लागि परेको छ । यसले त्यस्तो समाजको परिकल्पना गरिरहेका छन् जहाँ महिला अधिकारकालाई मानव अधिकारको मान्यता दिइन्छ र हरेक महिलाहरु आफ्नो पूर्ण–क्षमता हासिल गर्न सक्षम हुनेछन् । त्यस्तो विश्वमा महिलालाई सबै स्रोतहरुको पहुँच छ, पुरुष बराबारको निर्णय लिने स्थानमा उनीहरु छन् र कुनै पनि महिलाहरुले हिंसाको डरमा बाच्नु पर्दैन ।
जोन्टा इन्टरनेशनलको छाता अन्तर्गत जोन्टा क्लब अफ काठमाडौं सन् २०१२ मा स्थापना भएको थियो । यो काठमाडौंमा कानुनी रुपमा दर्ता गरिएको गैर–नाफा मुलक संस्था हो जुन महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, स्थानीय तथा राष्ट्रिय स्तरका युवा र महिला हिंसा तथा बाल विवाहसँग सम्बन्धित मुद्दाहरु सुधार गर्ने उद्देश्यका साथ महिलाहरुको स्तर उन्नतिकालागि काम गरिरहेको छ । नेपाल आधिकारिक रुपमा चार्टर्ड हुने ६४ औं मुलुक हो ।
जोन्टा क्लब अफ काठमाडौंका कार्यक्रमहरु अन्तर्गत महिलाका लागि युवा साक्षरता, बालविवाह अन्त्यका लागि वकालत तथा महिला अधिकारहरुका बारेमा जागरुकता, केटीहरुका लागि आत्म–रक्षा तालिम, जेलका महिला कैदीहरुका लागि शैक्षिक सामाग्री तथा सीप विकास प्रशिक्षण, १६ दिने महिला हिंसा विरुद्धका गतिविधी, सरसफाई परियोजना– शौचालय निर्माण, केटी र महिलाहरुका लागि शैक्षिक संस्थामा पुग्नका लागि सहज बनाउन साइकल वितरण लगायत रहेका छन् ।